राजपालाई चुनावमा जान दबाब, लेखी भन्छन्- ‘माग सम्बोधन नभएसम्म जानु हुँदैन’

राजपा पदाधिकारीहरूले संविधान सशोधन विधेयकलाई स्वीकार गरेर स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिन पार्टी नेतृत्वलाई दबाब दिइरहेका बेला  नेता राजकुमार लेखीले संविधान संशोधन बिना कुनै हालतमा चुनाव जान नहुने सुझाव दिएका छन्। पार्टीको पदाधिकारी बैठकमा उनले माग सम्बोधन नगराइकन यथास्थितिमा चुनावमा जान नहुने तर्क पेस गरेका थिए। 

‘सरकारले अझै थारु मधेसीका मागहरु सम्बोधन गरेको छैन। झुटा मुद्दा खेपेर अझै थारु मधेसीहरु जेल जीवन बिताइरहेका छन्। यस्तो अवस्थामा पार्टी चुनावमा जानु हुँदैन,’ उनले बैठकमा आफ्नो धारणा सुनाए।

तर अधिकांश पदाधिकारीहरुले भने संशोधन विधेयक पास भएमात्र चुनावमा जाने पार्टीको आधिकारिक लाइन सच्याउन नेतृत्वलाई सुझाव दिएका थिए। संशोधन विधेयक फेल भए पनि त्यसलाई स्वीकार गर्नुपर्ने उनीहरूको भनाइ थियो।

बैठकमा राजपा उपाध्यक्ष मृगेन्द्रकुमार सिंहले राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जानुपर्ने धारणा राखे। ‘हामी चुनावमा गएनौं भने पनि चुनाव बिथोल्न सक्दैनौं। चुनाव बिथोल्न नसक्ने भएपछि चुनावमा जानु उपयुक्त हुन्छ,’ बैठकमा सिंहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

उनले संशोधन विधेयकलाई स्वीकार गरेर पार्टी चुनावमा जानुपर्ने सुझाव दिएका थिए। बैठकमा अर्का उपाध्यक्ष अजय गुप्ताले पनि तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुनुपर्ने सुुझाव राखे। ‘यसपटक हामी चुनावा गएनौं भने आगामी पाँच वर्षसम्म हामीबाट स्थानीय तह गुम्छ। त्यो स्थिति आउन नदिन पार्टी चुनावमा जान उपयुक्त हुन्छ’, उनले बैठकमा भनेका थिए।

 

Leave a Reply

Your email address will not be published.