राजापुरका मेयर उम्मेदवार मदन थारु भन्छन्- ‘स्मार्ट सिटी होइन, स्मार्ट भिलेजको कल्पना गरेको छु’

बर्दियाको टापु अर्थात् थारु बाहुल्य नगरपालिका राजापुरमा थारु थारुबीच कडा प्रतिस्पर्धा हुने भएको छ। ५९ हजार ५ सय ५३ मतदाता रहेको राजापुरमा १० वटा वडा छन्। नेपाल लोकतान्त्रिक फोरमबाट मदनकुमार थारु मेयरका उम्मेदवार छन्। उनी राजापुर क्षेत्रका एकदमै जुझारु, कर्मनिस्ठ र इमान्दार ब्यक्ति मानिन्छन्।

नेपाल अधिराज्यकै क्षेत्रफलको अनुपातमा सबैभन्दा बढी थारु जातिको बस्ती रहेको राजापुर भौँराटप्पा क्षेत्र नै पर्छ। ७० प्रतिशतभन्दा बढी थारु जातिको बाहुल्यता रहेको यस क्षेत्रमा अहिले नेपाल लोकतान्त्रिक फोरम, एमाले र माओवादी तिनै पार्टीले थारु उम्मेदवार उठाएका छन भने कांग्रेसबाट गैरथारु उम्मेदवार छन्।

यसरी तीनैजना थारु उम्मेदवारलाई जुधाएर काङ्ग्रेस जित्ने रणनीति बनाएको छ भने दुईपटक जितेको माओवादी मतदाता आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन्। यतिका बावजुद पनि नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार मदनकुमार थारुले आफ्नो जित सुनिश्चित भएको दाबी गरे। उनले सबै पार्टीलाई जनताले हेरिसकेकाले अब जनताले आफूलाई अत्यधिक मतले विजयी गराउने दाबी गरे। अहिलेका मजदुरदेखि शिक्षित युवाहरु यस पार्टीको विचार, सिद्धान्त र भविष्य बुझेकाले पहिलो रोजाइमा पर्ने उनको दाबी थियो।

‘मेरो सपना भनेको जनताको सपना हो। यो देशले स्मार्ट सिटी होइन स्मार्ट भिलेजको परिकल्पना गर्नुपर्छ। मेरो विजयपश्चात यो नगरपालिकाको रङ्ग नै फेरिदिनेछु। राजापुरलाई स्मार्ट गाउँसहितको स्मार्ट नगरपालिका बनाएर देखाउँछु,’ उनले भने।

Leave a Reply

Your email address will not be published.