टीकापुर पीडितलाई सरकारको क्षतिपूर्ति : रेशम चौधरीलाई १ करोड ७४ लाख, सांसद चौधरीलाई ५० लाख

लखन चौधरी/कैलाली।
जिल्ला प्रशासन कार्यालय कैलाली शुक्रबारदेखि टीकापुर घटनाका आगजनी पीडितहरुलाई राहत क्षतिपुर्ति रकम वितरण सुरु गरेको छ।
इलाका प्रशासन कार्यालयमार्फत पहिलो दिन ४० जना पीडित परिवारलाई रकम वितरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

२०७२ भदौ ८ गते भएको आगजनीमा ८६ थारु परिवारको ठूलो क्षति भएको थियो। जुन क्षतिको क्षतिपूर्ति स्वरुप उनीहरुलाई १० करोड ८३ लाख ४८ हजार ८ सय १६ रुपैयाँ वितरण गर्न लागिएको हो।

पछिल्लो दिनमा विवाद नहोस् भनेर सबै पीडित परिवारहरुलाई चेकमार्फत वितरण गर्न लागेको बताउँदै प्रजिअ रिजालले पहिलो दिन सात करोड रकम वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण हुँदै जाने बताए।

घटनामा सबैभन्दा बढी क्षति व्याहोरेका रेशम चौधरीले एक करोड ७४ लाख क्षतिपूर्ति पाएका छन्। रेशम चौधरीको तर्फबाट उनको बुबा लालविर चौधरीले उक्त रकम बुझेका छन्। त्यस्तै, निरु ट्रेडर्सका सञ्चालक शिवनारायण चौधरीले एक करोड ५० लाख र प्रदीप चौधरीले एक करोड ३९ लाख क्षतिपूर्ति रकम बुझेका छन्।
टीकापुर घटनाका पीडितलाई राज्यले एक करोड सम्मकालाई ८० प्रतिशत, १ देखि २ करोड सम्मकालाई ७० प्रतिशत र २ करोडदेखि माथिकालाई ६० प्रतिशत क्षतिपुर्ति प्रदान गर्ने भएको छ।

प्रमुख जिल्ला अधिकारी रिजालले राहत क्षतिपुर्ति रकम प्रदान गर्दै सामाजिक सद्भाव, समाज मिलाउनलाई राज्यले क्षतिपूर्ति रकम प्रदान गरेको बताए। उनले सबैको सहयोग, सहकार्यबाट टीकापुर घटनाको पीडितलाई रकम उपलब्ध गराउन सकेको भन्दै पीडितलाई क्षतिपूर्ति रकमको चेक प्रदान गरेका थिए।

क्षतिपुर्ति रकम बुझ्दै घट्नाके पीडित प्रदिप चौधरीले राहत क्षतिपूर्ति रकम दिएर राज्यले आफुहरुमाथि न्याय गरेको बताए। उनले भने, ‘म आज एकदम खुसी छु, तर आउँदा दिनमा टीकापुर घटना फेरि कहीँ कतै नदोहोरियोस्। क्षतिपुर्ति दिने रकम राज्यले राज्यकै सम्पत्तिबाट आउने भएकाले अब यस्ता घटना नहोस्। अब पाएको राहत रकमबाट पुरानो भौतिक संरचना निमार्ण गर्छु।’

सद्भाव व्यवहारले देखाउने हुँदा राहत रकमले सद्भावको महमपट्टिको कार्य भएको पीडित भागीराम चौधरीले बताए। टीकापुर घटनाको क्षतिपुर्तिको रकमलाई सद्भाव सँग दाँज्न मिल्दैन तर पीडिलले पाउँदा राहत भएकोले मन व्यवहार परिवर्तनमा सहजता मिल्छ उनले भने।

राहत रकम चाडौ पाए धेरै राहत हुने तर ढिलो गरि भएपनि राज्यले दिएको रकम स्वीकार्य रहेको थारु कल्याणकारिणी सभा टीकापुरकाका अध्यक्ष भागीराम चौधरीले बताए। उनले भने, ‘राज्यले राहत नभई क्षतिपूर्ति रकम दिदा पीडितलाई सहज भएको छ। जनता प्रति राज्यले उदारता देखाएको छ।’

Leave a Reply

Your email address will not be published.