अपरहणमा परेको ५ वर्षे छोरा विशालको शकुसल उद्दार भएपछि विजय चौधरी दम्पत्ति खुसी छन् । शनिबार नै मनकामना गएर भाकल अनुसार बोका पनि काटे तर, उनी खुसीसँगै दुःखी पनि छन् । अपहरणकारी आफ्नै साथी पो रहेछन्, जसलाई उनका बाबुले छोरा समान मानेका थिए । उनीहरु एउटै थालमा खान्थे ।
प्रहरीले भन्दा पनि उनले पत्याएनन्, राजु (विक)ले कसरी विशाललाई अपहरण गर्ला र ? पत्याउनु पनि कसरी ? बाल्यकालको साथी, अहिले पनि उस्तै दोस्ती छ । १२ गते छोरो अपहरणमा परेको केहीबेरपछि नै राजु खोजीमा सघाउन आएको थियो । विशाललाई खोज्दै स्कुल पुगे, नाराबाजी गरे, राति अबेरसम्म पनि साथ दिए ।
तर, अब उनलाई पत्याउन कर लागेको छ, अपहरणको योजनाकार राजु प्रहरी फन्दामा परेका छन् । मनकामना दर्शन गरेर उनी परिवारसहित अपराध महाशाखामा पुग्दा प्रहरीले राजुलाई सार्वजनिक गर्ने तयारी गरिरहेको थियो ।
औपचारिक पत्रकार सम्मेलनपछि प्रहरीले राजुसँगै विष्णु पाण्डेलाई सार्वजनिक गर्यो । राजु विकले हुलिया परिर्वतन गर्न कपाल खौरिएका थिए । हातमा हत्कडी र अनुहारमा मास्क लगाएर उनले विशालतिर आँखा लगाउन पनि सकेनन् ।
शिर निहुर्याइमात्र रहे । केही पर बसेर हेरिरहेका विशाल चौधरीलाई पनि अर्कै खालको छटपछि थियो । उनले पटक-पटक नजिक जान खोजे तर, सकेनन् । अनुहार एकखालको ‘हिन’ भाव थियो कि छोराको अपहरणकोरी आफ्नै साथी पो रहेछ । यसलाई मैले किन समयमा चिन्न सकिँन ।
प्रहरीले राजु विक र विष्णु पाण्डेलाई लगेपछि विशालले मुख खोले, ‘मैले कसरी पत्याउँ सर । एउटै थालमा खाने साथीले आफ्नो छोरालाई अपहरण गर्यो भनेर ?’ प्रहरीका अनुसार आफ्नै साथीका ५ वर्षे छोरा विजयलाई राजु आफैंले स्कुलबाट उठाएका थिए । उनलाई विष्णु पाण्डेले साथ दिएका थिए । घरमा सँगै आउजाउ गर्ने बुबाको साथी देखेपछि विजय पनि सहजै उनीहरुसँग गरे ।
राजु र विष्णुले गोठाटारमा बस्ने विष्णुको बहिनी अनिता केसीको कोठामा बन्धक बनाएर राखे ।
लगतै राजुले पसल त बन्द रहेछ विजयलाई भन्दै फोन गरे । उनले छोरा हराएको सुनाए । लगतै हो र Û भन्दै खोज्न आइपुगे । विजय भन्छन्, ‘जसले अपहरण गरेको छ, त्यसलाई छोड्नु हुँदैन । गोली हान्नुपर्छ भन्थ्यो ।’
लगातार केही दिन राजु विकले अपहरणकारी र खोजीकर्ता दुबै भूमिका निभाइरहे । महानगरीय प्रहरी अपराध महाशाखाले शनिबारबाट केस हृयाण्डल गर्यो र अपरेशन बुनु नाम दिएर अनुसन्धान थाल्यो । प्रारम्भिक अनुसन्धानका क्रममा नै राजु विक शंकाको घेरामा परिसकेका थिए । तर, विजयले विश्वास नै गरेनन् । भन्छन्, ‘कसरी शंका गर्नु । सँगै खोज्न हिडेको छ । आफ्नै एकदमै मिल्ने साथी पनि हो ।’
प्रहरीले बालकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्दै उद्दारमा जोड दियो । राजुले खेल्ने मौका पाए । शनिबार प्रहरी कार्यालयमै आएर उजुरी दिन साथ दिए । आइतबार अपहरणमा परेका बालक विशाल पढ्ने सरस्वती बोर्डिङ स्कुल पुगेर नाराबाजी गरे, स्कुल जलाइदिने धम्की दिन पनि भ्याए ।
तर, उनी त्यहीँ फसे । प्रहरीले विजय दम्पत्तिलाई एक होटलमा राखेर निगरानी गरिरहेको थियो र झण्डै ३ घन्टाका लागि मात्र उनीहरुलाई बाहिर पठाइएको थियो । त्यही बेला विशालले राजुलाई भने, प्रहरीले अपराधीलाई जहाँ भेट्यो, त्यही सुट गर्ने भनेको छ । मैले पनि छोरा माया मारिसके, तर, अपराधीलाई छोड्नु हुन्न ।’
राजुमाथि मनोवैज्ञानिक दबाव दिने प्रहरीको रणनीति थियो । प्रहरीलाई थाहा थियो कि बालक राजु र विष्णुसँग थिएन, किनकी ५० लाख फिरौति माग्ने क्रममा उनीहरुले अडियो मात्र सुनाएका थिए । त्यसैले प्रहरीले बालकलाई लुकाएको ठाउँ पत्ता लगाउने र उद्दार प्रहरीको प्राथमिकतामा पर्यो ।
आइतबार राति करिव ११ बजेतिर विजयले रुँदै फोन गरेर राजुलाई आफू कहाँ आउन आग्रह गरे । तर, उनी मानेनन् । त्यसपछि विजयलाई पनि लाग्यो कि अपहरणकारी राजु नै हो । आफू चारैतिरबाट घेरिएको थाहा पाएपछि राजु बालक विशाललाई छोडेर भाग्यो र सोमबार विहानै बालकको सकुशल उद्दार भयो ।
बालक छाडेर भागेका राजु शुक्रबार गाइघाटमा पक्राउ गरे । विष्णुलाई मन्थलीबाट पक्राउ गर्यो ।
अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, ‘बालकको जीवन रक्षा पहिलो प्राथमिकतामा थियो । त्यसैले उनीहरुले खेल्ने समय पाए र काठमाडौंमा भएका अपहरणकारीलाई गाइघाट र मन्थलीबाट समात्नु पर्यो ।’
प्रहरीका अनुसार व्यापार व्यवसाय गर्ने विजयको कमाई राम्रै थियो । र, साथीभाइ भेट्दा १०/१५ लाख जुटाउन समस्या नभएको सुनाउने गरेका थिए । उतासँगैको साथी राजु वेरोजगार थिए, त्यसैले उनले अपहरणको योजना बनाए ।
अनलाइनबरबाट साभार