एमालेलाई थारुहरुको राम्रो साथ, कैलाली र दाङमा बहुमत

दुई चरणमा निर्वाचन सम्पन्न भएका तराईका ११ जिल्लामध्ये ७ जिल्लामा एमाले पहिलो दल बनेको छ । यीमध्ये दुई जिल्लामा एमालेले बहुमत सीट जितेको छ । तराईका जिल्लाहरुमा राम्रो मत परिणाम आएको भन्दै एमाले नेताहरु सन्तुष्ट देखिएका छन् । तर, पार्टी अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापामा बहुमत सीट जित्न नसकेपछि एमाले नेतामा असन्तोष देखिएको छ । एमाले अध्यक्ष ओलीले आइतबार झापामा आयोजित कार्यक्रममा बोल्दै आफ्नो गृहजिल्लाको चुनावी नतिजाप्रति असन्तोष व्यक्त गरे ।

तराई मधेसका ११ जिल्लामा कुल १२५ स्थानीय तहमध्ये ४८ स्थानमा जितेर एमाले पहिलो दल बनेको छ । नेपाली कांग्रेसले तराई मधेसमा ४३ स्थानीय तह जितेर दोस्रो स्थानमा पाएको छ भने माओवादीले ११ स्थानीय तह जितेर तराई मधेसमा तेस्रो दल बनेको छ ।

एमालेले तराईका जिल्लाहरुमध्ये थारु बाहुल्य जिल्लाहरु दाङ र कैलालीमा बहुमत सीट जितेको छ । कांग्रेसको पकट मानिएको दाङमा एमालेले उल्लेख्य नतिजा हासिल गरेको छ । दाङका १० स्थानीय तहमध्ये ६ वटा एमालेले जितेको छ । त्यहाँका दुबै उपमहानगरपालिका एमालेको कब्जामा गएका छन् ।

थारु बाहुल्य क्षेत्रमा एमालेले सबैभन्दा राम्रो सफलता पाएको छ । एमालेबाट सबैभन्दा धेरै ८ जना प्रमुख र १२ उपप्रमुख जितेका छन् । कांग्रेसबाट ६ जना प्रमुख र १३ उपप्रमुख जितेका छन् ।

७ मध्ये दुई उपमहानगरपालिका घोराही र इटहरीमा एमालेका थारु उम्मेदवार नरुलाल चौधरी र द्वारिकलाल चौधरी मेयर बने । थारु बाहुल्य रहेका दाङ, बर्दिया, कैलाली र कञ्चनपुरमा एमालेले धेरै ठूलो सफलता पायो । एमालेले बर्दियामा ३, नवलपरासीमा २, कपिलवस्तुमा २ र रुपन्देहीमा ७ स्थानीय तह जितेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठासँग जोडिएको सुदुरपश्चिमको कैलालीमा पनि कांग्रेसलाई अप्रत्याशित धक्का दिँदै एमालेले १३ स्थानमध्ये ७ स्थानमा जितेर बहुमत पाएको छ । थारु बाहुल्य टीकापुर नगरपालिकासमेत एमालेले जितेको छ ।

त्यसैगरी मधेसी र मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको बाँके जिल्लामा पनि एमाले नै पहिलो दल बनेको छ । बाँकेका कुल ८ स्थानीय तहमध्ये एमालेले ४ वटा जित हात पारेको छ ।

कञ्चनपुरमा पनि एमालेले राम्रो परिणाम ल्याएको छ । त्यहाँका ९ स्थानीय तहमध्ये ४ वटा जितेर एमाले कञ्चनपुरको समेत पहिलो पार्टी बनेको छ । त्यहाँको पुनर्वास नगरपालिकाको परिणाम आउन बाँकी छ । एमालेले त्यो पनि जित्यो भने उसले कञ्चनपुरमा पनि आफूलाई पहिलो दल बनाउने छ ।

दोस्रो चरणमा चुनाव भएका १ महानगर र ७ उपमहानगरपालिका मध्ये कांग्रेसले बिराटनगर महानगरपालिका र धनगढी उपमहानगरपालिका जित्यो । राप्रपाले नेपालगञ्ज उपमहानगरपालिका जित्यो । बाँकी उपमहानगरपालिकामध्ये इटहरी, बुटवल, तुलसीपुर र घोराही एमालेले जितेको छ । धरान उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । भैरहवा, टीकापुर जस्ता मधेसी-थारु आन्दोलनका केन्द्र भागका नगरपालिकामा पनि एमालेले जितेको छ ।

एमालेलाई पूर्वी तराईबाट भने धक्का लागेको छ । केपी ओलीको गृहजिल्ला झापामै बहुमत सीट जित्न नसक्नु एमालेको पराजय त हो नै, सुनसरी र मोरङमा उसको चुनावी नतिजा लगभग दयनीय नै देखिएको छ । झापामा एमालेका जिल्ला अध्यक्ष र सचिवले नै चुनाव हारेका छन् । गौरादहजस्तो विगतमा केपी ओलीले चुनाव जितेको र एमालेको पकड रहेको अग्नि खरेलको गृहनगर एमालेले गुमाएको छ ।

मोरङका १७ स्थानीय तहमध्ये एमालेले ५ स्थानमा चित्त बुझाउनुपरेको छ । मोरङमा पहाडे समुदायको बाहुल्य रहेका र एमालेका गढ मानिएका केराबारी, उर्लाबारी, सुन्दर हरैंचा जस्ता ठाउँहरुले गुमाएको छ । झापा, मोरङ र सुनसरीमा एमालेले कैलाली, कञ्चनपुर र दाङको जस्तो नतिजा ल्याउन सकेको भए तराईमा एमालेको निकै ठूलो उल्लास मय जित ठहरिने थियो । तथापि एमालेले आफूलाई तराईका समग्र ११ जिल्लाको नतिजामा आफूलाई पहिलो दल बनाउन सफल भएको छ ।

यहाँका कुल १२५ स्थानीय तहमध्ये एमाले ४८ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । नतिजा आउन बाँकी तीन स्थानमा पनि एमालेको जितको सम्भावना छ । स्थानीय तहका प्रमुखहरुको हिसाबले मात्रै होइन, उपप्रमुखहरुमा एमाले अझै बढी जित हात पारेको छ । वडाध्यक्ष र वडा सदस्यहरुमा पनि एमालेकै बहुसंख्या छ ।
– अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published.