दिल बहादुर चौधरी।
थरुहट आन्दोलन (पहिचानको आन्दोलन) भइरहेको अहिले ठीक १० वर्ष पुग्दैछ। आज भन्दा ठीक एक दशक अगाडि ०६३ साल चैत १२ गते सेती समाचार दैनिक र चैत २५ गते थारु भाषाको पत्रिका पहुरा दैनिकमा ‘दासताबिरुद्धको महासंंग्राम’ शीर्षकमा यो पंक्तिकारको लेख छापिएको थियो। त्यो महासंग्राम अर्थात महाभारत युद्ध अहिले पनि जारी छ। कहिले अन्त्य हुने हो, थाहा छैन। तर यसको अन्त्य चाँडै हुन जरुरी छ। यदि अन्त्य चाँडै भएन भने देशको लागि राम्रो हुनचाहिं सक्तैन।
नेपालको संविधान २०७२ घोषणा हुनु अगावै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेका थिए, ‘अहिले हामी पाँच गाउँ मागिरहेका छौं, महाभारत युद्धमा पनि पाण्डवले पाँच गाउँ मागेका थिए’। साँच्चै भन्ने हो भने नेपालमा बिल्कुल त्यही भैरहेको छ। पूर्वको झापा, मोरङ, सुनसरी, पश्चिमको कैलाली र कञ्चनुपरको मागले देशमा महाभारत युद्ध चलिरहेको छ। यी पाँच जिल्लाकै कारण १००औं नागरिकको ज्यान गइसकेको छ। धेरै मधेशी, थारु, मुश्लिमले ज्यान गुमाइसके। जसरी पाण्डवहरुलाई मार्न छलकपट र लाहा घरको प्रयोग गरियो, जुवापासाको प्रयोग गरियो, त्यसरी नै नेपालमा थारु, मधेशी, आदिबासी जनजातिहरुलाई मार्न दलीय ह्वीप, कपटपूर्ण नीति प्रयोग गरियो। दलीय ह्वीप र ठूला दलका ठूला नेताहरुको मिलेमतो र कपटी नीतिले नेपालमा थारु, मधेसी, आदिवासी जनजाति, दलितहरुको घाँटी निमोठ्ने काम भइरहेको छ। त्यसमाथि पर्दा लगाउन संघीय आयोग, भाषा आयोगको शकुनी चाल पनि जारी छ। आफ्नो प्रतिकुल हुँदा आयोगले बनाएको पुनर्संचना पनि अमान्य हुने, अनुकुल हुँदाचाहिं आयोगमार्फत पुनर्संरचना गरिने, भाषाको टुङ्गो लगाउने शकुनीहरुको छलकपट अझै जारी छ।
जसरी दुर्योधन, दुशासन, शकुनीेहरुको माया, मोह, वचन, बन्धनमा बाँधिएर भीष्म पितामह, गुरु द्रोणाचार्यहरु अन्याय र अत्याचारको पक्षमा हतियार उठाउन बाध्य भए, त्यसरी नै भीम रावल, शेरबहादुर देउवा, लेखराज भट्ट, केपी ओली, झलनाथ खनाल, बिष्णु पौडेलको माया, मोह बन्धनमा परेर सिङ्गो एमाले, कांग्रेस र माओवादी केन्द्रले थारु, मधेसी, आदिवासी जनजाति, मुश्लिम, दलितका विरुद्धमा हतियार उठाएका छन्। युद्ध जारी छ।
आँखा चिम्म गरेर, ध्यानपूर्वक हेर्ने हो भने, सुक्ष्मदर्शक यन्त्रले गहिरिएर हेर्ने हो भने पूरा देश अहिले महाभारतका दुई समूहजस्तै विभक्त भएको छ। एकातिरका मोर्चामा भूपू र वर्तमान प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, मन्त्रीजस्ता सदाबहार शासन गर्ने शासकहरुको मोर्चा खाइपाई आइरहेको भएभरको सुविधाको संरक्षणको लागि युद्धमा होमिएको छ भने अर्कोतिर उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महता, अनिल झा, महेन्द्र यादव, भानु थारु, लक्ष्मण, रेशम थारुलगायतका उत्पीडित जातिहरुका अगुवाहरु आफ्नो समान अधिकार प्राप्तिको लागि युद्ध मोर्चामा तयार छन्। साँच्चै भन्ने हो भने यतिबेला नेपाली कांग्रेसको कथित प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टहरुको कथित जनवाद, समाजवाद र साम्यवादको नीतिले काम गर्न छोडिसकेको छ। उनीहरु स्वार्थको बशीभूत छन् र हरसम्भव ब्राम्हन, क्षेत्रीहरुले युगौदेखि सञ्चालन गरिरहेको अन्यायपूर्ण शासनको बचावका लागि लागिपरेका छन्। राज्यको दुरुपयोग गर्दै खुलेआम बन्दुकमार्फत र संविधान कानुनमार्फत वैधानिक हिंसामा उत्रिएका छन्। दुई युद्ध मोर्चामा बुद्धिजीबी, समाजसेवी, मानवअधिकारकर्मी पत्रकार बिभक्त छन्। दुइटै मोर्चामा सबै जातजाति बिभक्त छन्। न्यायको पक्षमा उभिने कि अन्यायको पक्षमा उभिने कतिपयलाई अन्यौल पनि छ। कतिपयले मध्यस्तकर्ताको भूमिका पनि निर्वाह गरिरहेका छन्। शासक जातिका न्यायप्रेमीहरु उत्पीडित जातिहरुको मोर्चालाई साथ दिइरहेका छन् भने उत्पीडित जातिहरुका सामन्तहरु, अज्ञानीहरु शासक जातिहरुको मोर्चामा संलग्न छन्।
सतहमा राष्ट्रवाद र राष्ट्रघातबीच, देशको सुरक्षा गर्ने र देशलाई बिखण्डन गर्नेबीच लडाइँ भैरहेको प्रचार हुँदैछ भने सुक्ष्मदर्शक यन्त्रले हेर्ने हो देशमा शासक जाति र शासित जातिहरु बीचमा अधिकारको लडाइँ भैरहेको स्पष्ट देखिन्छ। न्याय र अन्यायको बीचमा युद्ध भैरहेको देखिँदैछ। शासक जातिहरुको शासन सत्ताको रक्षार्थ पुलिस, प्रशासन, अड्डा अदालत लागिरहेको छ भने उत्पीडितहरुलाई हक, अधिकार र न्याय दिलाउन केही न्यायप्रेमी नेताहरु, बुद्धिजीवि, समाजसेवी, लेखक, मानवअधिकारकर्मी, संचारकर्मीहरु लागिरहेका छन् । जुवापासा, छलकपटको नीति नियमले जसरी पाण्डवहरु नियन्त्रित भएका थिए, त्यसरी नै संविधान सभामा दलका ह्वीप, छलकपटले थारु, मधेसी, आदिवासी जनजाति, मुश्लिमहरुलाई नियन्त्रित गर्ने प्रयास भएको छ।
छलकपटको नीतिले उत्पीडित जातिहरुलाई प्रयोग गरी, साथ लिई शाहहरुको पारिवारिक शासनलाई फाल्ने काम भएको छ र केपी ओली, सुशील कोइराला, पुष्पकमल दाहालको संयुक्त बाचाबन्धनले पहाडी ब्राम्हन क्षेत्रीहरुको सामुदायिक शासन (नश्लवाद)लाई संस्थागत गर्ने कार्य भैरहेको छ। उनीहरु स्वार्थको बशीभूत भएर समाजवाद र साम्यवादलाई छाडेका छन्। अज्ञानी र दास मानसिकताका केही थारु, मधेसी, आदिवासी जनजाति, मुश्लिमहरु शकुनी प्रवृत्तिको बशीभूत भएका छन् र अन्यायको पक्षमा उभिएका छन्। लोकतान्त्रिक थारु संंघ, मगर संघ, थारु राष्ट्रिय मुक्ति मोर्चा, मगर मुक्ति मोर्चा दास भएका छन्। जबसम्म दलका यी भातृ संगठनका अगुवाहरु आफैं दासताबाट मुक्त हुन सक्तैनन्, तबसम्म यिनीहरु जुन समुदायबाट प्रतिनीधित्व गर्ने गरेका छन्, ती समुदाय मुक्त हुन सक्तैनन्।
निचोडमा के मात्रै भनौं भने अहिले देशमा चलिरहेको अधिकारको आन्दोलन शासक र शासितहरुको बिचको आन्दोलन हो। यो सतहमा, अखण्ड आन्दोलन देखिएको छ। तर वास्तविकरुपमा अखण्ड नामले शासकहरु पुनः शासनसत्ताको दुनो आफूतिर सोझ्याउने कोशिश गरिरहेका छन्। उनीहरु महेन्द्रपथलाई कायम गर्ने प्रयास गरिरहेका छन्। शाहहरुको पारिवारिक शासनको ठाउँमा पहाडका कुलीन ब्राम्हन-क्षेत्रीहरुको शासन सत्तालाई कायम गर्न कोशिश गरिरहेका छन्। तर यस्तो प्रयत्नले देशको कल्याण हुन सक्तैन। त्यसैले दलहरु र दलहरुका मुखियाहरुले देशको कल्याणको लागि सदाबहार सत्ता बाहिर रहेकाहरुको चाहनालाई बुझ्न आवश्यक छ। यो वा त्यो नाममा उत्पीडितहरुलाई पुनः दुःख दिने हो भने महाभारत युद्धको अन्त्य हुन सक्तैन। महाभारत युद्धलाई जारी राख्ने वा अन्त्य गर्ने, शासक र शासितहरुबीचको संघर्षलाई अन्त्य गर्ने वा जारी राख्ने काम कुरा यहाँहरुको हातमा छ।