थारु मोडलको रुपमा स्थापित हुँदै प्रविना दहित

अविनाश चौधरी/धनगढी।

एक वर्ष अगाडि कला क्षेत्रमा प्रवेश गर्दा प्रविना दहितलाई लागेको थिएन, यति चाँडै सफलताको शिखर चुमिएला। तर, उनको मनको द्विविधा हटेको छ। छोटो अवधिमै उनी अकल्पनीय उपलब्धी हात पार्न सफल भएकी छन्।

गतवर्षदेखि मोडलिङ थालेकी बर्दिया, धधवार–६ खैरेनीकी प्रविना अहिले पश्चिम तराईमा एक सफल मोडलको रुपमा परिचित छन्। थारु समुदायबाट चर्चित मोडलको रुपमा उनको चर्चा चुलिएको छ। जसले गर्दा प्रविनालाई मोडलिङका लागि प्रस्ताव पनि निकै आउन थालेका छन्।

‘म मोडलिङमा लागेको जम्मा एक वर्ष भयो’, उनी भन्छिन्- ‘अहिले म्युजिक भिडियोमा खेल्नका लागि थुप्रै प्रस्ताव आउन थालेका छन्। तर, आफूलाई मन पर्ने र समय, परिवेश सुहाउँदो म्युजिक भिडियो छनोट गरेर मात्रै मोडलिङ गरिरहेकी छु।’

रङ्ग क्षेत्रमा प्रविनाको ‘डेब्यू’ भने गतवर्ष भएको होइन। नौ वर्षको उमेरमा नै उनले थारु भाषाको चलचित्र ‘कमैया’ मा बालकलाकारको भूमिका निर्वाह गरेकी थिइन्। पारिवारिक वातावरण नै कला क्षेत्रलाई माया गर्ने रहेकाले यो क्षेत्रमा लाग्न सजिलो भएको र घरबाट राम्रो साथ मिलेको प्रविनाले बताइन्।

‘मेरो परिवारका अधिकांश सदस्य कला क्षेत्रमै लागेकाले मलाई नौ वर्षको उमेरमा बालकलाकार बन्न र अहिले मोडलिङ गर्न सहयोग मिलेको हो,’ उनले भनिन्, ‘सबैको साथ र मेरो मिहिनेतले स्थापित भइरहेकी छु।’

चार वटा थारु र तीन वटा नेपाली भाषाको म्युजिक भिडियोमा मोडलिङ गरेकी प्रविनाले पछिल्लो समय ‘बर्दिया सुन्दरी’ नामक नेपाली चलचित्रमा नायिकाको भूमिका निर्वाह गरेकी छन्। उक्त फिल्म अर्को वर्षको  ‘किम्फ फिल्म फेष्टिभल’मा रिलिजि गर्ने दहितले बताइन्।

म्युजिक भिडियोबाट रङ्गकर्मीको ‘करियर’ सुरुवात गरेकी प्रविनाले यसैवर्ष ‘पहुँच रियालिटी शो’ मा प्रथम रनरअपको उपाधि जितेकी थिइन्। आफूले अहिलेसम्म खेलेका म्युजिक भिडियोलाई दर्शकले धेरै रुचाएको र रियालिटी शोमा मिलेको सफलताले थप ऊर्जा प्राप्त भएको उनले बताइन्।

स्नातक तेस्रो वर्षमा अध्ययनरत प्रविनाले अध्ययन र मोडलिङलाई सँगै अगाडि बढाइरहेकी छन्। आफूलाई थारु मोडलको रुपमा चिनाउन चाहेको उल्लेख गर्दै उनले थपिन्, ‘अहिले मेरो पहिलो प्राथमिकता अध्ययन नै हो। तर, खाली समयलाई मोडलिङमा सदुपयोग गरिरहेकी छु।’

कला रुचिको विषय रहेको र थारु समुदायको कला संस्कृतिलाई आफ्नो ठाउँबाट चिनाउन चाहेको प्रविनाको भनाइ छ।

Leave a Reply

Your email address will not be published.