विजय गच्छदारलाई सरकारमा ल्याउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल गरेका छन्। थापाले पाँच दिनअघिमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर उनको पार्टीले सरकार छाडेको हो।
प्रधानमन्त्रीले आइतबार थापा र गच्छदारसँग छुट्टाछुट्टै कुराकानी गरी सरकारमा आउन आग्रह गरेको स्रोतले बतायो। उनले शनिबार पनि गच्छदारसँग भेट गरेका थिए।

फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले पार्टीले उठाएका अजेन्डामा प्रधानमन्त्रीले प्रतिबद्धता जनाए पार्टी सरकारमा जाने बताए । ‘त्यसो भए हामी भोलि (सोमबार) नै सरकारमा जान सक्छौं,’ चौधरीले भने। सरकारमा सम्मानजनक हैसियत पाउने अवस्थामा पार्टी सरकारमा जाने उनले बताए ।

स्रोतका अनुसार गच्छदारले एक उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाउने भएका छन् । नयाँ बन्ने सरकरमा पनि पार्टी सहभागी हुने सर्तसहित फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुन लागेको फोरम लोकतान्त्रिकका नेताहरूले जनाएका छन्। ‘अब बन्ने नयाँ सकारमा पनि हाम्रो उपस्थिति निरन्तर हुने गरी हामी सरकारमा जान सक्छौं,’ चौधरीले भने ।

गच्छदारलाई सरकारमा ल्याउन माओवादी केन्द्रले सरकारमा पाएको सञ्चार या अरु कुनै एक मन्त्रालय माओवादी छाड्न तयार रहेको बालुवाटार स्रोतको भनाइ छ । गच्छदारले दाहाल प्रधानमन्त्री भएदेखि नै सरकारमा आउने इच्छा राख्दै आएका थिए तर प्रधानमन्त्रीले भने विभिन्न कारण देखाउँदै आलटाल गरिरहेका थिए।

Leave a Reply

Your email address will not be published.