झुम्कामा थारु भाषाको तीन दिने रेडियो उद्घोषण तालिम सुरु

सुनिल चौधरी/झुम्का।
थारु पत्रकार उत्पादन गर्ने उद्देश्यले थारु पत्रकार संघ सुनसरीले रामधुनीको झुम्कामा तीन दिने रेडियो उद्घोष तालिम सुरु गरेको छ । थारु समुदायको कला संस्कृति, भेषभुसा मिडियामा आउन नसकेको अवस्थामा संघले प्रारम्भिक चरणमा रेडियो उद्घोष तालिम सुरु गरेको हो ।
थारु भाषामै उद्घोष कला सिपका लागि रामधुनी, इटहरी, इनरुवा, बक्लौरीलगायत ठाउँबाट ४० जना सहभागी छन् । तालिममा बढी महिलाहरुको सहभागिता छ । आफ्नै भाषामा उद्घोषण तालिम लिन पाउँदा उत्साहित हुँदै सहभागीहरुले सञ्चार क्षेत्रमै कार्यक्षेत्र बनाउने बताएका छन् । उद्घोषण गर्न रेडियोमा थारु कार्यक्रम सञ्चालकहरु कुलदिप चौधरी, सुनिल चौधरी, एलएन गच्छदार, धिरेन्द्र चौधरी र कानुन ब्यवसायी रामराज चौधरीले उनीहरुलाई प्रशिक्षण दिनेछन् ।

संघका अध्यक्ष कुलदिप चौधरीको सभापतित्वमा भएको उद्घाटनमा प्रमुख अतिथि रामराज चौधरीले मिडिया हाउसमा थारु भाषाको छोटो समयको मात्र कार्यक्रम सञ्चालन हुने गरेकामा यो तालिम पश्चात थारु बाहुल्य रहेको सुनसरीमा प्रत्येक रेडियोमा थारु भाषाका सामाचार प्रसारणका लागि संघले जोड दिनुपर्ने बताए ।
थारु भाषा संरक्षणका लाीि राज्यको पनि दायित्व हुनुपर्नेमा उनको जोड थियो । दुई चार जना पत्रकारले मात्रै सबै मुद्दाको उठान गर्न नसक्ने भएकाले सबैतिरबाट सम्प्रेषण हुनुपर्ने उनको जोड थियो ।
यो तालिमले धेरै पत्रकार उत्पादन भइ थारु मुद्दा उठानमा सहयोग पुग्ने रामधुनी नगरपालिकाका सामाजिक विकास प्रमुख हर्षलाल चौधरीले बताए । कार्यक्रममा क्षेत्रीय कृषि तालिम केन्द्र झुम्काका प्रमुख बौवालाल चौधरीले थारु पत्रकारहरु औँलामा गन्ने अवस्थाले समुदायका मुद्दा उठान गर्न नसकेको हुँदा यस किसिमका तालिमले पत्रकार उत्पादन भई संस्कार संस्कृतिका बारेमा खोजी नीति हुनुपर्ने बताए ।
कार्यक्रममा फोनिज अध्यक्ष धिरेन्द्र चौधरी, सीता चौधरी, जानकी चौधरी, सुशिला चौधरी लगायतले आफ्नो धारण राखेका थिए ।
तालिमका उद्देश्यका बारेमा मोरङ अध्यक्ष एलएन गच्छदार र उपस्थित सबैलाई स्वागत सुनसरीका सदस्य नबिन चौधरीले गरेका थिए । तालिम रामधुनी वडा नं. ५ स्थित क्षेत्रीय कृषि तालिम केन्द् झुम्कामा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.