झापाका थारुले जलाए सात प्रदेशको खाका, आन्दोलन सशक्त बनाउने

Jhapa_tharu 01

थारु कल्याणकारिणी सभा (थाकस)ले मेची-महाकाली अभियानअन्तर्गत झापामा सात प्रदेशको विरोध गरेका छन्। थारु कल्याणकारिणी सभा झापाले थारुको मागलाई सरकारले सम्बोधन गर्न गरेको ढिलाई र जारी गरेको सात प्रदेशको विरोधस्वरुप सात प्रदेश लेखेको कागज जलाएको हो।

थाकसका केन्द्रीय उपाध्यक्ष हरिदेवी चौधरी, कोषाध्यक्ष जयराम पञ्जियार, सचिवालय सदस्य राजकुमार लेखी तथा रामकृष्ण चौधरीलगायतको उपस्थितिमा थाकस झापाका पदाधिकारीहरुले सात प्रदेश लेखेको कागज जलाए।

विर्तामोडमा बुधबार सम्पन्न थाकस झापाको बृहत भेलामा नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्षसमेत रहेका राजकुमार लेखीले थारुको माग सम्बोधन गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए। उनले भने, ‘सरकारको वार्ता नौटंकी मात्र हो।’

Jhapa_tharu 03

थारुको आन्दोलन दुई महिनाभन्दा बढी भइसक्दा पनि सरकार कानमा तेल हालेर बसेको उल्लेख गर्दै उनले सरकारले थारुसँग वार्ता गर्न नचाहेको बताए। थारुले आन्दोलन सशक्त बनाउनुको विकल्प नरहेको बताउँदै साना-ठूला नाकामा अवरोध सिर्जना गर्ने तथा राजमार्ग र हुलाकी मार्गमा आन्दोलन चर्काउने उल्लेख गरे।

थाकसका निवर्तमान महासचिव समेत रहेका लेखीले पहाड र तराईमा बराबर प्रदेश बनाउनुपर्ने माग गरे। पहाड र तराईमा करिब बराबर जनसंख्या रहेको उल्लेख गर्दै उनले जनसंख्याको आधारमा प्रदेश विभाजन गर्नुपर्ने समानताको सिद्धान्तलाई सरकारले पालना नगरेको आरोप लगाए। ‘बराबर जनसंख्या रहेको पहाडमा तराईको भन्दा निर्वाचन क्षेत्र दोब्बर छ,’ उनले भने ‘यो विभेदकारी व्यवहार हो, सबै क्षेत्रका अवसरहरु पहाडमा बढी लगिएको देखिन्छ, यसबाट तराई विभेदमा परेको छ।’ उनले मधेशी र थारुको आन्दोलन प्रकृति र माग समान रहेकोले कार्यगत एकता हुने ठोकुवा गरे।

हालै सम्पन्न थाकसको राष्ट्रिय भेलाले कात्तिक ११ गते चितवनबाट अभियान शुरु गरेको थियो। भेलाले थारुको आन्दोलन अझ सशक्त बनाउने निर्णय गर्दै ५ बुँदे घोषणापत्र जारी गरेको छ। थाकस झापाका सभापति पुष्पलाल चौधरीले जनसंख्याको आधारमा पहाड र तराईमा निर्वाचन क्षेत्र बराबरी बनाउनुपर्ने, थारु आन्दोलनमा मृत्यु भएकालाई सहीद र घाइते भएकाहरुलाई उपचार गर्नुपर्ने, झुठा मुद्दा लगाएको हटाउनुपर्ने र पक्राउ परेका कार्यकर्ता रिहा गर्नुपर्ने, थारु सभासद् संघर्ष समिति नरहेकोलगायत ५ बुँदे घोषणा जारी गरेको बताए।

Jhapa_tharu 02

थाकस केन्द्रीय उपाध्यक्ष हरिदेवी चौधरीको प्रमुख आतिथ्य, थाकस झापाका सभापति पुष्पलाल चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा थाकस सचिवालय सदस्य राजकुमार लेखी, रामकृष्ण चौधरी, केन्द्रीय सदस्य हरिनारायण चौधरी, कृष्णमाया चौधरी, वीरबहादुर चौधरीलगायतले थारुको आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा तेजनारायण चौधरी, श्रीप्रसाद चौधरी, खकेन्द्र राजवंशी, सञ्जा चौधरीलगायतले थारु आन्दोलनबारे सुझाव दिएका थिए। कार्यक्रमको सञ्चालन थाकस सहसचिव लवकुमार चौधरीले गरेका थिए।

यसअघि थाकसले बारा, रौतहट, सप्तरी र इटहरीमा भेला र अन्तर्क्रिया गरेको थियो। सबै भेलामा सहभागी प्रतिनिधिहरुले आन्दोलनलाई सक्तरुपले लानुपर्ने धाररणा राखेका थिए।

Leave a Reply

Your email address will not be published.