माओवादीका प्रभावशाली थारु नेता भन्छन्- ‘एमालेसँगको तालमेलमा स्वार्थ त लुकेको छैन?’

यतिबेला नेपाली राजनीति नेकपा माओवादी केन्द्रको निर्णयले तरंगित बनेको छ। माओवादीले नेकपा एमालेसँग चुनावी तालमेलमात्र होइन, पार्टी एकीकरणसमेत गर्न सकिने निर्णय गरेपछि यतिबेला नेपाली राजनीति तरंगित बनेको हो।
पहिचानविरोधी एमाले र पहिचान पक्षधर माओवादी छबि बनाएको पार्टीहरु कसरी तालमेल वा पार्टी एकीकरण गर्ने मुडमा पुगे? यो निर्णयले थारु नेताहरु प्रभावित हुनेछन् वा लाभ लिनेछन्। माओवादी केन्द्रका प्रभावशाली दुई युवा नेतासँग यसबारे प्रश्न गरेका छौं।

अमनलाल मोदी मोरङका समानुपातिक सांसद हुन्। उनी विद्यार्थी राजनीतिबाट माअाेवादीमा हाेमिएका हुन्।   समानुपातिक सांसद चुनिएपछि उनले पार्टीभित्र आफ्नो राम्रो प्रभाव पारिसकेका छन्। थारू मुद्दालाई शसक्तरूपमा उठाउँँदैै अाएका उनी माअाेवादीका प्रभावशाली युवा नेता पनि हुन्।
उनै सांसद मोदीले एमालेसँगको तालमेल र एकीकरणको कुराले गम्भीर प्रश्नहरु उठेको बताए। उनले नेपालमा बाम एकता सम्भव छ कि छैन त्यसको बहस सुरु हुनुपर्ने बताए। ‘एमाले पहिचान विरोध पार्टीको रुपमा आफूलाई उभ्याउँदै आएको छ जबकि माओवादी पहिचानको पक्षधरको रुपमा चिनिँदै आएको छ। यस्तो अवस्थामा बाम एकता सम्भव छ?,’ उनको प्रश्न थियो।

उनले अहिले अवस्थालाई हेर्दा चुनावी तालमेल ठीकै भएको बताए। तर पार्टी एकीकरण नै सम्भव नभएको उनको भनाई थियो। ‘मुख्य कुरा पार्टी एकीकरण गर्दा एमालेले माओवादी जनयुद्धकालको मर्म आत्मसात गर्छ कि गर्दैन। एमाले समाजवादतिर जान्छ कि जाँदैन। जनयुद्धकालले बोकेको एजेन्डा एमालेले मान्छ कि मान्दै भन्ने हो,’ मोदीले थारुवानसँग भने। मोदीले माओवादीका कुनै नेताले स्वार्थका लागि पार्टी एकीकरण वा तालमेलको कुरा गरेको हो भने कुनै हालतमा स्वीकार्य नहुने बताए।

मानबहादुर चौधरी बर्दियाबाट दोस्रोपटक निर्वाचन सांसद हुन्। उनले पनि माओवादी जनयुद्धकालको लामो अनुभव बटुलेका छन्।

उनले राजनीतिमा दीर्घकालीन मत्र वा सत्रु कोही नहुने बताए। एमालेसँगको चुनावी तालमेल वा एकीकरणबारे आफूलाई आधिकारिक जानकारी नआएको बताए पनि सांसद चौधरीले तालमेल वा एकीकरणको मक्सद प्रस्ट हुनुपर्ने बताए। ‘तालमेल के का लागि? पार्टी एकीकरण किन? यसले नेपाली जनताले के पाउँछ? यी सबकुराको मक्सन प्रस्ट हुनपर्छ,’ उनले थारुवानसँग भने।

मोदीजस्तै चौधरीले पनि कुनै नेताले आफ्नो स्वार्थका लागि तालमेल वा एकीकरण गर्न नसक्ने बताए। ‘देखावटी वा आफ्नो उम्मेदवारी सुनिश्चित गर्नमात्र तालमेल गरिन्छ भने आफ्नो स्वार्थ पूर्तिका लागिमात्र पार्टी एकीकरण गरिन्छ भने त्यो कसैलाई मान्य हुँदैन,’ उनले भने।
एमालेले जनयुद्धकालको मर्म र आफ्ना गल्ती कमजोरीलाई सच्याउँदै लगे तालमेलमात्र होइन, एकीकरण पनि सम्भव रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published.