बालिका चौधरी।
यो सृष्टिको चक्र घुमिरहन्छ निरन्तर । हेर्दा हेर्दै हेर्ने आँखालाई नै पुरानो बनाएर बालबालिका, किशोर, जवान, प्रौढ हुन्छन् । दिन पछि रात भनेझैँ जन्म पछि मृत्यु अपरिहार्य छ । त्यही क्रमसँगै यस धर्तीमा नयाँ मान्छेहरु आउँदै पुराना मान्छेहरु जाने क्रम चलिरहन्छ ।
वास्तवमा आमा भनेको आमा नै हुन् । आमाको सन्तान जति ठूलो किन नहोस्, हाकिम, मन्त्री, राजा नै किन नहोस् तर आमाको अगाडि त उ बच्चा नै हुन्छ । संसारमा सबै चिज किनेर पाइन्छ, तर आमा कहिँ पाइदैन । आज मलाई निकै अभाव खड्केको छ आमाको, अनि बुवाको पनि । बुवाको निधन हुँदा सायद उमेर सानै थियो क्यारे, तर सम्झना सबै छ । बुवाको निधनको १७ वर्षपछि आमाको पनि दुःखद निधनबाट मलाई झन टुहुरो महसुस गराइ रहेको छ । बुवाको २०५२ साल माघको ५ गते राती ८ः३० बजे, अनि आमाको २०६९ साल माघ महिनाको १० गते राति ८ः३० वजे नै हो यो धर्तिबाट चोला उठेको । १७ वर्षको बिचमा भगवानले पनि महिना, समय समेत कति राम्ररी मेरा बा आमालाई मिलाएर लगेका हुन् कुन्नी ?
खास गरी आमा संगको बिछोडको बेला पीरले सायद आँसुको सागर नै बन्यो होला । आँसु बग्दा बग्दै आँसुले पाछेजस्ता भएका थिए मेरा आँखा । आफन्तहरु, गाउँलेहरु आएर निकै सम्झाउँदा झन् भक्कानिएर आउँथ्यो । सम्झाएका थिए– नरोउ नानी, अब प्रकृतिको नियम हो । हामी सबैजना जाने बाटो त्यही हो । फरक यति मात्र हो, कोही अघि हुन्छ त कोही पछि । हामी ६ दिदी बैनी, २ दाजु छौ । परिवारिक वातावरणले उहाँहरुलाई आमाको घटना विर्सन सजिलो हुन सक्ला तर मेरो भुल्ने त कुनै ठाउँ छैन । छ त, यही मेरो जागिर । कहिलेकाहीँ छुट्टी हुँदा छटपटी हुन्छ, आफूलाई भुलाउन गाह्रो हुन्छ । बुवाको निधनपछि हामी दिदी, बैनी, आमा साथमा थियौं । अहिले त सबै दिदीहरुको विहे भई आ–आफ्नो घर, अनि आमा पनि छोडि जानु भयो, अब कोसँग भुल्नु ? बुवाको निधनपछि मैले र आमाले कति दुःख पायौं, त्यो कुरा कि आमालाई थाहा थियो कि मलाई थाहा छ । अब त आमा नै नभएपछि मलाई कस्तो हुने होला भन्ने मनको डरले खाइरहेको छ ।
साँच्चै नै हाम्री आमा देवी समान हुनुहुन्थ्यो । त्यतिका सन्तान जन्माएर पनि कुनै सन्तानलाई खरो बोलेको, गाली गरेको थाहा पाइनँ मैले । वेला वेलामा आमाले भन्नु हुन्थ्यो, मैले मेरो बच्चाहरुलाई एक थप्पड पनि हानेको छैन भनेर । मेरो भाउजु भने बारम्बार आफ्नो बच्चाहरुलाई पिट्नु हुन्थ्यो । रोइरहेका नातिलाई आमाले आफ्नो काखमा लिएर टाउको मुसार्दै भन्नु हुन्थ्यो– नरो नाति, मैले त तेरा बा, काका, फुपुहरुलाई कहिल्यै कुटिनँ । खै किन हो, तेरी आमाले तँलाई किन कुट्छे ।
साँच्चै नै सन्तानलाई जस्तो संस्कार सिकायो, उस्तै हुने हो । आमाको जन्म बि. सं १९९५ मा भएको थियो । मैले थाहा पाउँदासम्म घरका परिवारसंग मात्रै होइन, उहाँ गाउँका कुनै महिलासँग समेत कहिल्यै चर्को स्वरमा बोलेको थाहा पाईन । कहिल्यै पनि कसैलाई कुरा लगाउनु भएन, सबैलाई राम्रै कुरा सिकाउनु भयो । बुवा नभएपछि आमालाई बुवाको अभाव नहोस् भनेर म उहाँको सेवामा हरदम लागि रहें । बरु मेरो कारणले आमाले दुःख पाउनु भयो कि भन्ने मलाई खड्की रहन्छ ।
बुवाको निधनपछि उहाँलाई धेरै ठूलो सिक्रीले बाँधेर ताला लगाइयो, त्यो थियो सामाजिक सिक्री । संस्कार र संस्कृति अनि परम्परा यति बलियो गरी बाँधियो कि आमाले अन्तिम सास नफेर्दा सम्म त्यसबाट कहिल्यै निस्किन सक्नु भएन । साँच्चै, विवाहित महिलाहरुको लागि आफ्नो नजिकको भन्नु नै श्रीमान् हँुदो रहेछ । श्रीमान् नै नभएपछि नितान्त एक्लो महशुस गर्दा रहेछन् । सन्तान भनेर के गरुन्, जति सुख दुःखका कुरा श्रीमान् श्रीमती विच हुन्छ, त्यति सन्तानले बुझ्दैनन् र भन्दैनन् पनि । मलाई सम्झना छ, बा नभएपछि घरमा आएको पुरुष पाहुनासँग बोलेको भन्दै नानाथरी कुरा सुन्नु परेको थियो आमालाई । आमाले मलाई रुँदै त्यो पीडा सुनाउँदा मलाई त्यो कुरा असह्य भएको थियो, तर केही बोल्न सकिन । उहाँका आँखाबाट साउने झरी वर्षन थाले, आँसु पुछ्दै भनें– आमा चिन्ता नगर्नु, तपाईलाई केही हुँदैन, म तपाईकी छोरी भए पनि साथी समान हो, दुःख नमान्नु त भनें । तर मनले कहाँ मान्थ्यो र ? उहाँ अन्ध्यारोमा घिक्क घिक्क गरी रुनु भयो । मैले पनि आमालाई रोएर साथ दिएँ ।
म छोरी मान्छे । दुनियाले जे भन्छ, त्यही मान्नु पर्ने सबैको मानसिकता । तर म अरु भन्दा फरक थिएँ र छु पनि । म पनि छोरा मान्छेले झँै काम गरेर देखाउन सक्छु । मैले नि अब केही बोल्नु पर्छ र घरबाहिर निस्केर केही संघर्ष गर्नु पर्छ भन्ने सोंचले ठूला ठूला पहाडहरु उक्लिन खोजें । कहिले खाल्टो खनिदिए त कहिले काँडे तारको बार लगाए । तर कुनै बन्धनले छेक्न सकेन, म आफ्नो बाटो हिडिरहें निरन्तर । बुवा छँदा त पढ्ने अवसर पाइन भने, अब त झन कसरी पढ्ने भन्ने चिन्ताको रोगले समात्यो । टुक्कीको उज्यालो बाहिर नदेखियोस् भनेर कुनामा गुन्द्रीको बार र छाना बनाएर लुकेर पढ्थें ।
आमाले निकै धेरै आरोप प्रत्यारोप सहनु प¥यो । त्यसैले उहाँलाई मानसिक पीडा बढ्दै गयो । बाँचुन्जेल औषधी खाने हुनुभयो । म बहिर फिल्डमा जाँदा मलाई आमाले रुन्चे स्वरमा सोध्नु हुन्थ्यो–“कहिले फर्कन्छेस् छोरी ।” नआत्तिएर बस्नु, म छिट्टै आउँछु । कसैले केही भने पनि नबोल्नु भनेर आफ्नी बैनीलाई सम्झाए झैँ गरी मेरो यात्रा शुरु गर्थे । “चुनौतीमा नै छ अवसर” भनेझैँ जनयुद्धको तातो भुंग्रोमा काम गर्नु पथ्र्यो रोल्पा, रुकुम पहाडको फिल्डमा । जब म घरमा फर्किन्थे, त्यतिवेला सबैभन्दा खुसी आमा नै हुनुहुन्थ्यो । आमाले काम गर्न सकुन्जेल मैले छाडेर गएका लुगा धोएर, पत्याएर राखिदिनु भएको हुन्थ्यो । भोक लागे नजिकैको पसलबाट केही किनेर खानु भनी केही पैसा छोडेर जान्थें, तर त्यो पैसा आफ्नो हातले कहिल्यै खर्च गर्नु भएन । किनेर लगेको खानेकुरा मात्र खानु हुन्थ्यो । सायद पैसाको महत्व आमाले बुझ्नु भएको थियो । त्यही दुइ पैसा पनि बचाएर राख्नु हुन्थ्यो, फेरी मलाई नै राख्न दिनु हुन्थ्यो । एक ताका मैले पढ्नको लागि भर्ना गर्ने पैसा नपाएर निकै छटपटिएको थिएँ । त्यो कुरा आमाको मनमा झलझली थियो क्यारे । त्यसैले होला, उहाँ कहिल्यै एक रुपैया पनि खर्च गर्नु भएन । उहाँको त्यही एक एक रुपँैयाको संकलनले जोहो गरेको रकमले होला, आज व्याच्लर पास गरी डिग्री पढ्ने भएकी छु ।
आमाले जाँड रक्सी चुरोट विंडी कहिल्यै खानु भएन, खानु भयो त केवल भनाइहरु, अरुका नानाथरी बचनहरु । मेरो नर्स बन्ने ठूलो सपना थियो । नर्स कसरी बन्न सक्थें र बल्लतल्ल एसएलसी परीक्षा दिएकी थिएँ । खालि समयको सदुपयोग होस् भनेर सिएमएको लागि प्रवेश परीक्षा दिउँ भनेर प्राविधिक शिक्षालय रहेको दाङ्गदेउखुरी लालमटिया जाने योजना बनाएँ । मेरा कान्छा दाइ पनि त्यही बिषय पढ्नु भएको हो, जो अहिले सरकारी जागिरे हुनुहुन्छ । त्यही लोभले मलाई पनि जान मन लागेको थियो । त्यहाँ गएर २ दिन जति बस्नु पथ्र्यो । गाडी भाडा त बल्लतल्ल जुटाएकी थिएँ, होटलमा खाने पैसा थिएन । २ रातको लागि भए पनि आमाले २ माना चामल झोलामा भर्न खोज्दै हुनुहन्थ्यो, त्यही वेला बचनले बोरा भरियो, चामलले होइन । आमालाई सम्झाएँ– भयो आमा, पर्दैन छोड्दिनु, चामल लाँदिन, बरु साथीहरुको डेरामा एक छाक खाउँला । कलेजमा नाम त निक्लेला जस्तो लाग्दैन, तर पनि जान्छु । तपाई चिन्ता नगरी बस्नु होला, म छिट्टै फर्किन्छु ।
आमाको रोदनले भरिएको अनुहारले भन्दै थियो– छोरी मलाई छोडेर नगइदिए हुन्थ्यो । त्यो दिन आमाको अनुहार देखेर नजाउँ जस्तो त लाग्थ्यो तर के गर्नु मैले मेरो भविष्य पनि त हेर्नु थियो । मैले नै धेरै संघर्ष गर्नु थियो । धेरै पल्ट मनमा आउँथ्यो, मैले त्यस्तो वातावरणमा आमालाई राख्न हुन्न । कहिलेकाहीँ आमा छोरी भएर घरबाट बाहिर निस्किएर जाउँ जस्तो लाग्थ्यो तर आमालाई लगेर कहाँ जानु, मेरो नोकरी जागिर केही छैन, फेरी कता राख्नु ? त्यसैले, आमालाई घरमै छोडेर जान बाध्य हुन्थें ।
बुवाको निधनपछि आमा निकै उदास उदास देखिन थाल्नु भएको थियो । उहाँको उदास मनलाई खुसी बनाउन, उहाँको मन बहलाउन सक्दो कोशिस गर्थे । यात्रामा भएका आफ्ना रमाइला कुराहरु सुनाउथें र उहाँलाई पनि मन हलुंगो पार्न आफ्ना कुरा सुनाउन अनुरोध गर्थें । आमालाई आफूले सक्ने जति सबै हेरचाह गरिरहेकी थिएँ । तर उहाँको आत्मैमा लागेको चोट निको पार्न असफल भइरहेकी थिएँ ।
सदैव मिठासपूर्ण र मिलनसार बोली व्यवहार गर्ने मेरी आमा एकदिन अचानक रिसाउनु भएको थियो । कारण बैनीले आफूले मन पराएको केटासँग विहे गरेकी थिइन् । उहाँ बेस्सरी रुनु पनि भयो । उहाँलाई मैले सके जति सम्झाउने कोशिस गरें र आमालाई आफ्नो योजना पनि सुनाएँ कि म हजुरलाई कहिल्यै पनि रुवाउदिनँ । मेरो बारेमा केही चिन्ता नगर्नु होला, म बाँचुन्जेल हजुरको स्याहार सुसार गर्नेछुँ । मैले जस्तोसुकै काम गरेर पनि हजुरलाई पाल्छुँ । त्यसैले हजुरको निन्याउरो मुहारले मलाई पनि चिन्ता लाग्छ । आमासँग त्यसो भन्दा केही क्षण भए पनि मिठो मुस्कान दिनु हुन्थ्यो ।
बाबाको निधनपछि रंगीन आमा श्यामस्वेत हिमाल बन्नु भएको थियो । जस्तो कि हिमालले पहाडलाई काखमा लिएर हलचल नगरी बसेको हुन्छ । हिमाल जहिले पनि, जुन सिजनमा पनि उ सेतै हुन्छ । बरु पहाडले मौसम अनुसार आफ्नो मुहार परिवर्तन गर्छ । पहाडमा कहिले गुराँसका फुलले धकमक रातै हुन्छ त कहिले हरियाली छाएको हुन्छ, कहिले खडेरीले रुखहरु सुकेर खङरंग हुन्छन् । कहिले सल्ला सुसाउँछन्, कहिले चराचुरङ्गी पनि उसैसँग रमाउँछन् । हिमालले पहाडलाई काखमा राखेर बसेझँै आमाले मलाई पनि त्यसरी नै राख्नु भयो । छोरी ! तँैले विहे गरेर गइस् भने मलाई कसले स्याहार गर्छ ? म त त्यसै भासिन्छु होला भन्नु हुन्थ्यो । त्यसैले होला, अफिसको कामको लागि बाहिर जिल्ला जानु पर्दा आमाले सकभर छोरी नगईदिए हुन्थ्यो भन्ने कुरा गर्नु हुन्थ्यो । गए पनि चाँडै आउनु भन्ने आभास व्यक्त गर्नु हुन्थ्यो ।
सायद मेरो अनुपस्थितिमा आमाको हिमालरुपी मन पग्लिन लागेको जस्तो हुँदो हो । चर्को घाम लागेर हिमाल पग्लेको र हिमालका नयनबाट बबइ, रापती, भेरी, कर्णाली बगेको हुँदो हो । बुवाको अनुपस्थितिमा पनि आमारुपी हिमनदीहरु १७ वर्षसम्म बगे निरन्तर । त्यसपछि हिमनदीमा बग्दा–बग्दै हिउँहरु सकिएछन् क्यारे ! हिमाल नै भासियो । यसरी भासियो की कहिल्यै शिर नउठाउने गरी भासियो । अब यो टुहुरो पहाड कसको काखमा रमाउँछ होला ? यो पहाडलाई सहारा दिने को होला ? हिजो लालीगुराँसले ढकमक्क हुने पहाड अब त खडेरीले उजाड हुने भयो । थाहा छैन, यो पहाडमा कहिले हरियाली छाउने हो ? कहिले होला यो पहाडमा गुराँस फुल्ने ? खै थाहा नभएका कुरा पनि कसरी अनुमान गरौं तर त्यसको पर्खाइमा सधै रहिरहने छे यो पहाडरुपी छोरी ।
मेरी आमाले मलाई पुराना पुराना गीत अनि संस्कार, संस्कृतिका कुरा सिकाउनु भयो । थारु समुदायमा कृष्ण जन्माष्टमीका अवसरमा रातभरी गाईने गीत, दशैँमा नाचिने सखिया नाचको गीत गाएर महिलाहरुलाई नचाउनु हुन्थ्यो । गाउँका महिलाहरुले भन्ने गर्थे, यसपालिको दशैँमा पनि भगरान घरकी आमाले सिकाएको गीतमा नाचम्ला है । जब उहाँको जीवनको रथको एउटा पांग्रा फुस्कियो, त्यसवेला देखि नै आमाको रङ्गिन जीवनका ढोका सबै बन्द भए । समुदायका सबै महिलाहरु हाम्रो घरमा जुटेर गीत सिकाइ दिन आग्रह गर्दा पनि उहाँले मान्नु भएन । यसरी गाउँमा दशैँको नाच पनि बन्द भयो ।
आमाको मृत्यु भएको दिन निकै धेरै मलामी थिए रे । तर म हेर्न सक्ने अवस्थामा थिइनँ । मलामी गएका एकजना अंकल गोविन्द पाण्डे, जसको पछि घरमै गोली हानी हत्या भएको थियो, उहाँले पछि भेटमा भन्नु भएको थियो– सम्पति भन्दा पनि “जिउँदाको जन्ती र मर्दाको मलामी” कमाउनु ठूलो कुरा हो भनेर । त्यसैले होला, आमाले पनि आफ्नो लागि धेरै नै मलामी कमाउनु भएको रहेछ जस्तो लाग्यो । मलाई चिन्ने मेरा सहकर्मीहरु, जो मलामी आउन सक्नु भएन, उहाँहरुले फोन, एसएमएस अनि फेसबुकबाट सन्देश दिनु भएको थियो, आमाको आत्माको शान्तिको कामना गर्नु भएको थियो । तेह्रौ पुण्यतिथिमा चोखिएको दिन काठमाण्डौबाट समेत मेरा चिनजानका व्यक्ति आइपुगेका थिए । वास्तवमा आमाको आत्माले पुकारेर नै होला, यहाँसम्म आउन सक्नु । आमाको सम्झनामा यी पंक्ति कोरिरहँदा मलाई सखियाको भावमा गुन्गुनाउन मन भइरहेछ– आजु आजु कइले डाई रि, आजु नहि अइले । सखि र, हमन ट डरले बिसराइ…।
[जीवनका बक्ररेखा पुस्तकबाट । यो पुस्तक २०७३ असोज २३ गते बर्दियाको मनाउ–५, प्रसेनीमा एक साहित्यिक अन्तक्रिया कार्यक्रम बीच बिमोचन हुँदैछ]