कैलाली-कञ्चनपुर ५ नम्बरमा राख्न चेतावनी दिँदै थरुहट आन्दोलनकारीले प्रमलाई ज्ञापनपत्र पठाए

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको बेला कैलालीका थरुहट-थारुवान आन्दोलनकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्। कैलाली-कञ्चनपुर जिल्लासहित तराईमा दुई प्रदेश बनाइनु पर्नेलगायत मागहरु राख्दै प्रमुख जिल्ला अधिकारीहरुमार्फत प्रधानमन्त्री प्रचण्डलाई आइतबार ज्ञापनपत्र बुझाएका हुन्।

त्यस्तै कञ्चनपुर जिल्लास्थित आन्दोलनकारीहरुले भोलि (सोमबार) प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने तयारीमा रहेको थरुहट नेता पुष्कल चौधरीले जानकारी दिए। सरकारले प्रदेश नं. ५ को पहाडी जिल्लालाई टुक्राई नवलपरासीदेखि बर्दियासम्मको तराई क्षेत्रलाई एक प्रदेश बनाउने गरी ल्याउन लागिएको प्रस्ताव अर्थहीन रहेको बताउँदै उनीहरुले प्रधानमन्त्रीलगायत व्यवस्थापिका संसदको कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलाई ९ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र मार्फत कञ्चनपुर-कैलालीसहित नवलपरासीसम्मको जिल्लालाई एक प्रदेश र पूर्वी तराईको झापा, मोरङ, सुनसरीसहितको अर्को गरी तराईमा दुई प्रदेश हुने गरी संशोधन प्रस्ताव ल्याउनु पर्ने माग गरिएको छ।

त्यस्तै, मौलिक हकका ४० वटा धारा कानून बमोजिम संशोधन हुने गरी भनिएकोमा सच्याउनु पर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, टीकापुर घटनाको अभियोगमा लगाइएको सबै मुद्धा निशर्त खारेज गरिनु पर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

थरुहट-थारुवान संयुक्त संघर्ष समितिका प्रादेशिक संयोजक होरीलाल चौधरीले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई ज्ञापनपत्र बुझाएका थिए।

Leave a Reply

Your email address will not be published.