५ नम्बर प्रदेश विभाजनको प्रस्ताव मान्दैनौं : रुक्मिणी चौधरी

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले ५ नम्बर प्रदेश विभाजनको प्रस्तावमा आफ्नो असहमति रहेको बताएकी छन्। उनले पहाडी जिल्लालाई हटाउनुभन्दा पनि चुरे क्षेत्रलाई तराईबाट अलग पार्ने योजनाको आफू खिलाफ रहने बताइन् ।

‘जुन प्रस्ताव आउन लागेको भनिएको छ, यसमा हाम्रो सहमति छैन। हामी पहाडी जिल्ला हटाउने कुराको बिरोध गर्दैनौं। तर, चुरे शृंखलाबाट तराईलाई अलग गर्न हुँदैन। यसमा अर्घाखाँचीजस्ता जिल्लाहरु पर्छन्। दाउन्ने पारिदेखि बर्दियासम्मको प्रदेशमा हाम्रो विमति हो। हामीले त चितवनवदेखि कञ्चनपुर भनेका छौं,’ उनले भनिन्।

अहिले हतार-हतार ५ नम्बरबाट पहाड जिल्ला हटाउनुको कुनै अर्थ नरहेको उनले बताइन्। यसबाट जनतालाई एक आपसमा झगडा लगाउनेतर्फ सरकार उन्मुख रहेको उनको आरोप थियो। ‘वास्तवमा हामीले नेपालमा मधेस नै छैन, तराई भूभागमात्र छ भन्छौं। तर, सरकार जबर्जस्ती मधेस प्रदेश भन्दैछ। यी सबै कुरामा हाम्रो विमति हो,’ उनले भनिन्।

सबैलाई सहमतिमा नल्याई अहिले हतार हतार ५ नम्बर प्रदेश चलायो भने त्यसले झन् ठूलो समस्या निम्त्याउने उनको विश्लेषण छ।

Leave a Reply

Your email address will not be published.