राजधानीबासी थारुले सोमबार अष्टिम्की मनाउँदै

राजधानीबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। चम्पन साँस्कृतिक समूहको आयोजनामा कीर्तिपुरस्थित टियुको हलमा अष्टिम्की मनाउने भएका हुन्। भाषा, कला संस्कृतिको विकास संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले पर्व मनाउन लागेको समूहका अध्यक्ष नन्दुराज चौधरीले जानकारी दिए।

उनका अनुसार गाउँघरमा गरिने परम्पराअनुसारै पर्व मनाउने तयारी भएको छ। भित्तामा विभिन्न पौराणिक चित्रहरु बनाएर महिलाहरुले टिक्ने, पूजा गरेर प्रसाद खाने कार्यक्रम रहेको उनले बताए। त्यस्तै थारु कलाकारहरुले साँस्कृतिक नृत्य पनि प्रस्तुत गर्ने कार्यक्रम छ।

कृष्णा जन्माष्टमीलाई थारु समुदायका महिलाहरुले अष्टिम्कीको रुपमा मनाउँदै आएका छन्। अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’ बाट भएको थारु संस्कृतविद अशोक थारुले बताउँछन्। उनका अनुसार श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ। अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टीका लगाउनु हो। ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले विशेषरुपमा मनाउने गरेको हुनाले यसदिनलाई थारु समुदाले अष्टिम्की भन्ने गरेको संस्कृतविद थारुको भनाई छ।

दुई दिनसम्म उल्लासमय वातावरणमा मनाउने अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभरि केही पनि नखाई व्रत बस्ने गर्छन्। अष्टिम्कीमा ‘कान्हा’ को जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसँग टीका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा गर्छन्। अष्टिमकीको पहिलो दिन बिहानै महटावाको घरको बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा बनाइन्छ। श्री कृष्णको दाँया सूर्य र बाँया भागमा चन्द्रमाको चित्र कोरिन्छ। दोस्रो लाइनमा सात भाइ कौरवको चित्र कोरिन्छ। त्यस्तै तलको भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई लगायत विभिन्न चरा, चरिंगी र जनावरको चित्र बनाइन्छ।

यसरी सबै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्छन्। त्यसपछि विभिन्न किसिमको रंङ्गीचंङ्गी रातो, कालोचोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरि थरिथरिको गरगहनाले सजिएर एकैसमयमा गाउँभरिका महिलाहरु लामबद्ध भइ बलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर महटावाको घरमा गई पूजा गरिन्छ।
अष्टिम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु महिलाहरुले धुमधामले मनाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published.