पूर्वीया थारुहरुको रैब पर्व

सुनिल चौधरी/सुनसरी
खेतिपाती रोपाई सकिएपछि बालिनाली सप्रिने तथा उब्जा बढी हुने धार्मिक मान्यता राख्दै भदौ महिनामा आइतबारका दिन पूर्वीया थारुहरुले रैब पर्व मनाउँदै आएका छन्। बाल बच्चाको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै प्रकृतिलाई र कूल देवतालाई पूजा गर्दै थारुहरुले पर्व मनाउँछन्। आइतबारलाई थारु भाषामा रैबदिन भन्ने गरेकाले यसलाई रैव पर्व भनिएको अग्रजहरु बताउँछन्।

भदौको कुनै एक आइतबार रैब पर्व मनाउँदा धानबाली सप्रिने, घर परिवारमा कुनै किसिमका रोग ब्याधी नआउने विश्वासअनुसार यो पर्व धेरै समय आगडि देखि नै मनाउँदै आएको रामधुनी वडा नं. १ का ग्रामथानका थानपति बुधनारायण चौधरीले बताए।

यसै विश्वासका आधारमा थारुहरुको टोल तथा गाउँभरिका समुदायले मनाउने गरिन्छ। यो पर्वमा गुलियो खानेकुराहरु खाएर मनाउँदा पर्व सफल हुने जनविश्वास रहेको पाइन्छ। त्यसैले दही, दुध, चुरा, चिनी, जेरी, फलफूललगायत गुलियो खानेकुराहरु खाएर मनाउने गरिन्छ। पर्व गरेका दिन कसैले नुन वा तेल खाए भने रैव पर्व असफल भइ कूल देवताले साथ नदिने अनिष्ठ हुने पनि मान्यता छ।

वर्षातमा सर्पको बिगबिगी हुने हुँदा कसैलाईपनि अनिष्ट नगरोस् भनेर पर्वकै दिन महिलाहरुले बिष हरण गर्ने पौराणिक गीत बिषहैर गाउँदै भोलिपल्ट नदी वा पोखरीमा नागदेवतालाई प्रतिमुर्ति बनाई बिर्सजन गर्ने गरिन्छ।

त्यसैगरी खेतिपाती रोपाई गर्दा हलो जोत्ने र खेत रोप्ने कृषकहरु नुन र खुर्सानी बढी खाने भएकाले प्रेसर बढ्ने हुँदा त्यसको सन्तुलनको लागि पनि एक दिन नुन तेल खुर्सानी नखाई गुलियो खानेकुराहरु खाने गरिन्छ। धार्मिक र स्वास्थ्यको दृष्टिकोणमा महत्वपूर्ण रहेको यो पर्वमा बिहानै स्नान गरी प्रकृतिलाई र कूल देवतालाई दही, चुरा, चिनी, जेरी, फलफूल चढाई प्रसादको रुपमा खाने गरिन्छ।

Leave a Reply

Your email address will not be published.