गच्छदार पार्टीमा विवादैविवाद, केन्द्रीय पदाधिकारीहरुले गरे बैठक बहिष्कार

विजयकुमार गच्छदारले पार्टीभित्र सल्लाह नै नगरी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने निर्णय लिएको भन्दै नेपाल लोकतान्त्रिक फोरममा विवाद बढेको छ ।

पछिल्लो समय एकता प्रक्रियामा आएका राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), थरुहट तराई पार्टी, दलित जनजाति पार्टी, नागरिक पार्टी, शान्ति पार्टी, लिबरल डेमोक्र्याटिक पार्टीका नेताहरु असन्तुष्ट बनेका हुन् । पार्टी अध्यक्ष गच्छदारको कार्यशैलीप्रति असहमति जनाउँदै उनीहरुले बिहीबार डाकिएको बैठक समेत बहिष्कार गरेका थिए । असन्तुष्टमध्येका एक नेताले भने, ‘पार्टी लोकतान्त्रिक भन्ने तर नेतृत्वको व्यवहार तानाशाही देखियो, त्यसैले हामी बैठकमा गएनौं ।’

बैठक बहिष्कार गर्नेमा तत्कालीन जनमुक्ति पार्टीका नेता एवं लोकतान्त्रिक फोरमका सहअध्यक्ष शिवलाल थापा तथा, फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरी, नेता रामजनम चौधरीलगायत छन् । कांग्रेस नेतृत्वमा बन्ने लोकतान्त्रिक गठबन्धनको कार्यदल सदस्य छनौटका लागि बिहीबार अध्यक्ष गच्छदारले पार्टी शीर्ष नेताहरुको बैठक डाकेका थिए । गच्छदारले केही मन्त्री र नेताको उपस्थितिमा गठबन्धन कार्यदलमा गोपाल दहितलाई पठाएका छन् । दहित अहिलेका भूमिसुधार मन्त्री समेत हुन् ।

लोकतान्त्रिक फोरमका प्रमुख सचेत चौधरीले भने आफू अन्यत्र कार्यक्रममा परेकाले अध्यक्षले डाकेको बैठकमा नगएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीभित्र असन्तुष्टि चर्कै रहेको स्वीकार गर्दै तत्काल गम्भीर छलफल गरेर व्यवस्थापन गर्नुपर्ने बताए । सहअध्यक्ष शिवलाल थापाले भने भोलि शनिबारका लागि बोलाइएको दलको बैठकमा समेत नजाने बताए । उनले भने, ‘भोलि दलको बैठक बोलाइएको भन्ने सुन्छु, त्यसमा म जान्नँ ।’तत्काल पार्टी नेतृत्वबाट सच्चिने प्रतिबद्धता आउनुपर्ने उनको माग छ ।

Leave a Reply

Your email address will not be published.