दिल्लीमा प्रधानमन्त्री र टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताजमहल होटेलमा भेटेका हुन् । भारत र नेपालका लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताजमहल होटेलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए ।

नेपालमा लगानीका विषयमा विश्वासको वातावरण निर्माण गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । चौधरीले मञ्चमै पुगेर प्रधानमन्त्री दाहालसँग केही समय कानेखुसी गरेका थिए । चौधरी कार्यक्रम अवधिभर प्रधानमन्त्री उपस्थित ताजको हलमै थिए । त्यस दिन साँझ सात बजे प्रधानमन्त्री र चौधरीबीच केही समय मञ्चमै कुराकानी भएको थियो ।

गत वर्ष भदौ ७ गते भएको कैलाली नरसंहारको घटनापछि चौधरी भारतमै लुकेर बसेका छन् । प्रहरीले अभियोगपत्रमा चौधरीलाई घटनाको मुख्य योजनाकार रहेको दाबी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय कैलालीले उनीविरुद्ध सर्वस्वसहित जन्मकैद माग गर्दै अदालतमा मुद्दा चलाएको छ । घाइतेका तर्फबाट चौधरीलगायत व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग र मारिएका प्रहरीको एसएलआर तथा पेस्तोल कब्जामा लिएको भन्दै ‘डाँका चोरी’ मुद्दा पनि दर्ता गरिएको छ ।

भ्रमण दलमा संलग्न स्रोतका अनुसार त्यहाँ चौधरीले कैलाली घटनाका विषयमा आफूविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा रहेकाले नेपालमा जान समस्या रहेको भन्दै मन्त्रिपरिषद्बाट मुद्दा फिर्ता लिइदिन आग्रह गरेका थिए । ‘कैलाली घटना राजनीतिक रहेको चौधरीको भनाइ थियो ।

त्यसमा आफू संलग्न नरहेकाले क्याबिनेटले फिर्ता लिनुपर्‍यो भनेर प्रधानमन्त्रीसँग कुरा राखिएको थियो’, उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘प्रधानमन्त्रीले आफू सकारात्मक रहेको भन्दै नेपाल फर्केर सकारात्मक रूपले मन्त्रिपरिषद्मा छलफल गर्ने आश्वासन दिनुभयो । अरू के कुरा भयो थाहा भएन । उहाँलाई भेटबारे पूर्वजानकारी नरहेको हुनसक्छ ।’ प्रधानमन्त्री दाहालले चौधरीका कुरा ध्यानपूर्वक सुनेका थिए । उनले चौधरीको अवस्थाबारे सोधेका थिए ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई पक्राउका लागि वारेन्ट जारी गरेको छ । अदालतको आदेशअनुसार उनी सर्वाधिक खोजीको सूचीमा छन् । यद्यपि उनले टीकापुर घटनामा आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । सरकारका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यो विषय आफ्नो जानकारीमा नरहेकाले भेट्न हुने वा नहुने विषयमा केही नबोल्ने बताए ।

फौजदारी अपराधका विज्ञ पूर्वमहान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलाले औपचारिक भ्रमणमा विदेशमा गएका बेला त्यस देशको एजेन्डाबाहेक अरू विषयमा कुराकानी गर्न नपाइने बताए । कैलाली सरकारी वकिल कार्यालयले चौधरीविरुद्व सर्वस्वसहित जन्मकैद माग गर्दै मुद्वा चलाएको छ ।

‘सुरक्षाका कारणले पनि भेट्न मिल्दैन । कि त त्यस देशका मान्छेलाई पूर्वजानकारी दिनुपर्छ’, संग्रौलाले भने, ‘यो ‘इम्प्युनिटी’ सँग सम्बन्धित अन्तर्राष्ट्रिय भियना कन्भेन्सन र नेपाल कानुनविपरीत कुरा हो । फरार अभियुक्तसँग भेट्ने विषय डिप्लोम्याटिक नम्सको पनि विरुद्ध हो ।’ प्रधानमन्त्री भारत भ्रमणमा रहेकै बेला उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनका सबै मुद्दा दसैंभित्रमा फिर्ता लिइने घोषणासमेत गरेका थिए ।

सीमांकनको विरोधमा थरुहट र थारुवान संयुक्त संघर्ष समितिले गरेको आन्दोलनका क्रममा झडप हुँदा टीकापुरमा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलगायत आठ सुरक्षाकर्मीको क्रूरतापूर्वक हत्या भएको थियो । टीकापुर घटनामा संलग्नताको अभियोगमा त्यतिबेला चौधरीसहित ५८ जनाविरुद्ध मुद्दा चलाइएको थियो । उक्त घटनामा चौधरीसहित ३६ जना फरारको सूचीमा छन् । २२ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको थियो ।

घरेलु हतियार भाला, बन्चरो, खुकुरी प्रयोग गरेर सुरक्षाकर्मीको निर्मम हत्या भएको थियो । केही सुरक्षाकर्मीलाई पेट्रोलबाट आगो लगाएर हत्या गरिएको थियो । नाबालकको टाउकोमा गोली हानिएको थियो । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पनि चौधरीलाई दोषी ठहर गरेको छ । कैलालीको पाशविक हत्याबारे दुईवटा संसदीय टोली र राष्ट्रिय मानवअधिकार आयोगको टोलीले समेत घटनाको अनुसन्धान गरेको थियो ।

अन्नपूर्णपोष्टबाट साभार। तस्बिर : श्याम श्रेष्ठ

Leave a Reply

Your email address will not be published.