हरेराम बचाउ अभियानमा १० लाख संकलन, पोर्चुगलबाट दुई लाख सहयोग

सन्तकुमार चौधरी/चितवन।

दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचाररत्त हरेराम महतोको स्वास्थ्य उपचारका लागि पोर्चुगलमा बस्ने नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १ का मित्रमणि कंडेल र नवलपरासी गैडाकोट नगरपालिका वडा नं. ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले संकलन गरेकाो २ लाख रुपैयाँ शनिबार एक कार्यक्रमकाबीच हरेराम महतोका आमा शनिचरी महतोलाई हस्तान्तरण गरेका छन्।

मित्रमणि कँडेल र देवेन्द्र पुन मगर हाल पोर्चुगलमा छन्। पोर्चुगलमा रहेका विभिन्न व्यक्ति र समुहवाट संकलन गरेर पठाएको २ लाख रुपैयाँ बराबरको चेक खैरहनी नगरपालिकाका मेयर लालमिणि चौधरी र मित्रमणिका बुबा डम्बरप्रसाद कँडेलले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।

पोर्चगलबाट पठाइएको १ लाख ९४ हजार ४ सय १७ रुपैयाँ सहित मित्रमणि कंडेलका दाजु देवराज कंडेलले स्थानीय स्तरमा संकलन गरेको रकम गरी दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले यसरी सबै नेपाली एकले अर्काको दुखमा साथ दिने हो भने कोही पनि अभावमा ज्यान गुमाउन नपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर चौधरीले हरेराम जस्तै अभावमा परेका अन्य व्यक्तिहरुलाई पनि सबैले सहयोग गर्नसके आधाजसो समस्या गाउँघरमै समाधान हुने दाबी गरे। मित्रमणिका दाजु देवराज कंडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सोही वडाका वडा अध्यक्ष भूमिप्रसाद कंडेल, पीडित परिवारका तर्फबाट हरेराम महतोका जेठान शनिचरा दराई, देवेन्द्र पुनका दाजु तेजबहादुर पुन मगरले हरेराम बचाउँ अभियानको विषयमा बोलेका थिए।

सिर्जनशील थारु समाजले हरेराम बचाउँ अभियान सुरु गरेको हो। समाजको अध्यक्ष कारी महतोले अहिलेसम्म हरेराम महतो बचाउँ अभियानमा १० लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिए। आर्थिक सहयोग संकलन हुने क्रम अझै जारी छ। वैदेशिक रोजगारको क्रममा साउदी अरेयिबा पुगेका चितवनको खैरहनी नगरपालिका वडा नं. १, बहेराका हरेराम महतोको दुवै मृगौला काम नलाग्ने भएपछि घर फर्कीएका थिए।

उनलाई काम गर्ने कम्पनीले समेत कुनै सहयोग नगरेपछि साथीहरु मिलेर उनलाई टिकट काटेर नेपाल पठाएका थिए। नेपाल फर्केपछि उनलाई औषधी उपचार गर्न आर्थिक समस्या परेको थियो। उनको विषयमा समाचार प्रकाशन-प्रसारण भएपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्न थालेका छन्।

प्राप्त भएको आर्थिक सहयोगलाई व्यवस्थापन गर्न सिर्जनशील थारु समाजले “हरेराम महतो बचाऊ अभियान” सुरु गरेको हो। ३५ वर्षीय हरेराम महतोको काठमाडौंस्थित वीर हस्पिटलमा उपचार भइरहेको छ। वीर हस्पिटलमा उपचार भए पनि उनको मृगौलाको डाइलाइसिस भने नेशनल डाइलाइसिस सेन्टर बसुन्धरामा हुने गरेको पारिवारिले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.