राजधानीमा माघी महोत्सव मनाइने

राजधानीमा बस्ने थारु युवाहरुले यसवर्ष पनि माघी महोत्सव मनाउने भएको छ। थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले १ सय १ सदस्यीय ‘माघी महोत्सव-२०७३ मूल आयोजक समिति’ गठन गरेको छ। जसमा २५ भन्दा बढी संघसंस्था आबद्ध छन्। बैठकले महोत्सव भब्यसभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति पनि बनाएको छ।

बैठकले मूल आयोजक समितिको संयोजकमा थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद चौधरीलाई जिम्मेवारी दिएको छ। सहसंयोजक बर्दियाली थारु विकास मञ्च काठमाडौंका अध्यक्ष सीताराम चौधरीलाई तोकेको छ।

त्यस्तै अर्थ समितिमा थारु युवा परिवारका शिव चौधरी, प्रचार प्रसार समितिमा थारुवान डटकमका मदन चौधरी, मञ्च व्यवस्थापन समितिमा निसराउ बचत समूहका बलराम चौधरी, साउन्ड व्यवस्थापन समितिमा बर्दियाली थारु विकास मञ्चका सीताराम चौधरी, फुड/स्टल व्यवस्थापन समितिमा एमपी क्रियसनका विनय चौधरीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै संस्कृति समितिमा चम्पन सांस्कृतिक समूहका दीपक चौधरी, झाँकी र्याीली व्यवस्थापन समितिमा बर्दियाली थारु विकास मञ्चका दिनेश चौधरी, स्वयंसेवक समितिमा थारु विद्यार्थी समाजका विमल चौधरी, औषधि उपचार समितिमा मैगर थारु समाजका एन्जल कुस्मी र अतिथि सत्कार समितिमा थारु विद्यार्थी समाजका गीता चौधरीलाई जिम्मेवारी दिइएको छ।

बैठकले पुस २९, १ र २ गते गरी तीन दिन माघी महोत्सव मनाउने निर्णय गरेको संयोजक चन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार थारु समुदायप्रति योगदान दिने व्यक्तिहरुलाई महोत्सवमा नगदसहित सम्मान पनि गरिनेछ।

फेरि दुई ठाउँमा माघी?
दुई दुई स्थानमा माघी महोत्सव मनाएपछि अघिल्लो वर्ष ब्यापक विरोध भएको थियो। यस वर्षपछि किन दुई स्थानमा भन्ने प्रश्नमा संयोजक चौधरीले भने- ‘थारु कल्याणकारिणी सभा उपत्यका समितिले हाम्रो एजेन्डा स्वीकार नगरेपछि हामी आफ्नै हिसाबले महोत्सव मनाउने निर्णय गरेका हौं।’ उनले अघिल्लो वर्ष चार दिनको तयारीमा त्यत्रो भब्यतरिकाले माघी महोत्सव मनाएको स्मरण गर्दै अहिले त दुई महिना बाँकी रहेको र यसवर्ष झनै राम्रो तरिकाले महोत्सवको आयोजना गर्ने बताए।

उनले थारु कल्याणकारिणी सभासँग आफूहरुले केही एजेन्डा प्रस्तुत गरेको बताए। जसमा महोत्सवमा आएको रकम दुरुपयोग भइरहेको भन्दै अलग्गै संयुक्त खाता खोल्ने, माघी महोत्सव थारु कल्याणकारिणी सभाको केन्द्रीय कमिटीले आयोजना गर्ने, मूल आयोजक समितिमा धेरै संघसंस्था आबद्ध रहेकाले संयोजक रोटेशन सिस्टममा लागू गर्नुपर्ने एजेन्डा प्रस्तुत गरेका छन्।

यी एजेन्डामा थारु कल्याणकारिणी सभाको उपत्यका समिति र केन्द्रीय कमिटी दुवै गम्भीर नरहेको उनले बताए।

अघिल्लो शनिबार नाइटिङ्गेल स्कुलमा बसेको संयुक्त बैठक (दुवै पक्षबीच) बिना कुनै निष्कर्ष सकिएको थियो। बैठकमा पुरानै कुरा राखेर अर्को मिटिङबाट ‘मिल्ने निर्णय गर्ने’ भनेर टुंगिएको थियो। दुई दिन पहिले सोही स्थानमा बसेको बैठकमा युवा टोली सहभागी भएनन्। पुरानै कुरा दोहोर्या’एर बखेडा झिक्ने भन्दै युवाहरु सहभागी नभएको बताइएको छ।

बैठकमा नेपाली कांग्रेसका सांसद् एवं नाइटिङ्गेल फाउन्डेशनका फाउन्डर अध्यक्ष तेजुलाल चौधरीले सरकारको पैसाकै कारण कुरा नमिलेको हो भने त्यसलाई भवन बनाउने प्रायोजनमा राखेर संयुक्तरुपमा माघी मनाउन प्रस्ताव दिएका थिए। उक्त प्रस्तावमा आफूहरु राजी भए पनि उपत्यका समितिले आलटाल गरेको अध्यक्ष चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.