तराई मधेसमा एमालेमुक्त अभियान चलाऔं : सुरेन्द्र चौधरी

नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले तराई मधेशमुक्त अभियान चलाउनुपर्ने बताएका छन्। टुडिखेलमा माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले सबैले एमालेमुक्त अभियानको शपथ खानुपर्ने बताए।

‘एमालेमुक्त तराई मधेस अभियान नचलाएसम्म हामीले अधिकार पाउन सक्दैनौं,’ उनले भने, ‘सबै दललाई माफ गर्नुस् तर एमालेबाट मुक्त हुनुस्। एमालेमुक्त अभियानको शपथ खानुस्।’

उनले धर्तिपुत्र थारुलाई विखण्डनकारी भनेको भन्दै आक्रोश पोखे। ‘बेइजिङ र दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने नेताहरुले थारुलाई विखण्डनकारीको भाषा सिकाउन मिल्छ? झापामा पानी पर्दा डडेलधुरामा पानी पर्दा लुम्बिनीमा छाता ओढिराछन्। कहाँको आन्दोलन हो त्यो? हो आज म तेही शपथ खान आएको छु,’ उनले भने।

उनले झापा र डडेलधुराबाट बसेर उखान टुक्काले देश नचल्ने भन्दै ती उखान टुक्काले देश चलाउनेहरुबाट थरुहट मुक्त गर्छु भनेर शपथ खान उनले थारुहरुलाई आग्रह गरेका थिए।

‘म मेरो भूमि लिइ छाड्छु। मेरो अधिकार स्थापना गरिछाड्छु। यही शपथ खाएर आज म मञ्चमा उपस्थित भएको छु,’ उनले भने, ‘टीकापुरका साथीहरु दुई वर्षदेखि जेलमा छन्। निर्दोष थारुहरु जेलमा छन्। यही न्यायको लडाइँको लागि मैले पशथ खाएको छु।’

उनले यो कुनै जाति विशेषको लडाइँ नभएको भन्दै थारु स्वाभिमान मञ्च घोषणा गर्न थारु अगुवा नेताहरुलाई आग्रह गरे। त्यसको पछि हिँड्न आफू हरदम तयार रहेको उनले बताए।

उनले देशभक्ति थारुहरुको राष्ट्रभक्ति संस्कारमा कसैले प्रश्न चिन्ह उठाउन नमिल्ने बताए। ‘देशभक्ति भनेको थाहा छ के हो? भक्ति भनेको पूजा हो। भक्ति भनेको समर्पन हो। ती कुरा राजकीय सत्ताको दम्भले सेना र प्रहरीको बन्दुकले आउँदैन,’ उनले भने।

Leave a Reply

Your email address will not be published.