प्रदेश २ का मुख्यमन्त्रीलाई वाम गठबन्धनको पनि समर्थन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको विश्वासको मत पाएका छन् । वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुई तिहाईको समर्थन पाएका छन् । कांग्रेस भने विपक्षमा बनेको छ । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो ।

राजपाको समर्थनमा मुख्यमन्त्री बनेका फोरम संसदीय दलका नेता लालबाबु राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए । बैठकमा विपक्षमा रहेका दुई दल एमाले र माओवादी केन्द्रले पनि राउतलाई समर्थन गरेको छन् ।

एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर, विश्वासको मत दिने घोषणा गरे । एमाले प्रदेशका जनताको विपक्षमा हुन नसक्ने भन्दै मण्डलले भने, ‘अहिले स्थिर सरकार चाहिएको छ । मुख्यमन्त्रीलाई हाम्रो विश्वासको मत छ । सत्ता पक्षबाट कस्तो व्यवहार हुन्छ हेर्छौं ।’

माओवादी संसदीय दलका नेता भारतकुमार साहले पनि सररकारलाई समर्थन गर्ने घोषणा गरेका छन् । नेपाल संघीय समाजवादी र एक स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन् ।

कांग्रेसले भने समर्थन गरेन । संसदीय दलका नेता रामसरोज यादवले जिम्मेवार प्रतिपक्षको भूमिका रहने बताए । उनले भने, ‘प्रतिपक्ष नभए सरकार तानाशाही हुन्छ ।’

सरकारको पक्षमा ८२ मत परेको छ भने विपक्षमा १८ मत खसेको छ । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ, जुन फोरम र राजपाकै छ ।

Leave a Reply

Your email address will not be published.