ओरालिँदै थरुहट राजनीति [विश्लेषण]

 कृष्णराज सर्वहारी।अन्नपूर्ण टुडे।

थारूहरूको नयाँ वर्ष र मिलनको चाड माघी नजिकिँदै गर्दा थरूहट तराई पार्टी नेपालमा फुट देखिएको छ । पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा चौधरी सत्गौवाले १० पुसमा थरूहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) नामक अर्को पार्टी गठन गरेको घोषणा गरिन् । अध्यक्ष भानुराम थारू समूहले उनलाई सांसद पदबाट फिर्ता बोलाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको विज्ञप्ति जारी गर्‍याे ।

स्थापना भएको चार वर्षपछि पार्टीमा फुट देखिए पनि वास्तवमा यसको भ्रुणमै त्यसको बिजारोपण भइसकेको थियो । थरूहट तराई पार्टीका संस्थापक लक्ष्मण थारू पार्टी दर्ता नहुँदै मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) छिरेका थिए । केन्द्रीय सदस्यसमेत रहेका उनले ४ पुसमा विज्ञप्तिमार्फत् फोरम लोकतान्त्रिकको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरे । टीकापुर घटनामा संलग्नता अभियोगमा १६ महिनादेखि जेलजीवन बिताउँदै आएका उनी हाल धनगढी कारागारमा छन् ।

थरूहटमा नयाँ पार्टी
फागुन ०६५ मा १३ र वैशाख ०६६ मा १२ दिने थरूहट आन्दोलनलगत्तै थरूहट तराई पार्टी नेपाल गठन गर्नुपर्ने महशुस आन्दोलनका अगुवाहरूलाई भयो । आन्दोलनको समीक्षा गर्न ३०–३१ जेठ ०६६ मा थरूहट संयुक्त संघर्ष समिति र आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चाको संयुक्त आयोजनामा वीरगन्जमा भएको भेलाले ६ बुँदे घोषणापत्र जारी गरेको थियो ।

घोषणापत्रमा स्थानीय सत्ता बहिष्कार गर्दै ‘जनताको थरूहट सरकार’को अभ्यास गर्ने प्रस्तावदेखि संघर्ष समितिलाई अझ सशक्त बनाउन वडा स्तरसम्म संगठन विस्तार गर्ने उल्लेख थियो । साथै, भावी कार्यनीतिक योजनाअन्तर्गत थारूलगायत सबै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग, अल्पसंख्यक, उत्पीडित, जातजाति, क्षेत्र आदिलाई समेटेर नयाँ, बृहत् र सबल राष्ट्रिय राजनीतिक शक्ति स्थापना गर्ने संकल्प पारित गरिएको थियो ।

राष्ट्रिय राजनीतिक शक्ति स्थापना गर्ने योजनाअनुरूप नयाँ सम्भावित पार्टीका लागि विधान मस्यौदा समितिसमेत बनाइएको थियो । उक्त समितिका एक सदस्य हाल फोरम लोकतान्त्रिकका प्रमुख सचेतक तथा सांसद योगेन्द्र चौधरीका अनुसार त्यसबेला थरूहट संयुक्त संघर्ष समितिका दुई घटक थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारू थिए भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र गच्छदार । संविधान सभामा ती घटकका क्रमशः २ र १ जना सभासद् थिए ।

त्यसैले, ती दुईले एकैपटक नयाँ पार्टी खोल्ने साहस नगर्दा नयाँ पार्टी जन्मिन सकेन । गच्छदारले सबै घटकलाई लोकतान्त्रिक समाजवादी दलमा आवद्ध हुन आह्वान गरेकामा अरूले स्वीकारेनन् ।विभिन्न उतारचढावपछि नेपालगन्जमा आमसभा गरी २७ साउन ०६८ मा थरूहट तराई पार्टी नेपालको घोषणा भयो । त्यसको करिब डेढ वर्षपछि ४ पुस ०६९ मा मात्र निर्वाचन आयोगमा दर्ता भयो । पार्टी दर्ता नहुँदै १८ असोज ०६९ मा पार्टीका संस्थापक अध्यक्ष लक्ष्मण थारूसहित अर्का नेता योगेन्द्र चौधरी फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । यस घटनाले थरूहट कार्यकर्तामा ठूलै खैलाबैला मच्चाएको थियो ।

लक्ष्मणकै बोलवाला
थरूहट तराई पार्टी नेपाल स्थापना गरी गच्छदारको बाहुली समातेर हिँडे पनि थरूहटको राजनीति लक्ष्मण थारूकै वरिपरि केन्द्रित देखिन्छ । १० वर्षे द्वन्द्वका क्रममा माओवादीले दाङदेखि पश्चिम कञ्चनपुरसम्म तराईका पा“च जिल्लालाई थारूवान प्रदेश नामाकरण गरी खाका ल्याएपछि थरूहट/थारूवान पहिचानको मुद्दा सतहमा आएको हो । ६२/६३ को आन्दोलनले यसलाई थप उचाइमा पुर्‍यायाे ।

तत्कालीन नेकपा माओवादीका सेती/महाकाली प्रमुख लेखराज भट्टलगायतले कैलाली, कञ्चनपुरलाई थरूहटबाट हटाई सेती/ महाकालीमा गाभ्नुपर्ने धारणा राख्न थालेपछि थरूहटको मुद्दा सुनुवाइ नगरेको आरोप लगाउँदै तत्कालीन कैलाली इन्चार्ज लक्ष्मण थारूले फागुन ०६३ मा माओवादीबाट विद्रोह गरी संयुक्त थारू राष्ट्रिय मोर्चा नेपाल गठन गरेका थिए ।

२७ जेठ ०६५ मा दाङमा ‘संयुक्त थारू राष्ट्रिय मोर्चा’को पहिलो राष्ट्रिय सम्मेलन गरी मोर्चालाई ‘थरूहट स्वायत्त राज्य परिषद्’ नामकरण गरिएको थियो, त्यसको संयोजक पनि लक्ष्मण नै थिए । २१ माघ ०६५ को मन्त्रिपरिषद् निर्णयले ‘तराई’लाई ‘मधेश’ नामकरण गरेपछि लक्ष्मण थारूकै अगुवाईमा विभिन्न दल तथा थारू संघ÷संस्थाको पहलमा गठित थरूहट संयुक्त संघर्ष समितिले ‘थरूहट जोगाऔं’ अभियानलाई आन्दोलनको रूप दियो, जसलाई पछि थारू कल्याणकारी सभाले पनि सघाएको थियो ।

१९ फागुन ०६५ देखि अनिश्चित रूपमा सम्पूर्ण तराई बन्द थाल्यो, जसको असर पूर्वमा चितवनदेखि पश्चिममा कञ्चनपुरसम्म परेको थियो । उक्त क्षेत्र १३ दिनसम्म ठप्प रह्यो । लक्ष्मण थारू यस आन्दोलनको अगुवाइ गरेका कारण चर्चामा रहे, जसले गर्दा थरूहट तराई पार्टी गठन भएपछि उनलाई निर्विकल्प अध्यक्ष चुनिएको थियो ।

थरूहट तराई पार्टी नेपालको विधानमा आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग, अल्पसंख्यक, उत्पीडित, जातजाति, वर्ग, क्षेत्र आदिलाई समेट्ने भनिएको छ । तर, त्यहाँ बाहुन/क्षत्रीलाई भने अघोषित रूपमा निषेध गरिएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता भएको जानकारी गराउन २१ पुस ०६९ मा ललितपुरको सानेपामा गरिएको भेलामा उक्त पार्टीका वरिष्ठ नेता गोपाल दहितले बाहुन/क्षत्रीलाई पार्टीको मुख्य पद दिन नसकिने धारणा राखेका थिए । अहिले पनि पार्टीको ४९ सदस्यीय केन्द्रीय समितिमा सात जना मात्र गैरथारू छन् । यसले पार्टीलाई संकुचनमा राखिएको देखाउँछ ।

लक्ष्मणको थरूहट पार्टी बर्हिगमनपछि फोरम लोकतान्त्रिकमा छिर्दा उनको राजनीतिक पतन भएको आकलन गरिएको थियो । संविधानसभाको दोस्रो चुनावमा फोरम लोकतान्त्रिकबाट उनले गृह जिल्ला कैलालीको क्षेत्र नम्बर ६ बाट पराजय बेहोरे । तर, फोरमले कैलाली १ तथा ३ बाट क्रमशः जनकराज चौधरी तथा रामजनम चौधरीलाई प्रत्यक्षमा विजयी गरायो । लक्ष्मणले थरूहट पार्टीको साख जोगाएकाले यो विजय सम्भव भएको थियो, जसका कारण उनी गच्छदारको मन जित्न चाँडै सफल भए ।

अन्ततः राजनीतिक समिति सदस्यसमेत चयन गरिए । टीकापुर आन्दोलनमा मुछिएका कारण जेल परे पनि २३ वैशाख ०७३ मा विराटनगरमा भएको पार्टीको पहिलो अधिवेशनले उनलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दियो । अन्ततः ४ पुसमा पार्टी परित्याग गरी स्वतन्त्र भएको अभिव्यक्ति दिएका छन् ।

कैलाली कारागारबाट हस्तलिखित विज्ञप्तिमा उनले आफू राजनीतिबाट नभाग्ने तर हाल कुनै पार्टीमा प्रवेश गर्ने सोच नबनाएको बताउ“दै जेल बसाई र व्यक्तिगत स्वतन्त्रताका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । अर्को प्रसंगमा भने उनले गच्छदारजस्ता राजनीतिक नेतृत्व जन्माउन थारू समाजबाट कैयौं वर्ष पर्खिनुपर्ने बताउँदै प्रशंसा गरेका छन् ।

तर, उनी एउटा संकुचित घेरामा कैद हुँदै गएकाले पनि पार्टी परित्याग गरेको बताएका छन् । पार्टीको नामप्रति पनि उनी असन्तुष्ट छन् । वैशाखको महाधिवेशनमा ८० प्रतिनिधिले पार्टीको नामबाट मधेशी शब्द हटाएर लोकतान्त्रिक फोरम बनाउने पक्षमा मतदान गरे । तर, पार्टीको नाम परिवर्तन भएन । उनले भनेका छन्, ‘फोरम लोकतान्त्रिक छिर्दा पार्टीको नाम परिवर्तन गरी कुनै जात, समुदाय र क्षेत्रको गन्ध नआउने राष्ट्रिय पार्टी महाधिवेशनबाट बनाउने थियो ।

दोस्रो संविधानसभा निर्वाचनमा लाज मानी–मानी मधेशी पार्टीबाट भोट माग्यौं । तर, अब फेरि मधेशी पार्टीकै नाममा भोट माग्न सकिँदैन ।’ लक्ष्मणको मोह पुनः थरूहट पार्टीप्रति देखिन थालेको छ । थारू नागरिक समाज, कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन्, ‘माघीको अवसरले थारू नेताहरूलाई ऊर्जा दिनुपर्ने हो तर गंगाको बहिर्गमन अनि लक्ष्मणको पार्टी परित्यागले थरूहटको राजनीति ओरालो लागेको देखिन्छ । फुटको प्रत्यक्ष असर आगामी चुनावमा देखिनेछ ।’

बीच–बीचमा पार्टी परिवर्तन भएर मन्त्री पदको भागबन्डा नमिल्दा पनि थरूहट पार्टीमा फुट भएको संयोजक चौधरीको आकलन छ । यसको खुलासा सांसद चौधरी स्वयंले गरेकी छन् । पार्टीलाई स्पष्टीकरण दिएको पत्रमा उनले अर्का सांसद गोपाल दहितलाई इंगित गर्दै उल्लेख गरेकी छन्, ‘जब–जब सरकार परिवर्तन हुन्थ्यो, तब–तब मन्त्री बन्न नपाएकामा मलाई नै बाधकको रूपमा हेर्ने गरिन्थ्यो ।’ विधायन समितिको सभापतिका रूपमा गंगाले राज्यमन्त्रीसरह सुविधा उपभोग गरिरहेकामा उनी मन्त्रीको दौडमा लाग्नाले पार्टीमा फुट आएको दाबी थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीको छ ।

थरूहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारू भने उपाध्यक्ष चौधरीले अर्कै पार्टी गठन गरे पनि कुनै असर नपर्ने बताउ“छन् । भन्छन्, ‘गंगाजीले गृहजिल्ला दाङको सिसिहनिया २ बाट वडा सदस्य जितेर देखाऊन्, म राजनीतिबाटै सन्यास लिनेछु ।’ थरूहट पार्टीलाई एमाले, नयाँशक्ति पार्टीलगायतले फुटाएको आरोप उनको छ । ‘सभामुखले चौधरीको नयाँ दल दर्ताबारे प्रक्रिया बढाउन आनाकानी गरेपछि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका मुक्ति प्रधानले दबाब दिएको थाहा हुन आएको छ । यसले पार्टी फुटमा चलखेल भएको देखिन्छ,’ उनी भन्छन् ।

पूर्वी मधेशमा जसरी महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, शरद्सिंह भण्डारीलगायत नेता विभिन्न पार्टी खोलेर क्षेत्रीय शक्तिलाई बलियो बनाउन अभ्यासरत छन्, त्यसरी नै पश्चिममा आफ्नो पकड राख्न उनीहरूले भरमग्दुर कोशिस गरेका हुन् । गच्छदारले लक्ष्मण थारूको साथ लिई केही हदसम्म सफलता पनि पाएका थिए । तर, यसबीचमा लक्ष्मणले उनको साथ छाडेका छन् । ७ भदौ ०७२ को टीकापुर काण्डपछि थरूहट आन्दोलन पूरै सेलाएको देखिएको छ ।

लेखीको आफ्नै अभियान
थरूहट आन्दोलनका एक अभियन्ता राजकुमार लेखी पनि सानो झुण्ड लिएर आफ्नै नेतृत्वको पार्टी संगठनमा सक्रिय छन् । उनले सुरुमा नेपाल नागरिक पार्टी गठन गरे पनि यसलाई निर्वाचन आयोगमा दर्ता गरिएन । सोही नामबाट अर्कैले आयोगमा पार्टी दर्ता गरेपछि लेखीले राष्ट्रिय नेपाल नागरिक पार्टी नामकरण गरे । यद्यपि, त्यो पनि मोर्चाका रूपमा रह्यो, दर्ता गरिएन । २७ फागुन ०७२ मा लेखीले आफ्नै अध्यक्षतामा नागरिक समाजवादी नामक अर्को दल गठन गरी निर्वाचन आयोगमा दर्तासमेत गरेका छन् । नाम चलेका कोही नेतालाई समेट्न नसकेका उनका कतिपय केन्द्रीय सदस्यलाई नै आफू त्यस पार्टीमा रहेको पत्तो छैन ।

थारू कल्याणकारिणी सभाका निवर्तमान अध्यक्ष चन्द्रनारायण चौधरीलाई लेखीले आफूले गठन गरेको पहिलेको पार्टीमा केन्द्रीय सदस्य बनाएका थिए । त्यसबेला लेखी सभाको सचिवालय सदस्य थिए । सभासँग सल्लाह नै नगरी थरूहट संयुक्त संघर्ष समितिका नाममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतसँग २९ असार ०६८ मा आफूखुशी वार्ता गरी समझदारी गरेपछि सभाले उनीसँग स्पष्टीकरणसमेत लिएको थियो । जसका कारण लेखी र चौधरीबीच तिक्तता बढेर पार्टी गतिविधि शून्यमा झरेको थियो ।

चन्द्रनारायण हाल एमाओवादीमा छिरेका छन् । लेखी अहिले पनि सभाको सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख छन् । केही महिनाअघि उनले गृहजिल्ला सप्तरीमा सभाको प्रशिक्षणको बहानामा नागरिक समाजवादी पार्टीका कार्यकर्ताको भीड बटुलेपछि सभाको सप्तरी समितिले कार्यक्रम नै बहिष्कार गरेको थियो । सभाको आड लिई राजनीतिक खुड्किलो उक्लिने कोशिस गरिरहेका लेखीको सानो मण्डलीले फड्को मार्ने देखिन्न । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) को अगुवाइ गरिरहेकी रुक्मिणी थारूले पनि संगठन विस्तार गर्न सकेकी छैनन् । ६ सय एकको जम्बो टोलीमा दुवै पटक समानुपातिक सांसद भएर भाग्यमानी ठहरिएकी उनलाई अबको निर्वाचनले बिनासंगठन साथ दिने अवस्था छैन ।

मिल्लान् त ?
कुनै बेला मधेशीको ‘म’समेत सुन्न नचाहने थरूहटका नेताहरूको अहिले मधेशी नेताहरूसँग राम्रै सम्बन्ध छ । उनीहरू पनि पश्चिम मधेशमा क्षेत्रीय पार्टीको राम्रो भविष्यको कामना गर्छन् । त्यसैले उनीहरूकै जोडबलमा प्रदेश ५ पहाडसँग नजोडिने संशोधन संसद्मा दर्ता छ । खाँचो छ, अहिले वृहत् थरूहट तराई पार्टीको । तर, ती जुट्न छाडेर फुट्न तत्पर छन् ।

जस्तो : टुँडीखेलमा १ माघमा हुने माघी महोत्सव पनि दुई चिरामा विभक्त छ । एउटा समूहको अगुवाइ सभाले गरिरहेको छ भने अर्को समूहको थारू विद्यार्थी समाजले । तर, दुवै कार्यक्रमको सिरानी टुँडीखेलमा एकै ठाउँमा छ । यस्तै, थरूहटकेन्द्रित पार्टीको सिरानी त एउटै ठाउँमा छ तर नेताहरू ओल्टेकोल्टे छन् ।

माघीले मिलनको सन्देश दिन छाडेर सांस्कृतिक कार्यक्रम नै दुई ठाउँमा हुने भएपछि स–सानो निहुँमा थरूहटकेन्द्रित पार्टीका नेतामा चिरा देखिनु अन्यथा देखिन्न । थरूहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद गोपाल दहित भन्छन्, ‘केही लोभीपापीले हाम्रो पार्टी फुटाएका छन् । तर, चाँडै मिल्नेछौं ।’

Leave a Reply

Your email address will not be published.