भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन्। एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलमा आइगेका हुन्। उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतले स्वागत गरेका थिए। प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो।

त्यसपछि प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन्। मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ। जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन्।

षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शङ्गारका सामग्री अर्पण गरिने चलन छ।

ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदुभाषणी गरिमामयी कुलवधु, प्रकृति स्वरूपा सबल नारी , संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पूज्यनीय र अनुकरणीय मानिएको छ ।

जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउँदा भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए। भारतीय प्रधानमन्त्री मोदी मन्दिर परिसरमा रहेको शालिग्राम मन्दिरमा पूजाअर्चना र अखण्ड सीताराम भजनमा स्तुति गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोशन दासले मैथिल साँस्कृतिअनुसार स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published.