सीएन थारु।
“वैकल्पिक विचारको सिर्जनात्मक प्रयोग गर्दै औपनिवेशिक मनोविज्ञानबाट र राजनीतिबाट मुक्त होऔं ।”
सन्दर्भ दशहराको तर असुर उपरको जीत अथवा विजयको खुशीयालीले समाजलाई विभाजन गरेको परम्परा जोगाउन नै धर्म निरपेक्ष राज्यले समेत एक हप्ता विदा दिएको छ । विद्यालय लगायत शैक्षिक संस्था त एक महिनाको लामो विदा दिएर बनियाँ दशहरा मनाउन जोडबल गरेको छ । बनियाँ दशहराको परिभाषा सार्थक होला कि भनेर निम्न उल्लेखित श्लोकको सहारा यस लेखमा लिन लागेको हो।
“महिषध्नि महामाये चण्ड मुण्ड विनासिनी ! द्रव्यमारोग्य विजयं देही देवी नमः सदा !!”
(अर्थ– महिषासुर, चण्ड, मुण्ड दैत्यहरुलाई नास गर्ने हे दुर्गा भवानी देवी हजुरलाई सदा नमस्कार छ । हामीलाई धन, आरोग्य, विजय दिनुहोस् ।) यसले साँस्कृतिक रुपमा नेपाली समाजमा ल्याएको उपनिवेश जब सनातन देखि चलिआएको परम्परा भनी राज्यले लाखौं रुपैयाँ पशुपंक्षी बलिका लागि शक्ति पीठहरुलाई प्रदान गरिन्छ र एक प्रकारको दलाली प्रवृतिको विकास गर्न सघाएको छ, के असुरका सन्तानहरुले यी सबै सहेर बस्नुलाई धार्मिक सहिष्णुता भन्न मिल्छ ? एउटा तप्काका नेपालीलाई धन, आरोग्य, विजय प्राप्त हुँदा अर्को तप्काका नेपालीले भोग्नु पर्ने पिडा तथा दुष्प्रभावलाई कसरी बुझ्ने ? त्यसैले भन्न सकिन्छ कि राज्य बनियाँहरुको संरक्षक भई बनियाँ दशहरालाई भरथेग दिएर आउने अनन्त समयका लागि उत्पीडनको साधन बनिरहने छ । असुरका सन्तानहरु अस्तित्वका लागि संघर्ष गरिरहने छन् ।
थारुको दशहरा
बनियाँ दशहरा भन्दा अलग रुपमा थारुको दशहरा प्रतिस्पर्धा गर्छ । पहिलो दिन कलस्थापन भनेर आफ्नो आफ्नो घरको मूल ढोका र देखिने मूल ठाउँहरुमा कालो र सेता धर्साहरु तानि डाइन जोगिन बनाउने गरेको परम्परा छ । धामी झाँक्रीको सामुहिक देवस्थलमा अर्थात् चैठसारमा माटोको घैलामा पानी भरेर विधिपूर्वक स्थापना गरिन्छ र त्यस दिन देखि साधना गर्ने धामी झाँक्री आफ्नो आफ्नो कुल पन्थको साधना गर्ने गरेको हुन्छ । सप्तमीमा यी सबै कर्म पूरा हुन्छ र डाइन जोगिन को आकृति मेटाउने गर्दछन् । यसरी थारुको दशहरा तन्त्र, मन्त्रको निष्ठालाई थप निखार ल्याउन मनाइने गरेको छ र समाजमा ती तान्त्रिकहरुले शील पालना गर्नु पर्ने अनिवार्यता हुन्छ । बोक्सी, टुना÷मुनाबाट आउने संकट हटाउन समाजमा क्रियाशिल रहने धामी झाँक्री अरु बेला भन्दा दशहरामा बढता जोड गर्दछन् किनकी उनीहरुले दशहरामा दशद्वार खुल्ला रहेको मान्यता बोक्दछन् । यस अर्थमा थारुको दशहरा सप्तमी पछि सिद्धिएको ठहर्छ । धामी झाँक्रीले त्यसपछि निशुल्क सेवा गर्न समाजमा तयार रहनु पर्दछ । आफन्तलाई केही पर्यो भने अथवा गाउँका चेली बेटीलाई आवश्यकता पर्दा अरु गाउँ गएर पनि सेवा दिनु पर्ने हुन्छ । यसकारणले दशहरा थारुको लागि दसा नबनोस् भन्ने कामना गरिने गर्छन् ।
अहिले थारुलाई दशहराको रंगीचंगी बजारमा भुलाउने र एउटा उपभोक्ताको रुपमा बजारको अंग बनाउने काम जोडतोडका साथ हुँदै आएको छ । गरीब थारुहरु पनि बजारको अंग बनी सकेको तब देख्न सकिन्छ जब उनीहरु गुटक्का, वियर, सिगरेट तथा चाउचाउ प्रति आकर्षित बन्दै दशहराको मनोरञ्जन लिन थाल्छन् । परदेशमा बसेर श्रम गरी ल्याएको रुपैयाँ मोबाइलको एसएमएस तथा फेसबुकमा खर्च भइरहेको हुन्छ मानौं हाइटेकले संसार जिते । यथार्थ के हो भने हाइटेक भन्दा पर अरु थुप्रै चीज खोजी हुन बाँकी छ र विज्ञानले त्यो स्वीकार गरिसके । त्यसकारण जीवनलाई यान्त्रिक धार सँग एकाकार गर्नु अज्ञानता हो कि बाध्यता, छुटयाउनु जरुरी छ ।
बनियाँ दशहरा
बनियाँ दशहराले बजार निर्माण गरे । बजारलाई पूँजीले चलायमान बनाएको हुन्छ र जो सँग पूँजी छ, ऊ शक्तिशाली हुने गर्दछ । साथै मुनाफा त्यहाँ अनिवार्य शर्त बन्न पुग्दछ । कसैले भाकलको रुपमा मुर्तिहरु बनाउनु उनीहरुको कुरो हो तर बजार त्यहाँ पुगेकै हुन्छ । यो पर्व र संस्कृतिको वस्तुकरण नै हो । झन गाउँघरमा नाचगान कार्यक्रम बनाएर समाजलाई उपभोक्तावादी संसारमा हुलेको देखिन्छ । उपभोक्तावादी संसारमा जसले बढी चीजहरु उपभोग गर्न सक्यो, उनीहरु हैसियतवाला सम्झिने गरिन्छ र भौतिक शान सौकत प्राप्त गर्न अस्वस्थ प्रतिस्पर्धा हुन्छन् । नेपाल सरकारले कर्मचारीलाई दशहरामा तलब बराबरको भत्ता पनि दिने गरेकोले सरकारी कर्मचारी हुने परिवारजनको हैसियत पक्कै अरुभन्दा माथि हुन्छ । नीजिकरणको प्रक्रियामा अहिले त्यो मनोभावनामा कमी देखिन थालेको भएपनि बजार निणार्यक बनेर कसैलाई बाँकी राखेको देखिदैन । यसवेला बजार नियन्त्रणको नाममा केही उपायहरु राज्यले अपनाएको बताए पनि ठोस तयारी बिना असम्भव हुने तर्क जायज ठहर्छ । त्यसकारण बनियाँ दशहरा धेरैका लागि दसा बनेको छ ।
अबको दिसा
बनियाँ दशहराले प्रतिस्पर्धा रोजे । प्रतिस्पर्धामा साधारणतया भौतिक आधारले जित्ने र हार्ने कुरो निर्धारण भइआएको छ । दशहराको मिथकले पनि जीत र हारको वहसलाई उठान गरेको छ । अनि जीत, दीर्घायु, समृद्धि र धनका लागि दुर्गा भवानीको अराधना गर्ने परम्परालाई अगाडि बढाउने काम गरिन्छ । दुर्गा पाठ कतै गरिन्छ त कतै जंगल मास्ने काम यहिवेला तिब्र हुन्छ किनकी बन कर्मचारी सबै विदा मनाउन आफ्नो आफ्नो घरमा हुन्छन् । नेपाल यो नियतीबाट मुक्त हुनै पर्दछ र आफ्नो दसा सुधार गर्नु पर्दछ । दशहरालाई हिन्दुहरुको महान पर्व मान्न रोकटोक छैन तर यतिवेला गैर हिन्दु यहाँ हातमा दही जमाएर बस्नु पर्ने होइनन् । यो आधारमा नै नयाँ दिसा पक्रन सक्नुपर्दछ । दशहराको कारण र प्रभाव दुवै अबको दिसाले ठीक ढङ्गले सम्प्रेसित गर्न सक्नुपरेको छ । अर्थात् दशहराको सीमा अनुमान गर्न सक्नैपर्दछ जसले विशेष गरी सुरक्षा प्रणालीलाई सहयोग पुगोस् र नाफाखोरहरुबाट जनतालाई राहत प्रदान गर्न सकोस् ।
दशहराको शुभकामना मश्लिमले देलान, मधेशीले देलान, महिलाले देलान अथवा आदिवासी जनजातिले देलान, यो राष्ट्रिय एकताको लागि उत्पादक हुन्छ भन्नु आंशिक सत्य होला तर बजारले निर्माण गरेको प्रतिस्पर्धात्मक उपभोक्ता संसार हामीलाई विभाजित गराइरहन्छ । पेशागत आधारमा, धार्मिक आधारमा, क्षेत्र र वर्गीय आधारमा हुने भेदभाव राज्यको व्यवहारले कम हुँदै जाओस् भनेर नै राज्य कुनै पनि धर्म र आस्थाको प्रभावबाट मुक्त रहेको देख्न चाहनेहरु धर्मनिरपेक्षताको वकालत गरे । नेपाल राज्य पुनः हिन्दु दवदवाको घेराबन्दी परे जुन वैकल्पिक चिन्तनको लागि अवरोधक नै हो । यसले देशको भलो हुँदैन भन्ने प्रमाण पेश गर्दछ । इतिहासको यो पश्चगामी चिन्तन हो । त्यसैले, अब अग्रपन्थी छलाङ् लगाउने हो भने नेपालीको ढोङ्गी चरित्र फेरिनु आवश्यक छ ।
त्यो भनेको कि नेपालीले पश्चिमा ज्ञान मिमांशालाई आत्मसात गरेर आधुनिकताको अनुशासनलाई पूर्ण रुपले पालना गर्न सक्नुपर्दछ र तर्कको आधारमा बन्ने सत्य अथवा असत्यलाई मनै देखि स्वीकार गर्न तयार हुनुपर्दछ । वैयक्तिक स्तरमा देखिने सीमाहरु सहज रुपले स्वीकार गर्दै नजानेका कुराहरु आफुले नजानेको भन्न आँट गर्न सक्नुपर्दछ जुन कठोर आत्मअनुशासन हो । श्रमको सम्मान गर्ने र शील्पीलाई इज्जत गर्ने आम धारणाको विकसित प्रतिस्पर्धाले नेपालीको एकतालाई मजबूत बनाउन सक्छ । होइन भने विविधता विच एकताको परिकल्पनामा जान सक्नु पर्दछ ।
त्यो भनेको समाजको रेखीय (लिनियर) विश्लेषण गर्नुको सटा बहुआयामिकतामा अर्थात् साँस्कृतिक वहुलतामा बुझ्न सक्नुपर्दछ । यसले सबैको हैसियत आर्थिक पक्षले मात्र निर्धारण गर्ने कुरा अस्वीकार गर्दछ र मौलिकतामा बाँच्ने विधि सिकाउँछ । संसारलाई रोबोटिक्स प्रविधिमा सञ्चालन गर्न निश्चित ठाउँ एउटा नमूनाको रुपमा त सम्भव होला तर बाँकी संसार फेरि पनि मानवीय चेतनाले नै बदल्न सक्दछ भने अब औपनिवेशिक मनोदशा बदल्न ज्ञानको पूर्विय चिन्तनलाई फेरि जगै देखि उठाउन सके पुनरजागरणको आधार बन्ने देखिन्छ । ज्ञानमा विष्फेट गराउन सकिने सम्भावना छ र यसले भ्रमबाट मुक्त गराउदै नेपालीलाई विविधता विच एकता गराउन भूमिका खेल्न सक्छ ।
अन्तमा,
पश्चिमाहरुका लागि हामी नेपाली अंगार हौं । हाम्रो मुल्य न्युन छ किनकी हामी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र अदक्ष छौं । हाम्रो मुल्याङ्ककनको आधार÷मापदण्ड पनि उनीहरुले तय गर्दा रहेछन । उनीहरु हाइटेक सम्बन्धि प्राविधिक ज्ञान पाएका होलान, अफिस व्यवस्थापन राम्ररी गर्न सक्षम होलान र कानुनको परिधी भित्र रहेर एक नागरिकको जिम्मेवारी वहन गर्न सक्ने राष्ट्रिय सेवक होलान तर यति हुँदा हुँदै उनीहरु असन्तोषी धेरै छन् । उनीहरुको व्यवहार करुणामय छैनन् र प्रकृतिसँग सामञ्जस्य भएर बाच्ने उनीहरुको इमानदार प्रयास छैनन् । यसको ज्वलन्त प्रमाण आफ्नो आर्थिक प्रभाव बढाउन उनीहरु आदिवासी इलाकामा लडाई चक्राउँछ र हतियार सहित आदिवासी जनतालाई तर्साएर उनीहरुले वर्षौं सम्म जोगाएर राखेका संशाधन दोहन गर्ने गरेका छन् । यो अपराधको आत्मगलानी उनीहरुलाई विस्तारै हुन थालेको छ कि संसार आदिवासी ज्ञानले मात्र जोगिने छ । उनीहरुलाई पनि जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङ्गले आफ्नो प्रभावमा लपेट्दै लगेको छ । त्यसैले अबको नारा “अंगारबाट हिरा बनाऔं” हुने हो भने विश्वव्यापीकरणको विरुद्ध स्थानीयकरणको लडाइमा आदिवासी जनता फेरि एक पटक जित्ने छ तर धनको लागि होइन मानवता प्रबद्र्धन गर्न । थारुले मनाउने दशहराको केन्द्रीय पक्ष यिनै हुन ।