स्थानीय निकायको निर्वाचन गर्ने सहमति, चैत अन्तिम वा वैशाखको पहिलो साता गर्ने तयारी

संविधानको कार्यान्वनयका लागि सबै राजनीतिक दल स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको बैठकमा सहभागी सबै राजनीतिक दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का उपाध्यक्ष वामदेव गौतम र भीम रावल, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष दाहाल र राप्रपाका अध्यक्ष कमल थापा सहभागी उक्त बैठकमा सबै राजनीतिक दलले निर्वाचन जान तयार रहेको अभिव्यक्ति दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउन ढिलो हुने वा कानुन अपुग भएका अवस्थामा पुरानै संरचनाअनुसार निर्वाचनमा जान एमाले तयार भएको उहाँले जानकारी दिए। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री हरहालतमा निर्वाचनमा जान सहमति बनाउने पक्षमा रहनुभएको र सोही उद्देश्यले बोलाइएको आजको बैठकमा स्थानीय निकायको निर्वाचन गराउने विषयमा सबै राजनीतिक दलका नेताले समर्थन जनाउनुभएको बताए।

सरकारले स्थानीय निकायको निर्वाचन चैतको अन्तिम साता वा वैशाखको पहिलो साता गर्ने तयारी गरेको छ । त्यस विषयमा मधेसी मोर्चासँग भोलि छलफल गरेर अगाडि बढ्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पुनःसंरचना आयोगले ल्याएको प्रतिवेदनलाई सम्मान गर्ने र निर्वाचनमा जाने भन्ने विषयमा एमालेको विमति नभएको आफूहरुले बताएको जानकारी दिए। उनले भने, ‘स्थानीय निकाय वा अन्य निकायको निर्वाचन सबैमा जान एमाले तम्तयार छ।’

स्थानीय निकायको निर्वाचनमा जानुपर्छ भन्ने विषयमा सबै राजनीतिक दल सहमत भएको बैठकमा सहभागी कांग्रेस नेता डा रामशरण महतले जानकारी दिए। स्थानीय तह वा निकाय जुनसुकै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको उनको भनाइ थियो। रासस

Leave a Reply

Your email address will not be published.