सांसद दहितको प्रश्न- देशको नदीनाला बेच्नेहरु कसरी राष्ट्रवादी?

जितनारायण थनेत/नवलपरासी।

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितले आदिवासी थारु, मधेसी, मुस्लिमलाई जातिवादी र बिखण्डनकारी देख्ने शासक र नेपाली मिडियाको दृष्टि फेरिनुपर्ने बताएका छन्। थारु कल्याणकारीणी सभा निकट थारु उत्थान मजदुर संगठनद्वारा आयोजित माघी साँस्कृतिक कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘देशका नदीनाला भारतलाई बेच्नेहरुचाहिँ राष्ट्रवादी हुने तर यहाँका अधिकारविहीन थारु, मगर, गुरुङलगायतकाले अधिकार र पहिचान माग्दा बिखण्डनकारी देख्ने दृष्टि नै बिखण्डनकारी दृष्टि हो।’

उनले माघीलाई सम्पूर्ण थारुले मुक्ति दिवसका रुपमा मान्नुपर्ने बताए। भारतसँग लडेर सीमाना जोगाउने मधेसी, राष्ट्र निर्माणमा रगत पसिना बगाएका आदिवासी जनजाति कहिल्यै राष्ट्र विखण्डनकारी हुन नसक्ने तर्क उनको थियो।

nawalparasi-maghi-04कार्यक्रमको बिशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव आङकाजी शेर्पाले कैलाली घटनाको बास्तविक रहस्य सामाजिक सञ्जालमार्फत् खुलासा गर्दा शासक र सरकारले आफूलाई १६ दिन जेलमा राखेको आरोप लगाए।

थारुहरुकै पक्षमा वकालत गर्दा पत्रकारसँग झडप परेको र थारुकै आन्दोलनमा भएको कैलाली घटनामा थारुहरुलाई गलत आक्षेप लगाइ उनीहरुमाथि भएको अन्यायविरुद्ध सत्यता उजागर गर्दा जेल जानुपरेको उनको भनाई थियो।

उनले थारुहरुसँग आफ्नो घनिष्ठ र निकट सम्बन्ध रहेको बताए। पृथ्बीनारायण शाहले नेपाल सबै जातको फूलबारी भनेपनि सबै फूलहरुले फूल्ने अवसर नपाएको र सबै जातका फूलहरु समान ढंगले फूल्न पाउने अवसर पहिचानसहितको संघीयताले मात्र प्राप्त हुने शेर्पाको भनाई थियो।

nawalparasi-maghi-02थारु कल्याणकारीणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतो, आदिवासी जनजाति महासंघ नवलपरासीका उपाध्यक्ष रमिला भुजेल, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य बिना थनेतलगायतले मन्तब्य दिएका थिए।

थारुहरुको पर्व माघीको अवसरमा उक्त साँस्कृतिक कार्यक्रम तथा खबरदारी सभा गरिएको थियो। कार्यक्रममा चितवनदेखि कैलालीसम्मका थारु कलाकारहरुको जमघट थियो। कलाकारहरुले थारुको मौलिक साँस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा मौलिक खाजा चिचर र माछा पनि राखिएको थियो।

nawalparasi-maghi-01देवचुली १ नवलपरासीस्थित नेपाल माबिको प्राङ्गणमा भएको माघी साँस्कृतिक तथा खबरदारी सभा थारु उत्थान मजदुर संगठन, चौधरी उद्योग ग्राम समितिका संयोजक इन्द्रबहादुर महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.