दुर्घटनामा परेकी एमाले सांसदको निधन

एमाले सांसद दुलारी देवीको बिहीबार साँझ उपचारक्रममा निधन भएको छ। भारतको सीमावर्ती बजार सीतामाढीमा दुर्घटनामा परी गम्भीर घाइते उनको ललितपुरको बी एन्ड बी अस्पतालमा निधन भएको परिवारले जनाएको छ।

काटिएका खुट्टामा इन्फेक्सन भएपछि उनको मृत्यु भएको दाजु रामबाबु गिरीले बताएका छन्। ‘बिहीबार साँझ नौ बजे अस्पतालमा उहाँको (दुलारी देवी) को मृत्यु भएको छ,’ गिरीले भने, ‘बिहान १० बजेपछि इन्फेक्सनका कारण स्वास्थ्य  एक्कासी बिग्रियो।’

सीमावर्ती भारतीय बजार सीतामाढीतर्फ सामना किन्न जाँदै गर्दा उनी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रवीन्द्र साहको घटनास्थलमै मृत्यु भएको थियो। दुलारीको शव श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म एमाले पार्टी मुख्यालय धुम्बाराहीमा राखिने भएको छ।

सर्लाही ब्रह्मपुरीकी ४७ वर्षीय दुलारी देवी एमालेको समानुपातितर्फकी सांसद थिइन्। उनी २०५२ सालदेखि राजनीतिमा सक्रिय थिइन्। उनका पति, दुई छोरा र दुई छोरी  छन्।

Leave a Reply

Your email address will not be published.