संघीय गठबन्धनद्वारा आमहड्तालसहितको आन्दोलन घोषणा, १५ गते थरुहट बन्द

मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ संविधान संशोधन विधेयकको विराध गर्दै गठबन्धनले वैशाख ५ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

गठबन्धनले मासल जुलुस, लाठी/सिटी जुलुस र देशका प्रमुख सहरहरुमा आमसभा गर्नुका साथै नेपाल बन्दको आह्वान गरेको छ। गठबन्धनले वैशाख १६ गते नेपाल बन्द आह्वान गरेको हो। त्यसअघि वैशाख १५ गते मधेस, थरुहट र लिम्बुवान बन्द हुने जनाएको छ।

गठबन्धनले वैशाख ९ गते जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा, १० गते बिराटनगर, भैरहवा र पाल्पामा, ११ गते नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा र १२ गते धनगढी, धरान र पोखरामा आमसभा गर्ने जनाएको छ। त्यस्तै वैशाख १३ र १९ गते गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलुश प्रदर्शन गर्ने प्रवक्ता ओम गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

त्यस्तै वैशाख २७ गतेदेखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द आह्वान गरेको विज्ञप्तीमा उल्लेख छ।
गठबन्धनले चैत २९ गते दर्ता गराएको नयाँ संविधान संशोधन विधेयक सच्याउनपर्ने माग गरेको छ।

‘सरकारले हालै दर्ता गरेको संविधान संशोधन प्रस्ताव अधूरो र त्रुटिपूर्ण मात्र होइन आन्दोलनकारी मोर्चा र गठबन्धनसँग भएको सहमति विपरीत छ। यो संशोधन प्रस्तावमा सहमति विपरीत स्थानीय तहको संरचनालाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत नराख्नु, सङ्घीय तहमा बहुभाषिक नीति नअपनाउनु, प्रदेशको भाषा प्रयोगको अधिकारलाई समेत केन्द्रमा बन्ने भाषा आयोगको सिफारिस चाहिने गरी झन् प्रतिगामी संशोधन दर्ता गर्नु, राष्ट्रिय सभाको संरचना गलत एवं विभेदकारी हुनु, सङ्घीय आयोगलाई सङ्घीय संरचना पुनरावलोकन गर्न सक्ने गरी समानुपातिक समावेशी र अधिकार सम्पन्न नबनाउनु, धारा २७४ को संशोधन प्रस्तावले पनि नयाँ प्रदेशको सिर्जना तथा सीमाङ्कन हेरफेरलाई असम्भव बनाउनु, प्रदेश नं ४ र ५ को सीमाङ्कन हेरफेरको प्रस्ताव फिर्ता लिनु, संविधानमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरूलाई राज्यको विशेष संरचना/तहको मान्यता नदिनु, तिनिहरूको क्षेत्राधिकारको अनुसुची संविधानमा नराख्नु, स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नै नगरी स्थानीय तहको चुनाव घोषणा गर्नु जस्ता गलत कार्यहरु गरिरहेका छन्,’ विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.