गच्छदारले बनाए जनकराज, सुमित्रा र यशोदालाई राज्यमन्त्री

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकबाट तीन राज्यमन्त्री थपिएका छन् । जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा कुमारी लामा राज्यमन्त्रीको रुपमा सरकारमा थपिएका छन् । चौधरीलाई स्थानीय विकास, सुमित्रालाई पर्यटन र यशोदालाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त राज्यमन्त्री द्वय यशोदा लामा र सुमित्रा थरुनीले मंगलबार नै प्रधानमन्त्री प्रचण्डसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

अर्का राज्यमन्त्री जनकराज चौधरी भने राजधानी बाहिर छन् । उनी भोलिसम्म काठमाडौं आइपुग्ने र त्यसपछि सपथ लिने फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले जानकारी दिए ।

सोमबार विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्षसमेत रहेका गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहिले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published.