नरुलाल चौधरी देशकै ठूलो उपमहानगर घोराहीको मेयरमा निर्वाचित

दाङको घोराही उपमहानगरपालिका जितेर नेकपा एमालेले दोस्रो चरणमा चुनाव भएका सात उपमहानगरपालिकामा बिजयी सुरुवात गरेको छ । दाङमा निकै कमजोर मानिएको एमालेले देशकै सबैभन्दा ठूलो उपमहानगरको मेयर र उपमेयर दुवैमा फराकिलो अन्तरले विजय हासिल गरेको हो ।

घोराहीको मेयरमा एमालेका नेता नरुलाल चौधरी २२ हजार ३० मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपवहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे । माओवादीका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका छन् ।

२०२४ सालमा साविकको रामपुर गाविसमा जन्मिएका चौधरीले अनेरास्ववियुबाट एमालेको राजनीति सुरु गरेका हुन् । १२ वर्षको उमेरदेखि नै एमालेको राजनीतिमा होमिएका चौधरी बीचमा रेडियो नेपालको जागिरे थिए । २०५४ सालमा एमाले जिल्ला कमिटी सदस्य निर्वाचित भएपछि उनले रेडियो नेपाल छाडेका थिए ।

चौधरी २०५४ सालमै रामपुर गाविसको अध्यक्ष भएका थिए । एमाले निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिवसमेत रहेका चौधरी ०६९ सालमा एमाले दाङको अध्यक्ष भएका थिए ।

त्यस्तै उपमेयरमा पनि एमालेकै सीता न्यौपाने २०७९२ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७६०३ मा रोकिइन् । त्यस्तै घोराहीका १९ वटा वडा मध्ये एमालेले १०,कांग्रेसले ६ र माओवादीले ३ वडा जितेका छन् ।

Leave a Reply

Your email address will not be published.