अशोक फत्तेपुरिया
थारुहरुले भाद्र चतुर्थी तिथिका दिन मनाइने पर्वलाई चौठी चान भनिन्छ। थारुहरुको परम्परागत, धार्मिक र सांस्कृतिकपर्व मध्येको चौठी चान पनि एक हो। लोक धारणाअनुसार आजको दिन उदाउने चन्द्रमामा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरे चोर दोष लाग्छ। हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत छ। थारु समाजका धेरैजसो परिवारमा यो व्रत कौबला/भाकल को रुपमा गरिएको हुन्छ। घाउ खटिरा, बिरामी नपरोस् तथा परिवार स्वस्थ्य रहोस् भन्नका लागि चौठी चानको भाखल गर्ने चलन छ। यस्तो भाकल पाँच-दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्छ।
पूजा गर्ने उपासक दिनभर निआहार उपवास वसी, नैवेद्यका लागि विभिन्न पकवान पकाउँछ र बेलुका आँगनमा चौका बनाई धुप-दीप राखी खिर-पुरी, लड्डु, पान सुपारी ,केरा तथा फलफूलका साथ उदाउँदो चन्द्रमाको पूजा गरी सबैलाई प्रसाद ग्रहण गराउने चलन छ।
यो पर्व वर्षा ऋतुमा पर्ने भएकाले र कहिले काहीँ बादल लागेर चन्द्रमा नदेखिएको अवस्थामा बाल बच्चाले लामो समय धैर्य गर्दा तिनीहरुको मनोभावना मनमनै यसरी पोख्छन्
कि सबचिज खीर, पुरी, पुवा, दहि तथा फलफूल तयार छ; हे चान बाबा जल्दी जल्दी उग आ खा अर्थात् चन्द्रमा भगवान चांडो दर्सन दिनुहोस र हामीले पनि चाँडै प्रसाद खान पाउछौं। एकदमै लामो समयको प्रतिक्षा गर्नुपर्दा गीतको रुपमा यसरी ब्यक्त गर्छन्
उग हो चान बबा घप्च हो पुवा ।
उग हो चान बबा घप्च हो पुवा ।
धिया-पुता सब टुक् टुक् ताकै छै ।
पबन करी सब भूक से मरै छै ।
आब हो चान बबा घप्च हो पुवा ।
थारु समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण थारु समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको देखिन्छ। थारु प्रकृति पूजक भएकाले चन्द्रमाको विशेष विधिपूर्वक पूजा गर्छन्।
यो तिथिको चन्द्रमा दर्शन अशुभ तथा कलंक मानिन्छ। त्यसैले आजको दिन फलफूल बिना चन्द्रमा दर्शन गर्नु अशुभ र दोषपूर्ण मानिन्छ। खास गरी पूजाका लागि तयार गरिएको सामाग्री कसैले पूजा नगरी जुठो गरेमा चरक फूटने विश्वास गरीन्छ।
थारु समुदायमा एउटा किवादंत्ती यो छ कि आजको तिथिको चन्द्रमा दर्शन अशुभ तथा कलंक मानिन्छ। कारण, चन्द्रमाले आफू अति सुन्दर हो भन्दै गणेशजीलाई अपमान गर्नुभयो। गणेश भगवानले रिसमा चन्द्रमालाई श्राप दिनुभयो कि जसले तेरो दर्शन गर्छ उसलाई चोरीको पाप लाग्छ। पछि चन्द्रमाले अराधना गरी गणेश भगवानलाई खुसी पार्नुभयो र गणेश भगवान खुसी भइ भाद्र शुक्ल पक्ष चौथी तिथिको दिन चन्द्रमा दर्शनबाहेक अन्य दिनको चन्द्रमा दर्शनले कुनै पाप नलाग्ने गरी अपराध माफ गर्नुभयो। त्यसैले यो तिथिको चन्द्रमा दर्शनलाई कलंक भानिन्छ र दर्शन निषेध मानिन्छ। दर्शनको दोष मेटाउनको लागि सानोतिनो चोरी गर्ने चलन अहिलेसम्म थरुहटमा कतै कतै प्रचलित छ। तर चोरीको सामान घर लगिँदैन।
पापबाट उद्दारको लागि चन्द्रमाको प्रयश्चित छ- जो कोही मृत लोकमा आजको दिन नियम निष्ठापूर्वक मलाई पूजा गर्छ सालैभरि उसको बालबच्चा तथा पशुधन सकुसल रहनेछ। त्यही समयदेखि आजको दिनलाई थारु समाजले चौठिचानको रुपमा मनाउँदै आएको छ।
यस पर्वको अर्को महत्व यसले कृषकलाई गिज्याउँछ, कृषिजन्य अर्थात् धान रोपाईँ चाँडो गरोस्, रोपाईँको समय बित्न लाग्यो। यो पर्वपछिको रोपाईं ढिलो हुन्छ र राम्रो उब्जाउ हुँदैन। थारु भाषामा एउटा भनाइ पनि छ- ‘आठि कुठि चौठी चान, ज्या बोझ बिया त्या बोझ धा’ अर्थात् ढिलो रोपेको कारण धानमा वृद्धि विकास हुँदैन। त्यसैले ‘ज्या बोझ बिया त्या बोझ धान’ अर्थात् जति बोझ बिउ उति बोझ धान हुन्छ।
थारुहरुको यो पर्व हाल लोपोन्मुख अवस्थामा छ।
तिर्जुगा उपत्यका, उदयपुर
हाल: किर्तिपुर