पूर्वकमान्डर लाजुराम चौधरीको योजना : ग्रिन भिलेजदेखि स्मार्ट सिटीसम्म

लखन चौधरी/धनगढी- कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लाजुराम चौधरी ‘अंकित’ले कार्यतालिका बनाएर गाउँपालिकाको विकास गर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिई विजयी हासिल गरेका उनले आमजनताको मत र अभिप्राय बुझेर कार्यतालिकासहित विकासको खाका ल्याउने योजना रहेको बताएका हुन्।
उनले भने- ‘पाँच वर्षको अवधिमा, आमजनताले मलाई जुन आशा र भरोसा गरी भोट दिएका छन्, त्यसैअनुरुप ग्रामिण विकासका कार्यक्रम तथा पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्नेछु। १० वर्षभित्र गाउँपालिकालाई सहरीकरण, १५ वर्षभित्र आधुनिककीकरण र २० वर्षभित्र गाउँपालिकालाई स्मार्ट सिटी बनाउने मेरो योजना हो।’
त्यस्तै उनले गाउँपालिकाभित्रको विद्यमान नदी कटान नियन्त्रण गर्ने, व्यवस्थित बसोबास गर्ने, पर्यटन प्रवर्द्धनको लागि ग्रीन भिलेजसहितको कार्यक्रम नै आफ्नो प्रमुख कार्ययोजना रहेको बताए।
राजनीति शास्त्र र गणित विषयमा स्नातक शिक्षा हासिल गरेका उनी १० वर्षे सशस्त्र द्वन्द्वकालमा कालिकोटस्थित प्रकाश नमूना जनजाति विद्यालयका प्रधानाध्यापकको रुपमा काम गरेका थिए। माओवादी केन्द्र कैलालीका पूर्व जिल्ला सचिवसमेत रहेका उनी ०६२-०६३ सालको जनआन्दोलनको क्रममा कैलालीबाट नेतृत्वकर्तामध्ये उनी पनि एक हुन्। त्यस्तै उनी नगरविकास समिति धनगढीका पूर्व अध्यक्षसमेत हुन्।
सम्पन्न मतगणनाको परिणामनुसार अध्यक्ष चौधरीले छ हजार दुई सय चार मत ल्याएर जीत हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजसमझ चौधरीले पाँच हजार आठ सय ८७ मत ल्याए ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै लक्ष्मी सत्गौवाले सर्वाधिक मत ल्याई बिजयी हासिल गरिन्। उनले छ हजार ६४ मत ल्याईन भने उनका प्रतिद्वन्दी का
कांग्रेसकी अनिता चौधरीले पाँच हजार चार सय सात मतमा चित्त बुझाउनु पर्यो।
कैलारी गाउँपालिकामा २९ हजार नौ सय ९६ मतदाता रहेका छन्। जुनमध्ये २६ हजार ३५ मत खसेको थियो।

सर्वाधिक मत ल्याउने को हुन् लक्ष्मी सत्गौंवा?
कुनै बेला जनवादी गीत गाएर जनताहरुलाई सुचूचित पार्दे हिँड्ने कलाकर्मी हुन् लक्ष्मी सत्गौंवा। वि.स. ०५७ सालदेखि आफ्नो राजनीतिक यात्रा सुरु गरेकी उनी माओवादीको महिला संगठन हुँदै ०६४ सालमा जनसांस्कृतिक समिति कैलालीको अध्यक्षसमेत भएकी थिइन्। हालः माओवादी केन्द्रको जिल्ला अयोजक समिति सदस्य रहेकी उनी सर्वाधिक मत ल्याई गाउँपालिका उपाध्यक्षमा विजयी भएकी हुन्।
उनले चुनावको क्रममा आमजनताहरुमाझ गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने नै आफूहरुको प्रमुख कार्ययोजना रहने बताइन्।

Leave a Reply

Your email address will not be published.