लखन चौधरी/कैलाली।
जिल्लाको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक चिडियाखानाको रुपमा परिचित हुन थालेको छ । केही वर्ष अगाडीसम्म व्याप्त चोरी सिकार, वनफँडानीलगायत कारणले उक्त सिमसार क्षेत्र संकटको भुमरीमा फसेको थियो । तर विभिन्न निकायबाट संरक्षण र सम्वद्र्धनको पहल भएपछि उक्त ऐतिहासिक, धार्मिक तथा जैविक महत्व बोकेको तालको मुहार फेरिन थालेको छ ।
औषत चार मिटर भन्दा वढी गहिराई र २७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराई क्षेत्रको सवभन्दा ठूलो सिमसार क्षेत्र हो । सन २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा समेत सूचीकृत भैसकेको ताल क्षेत्र जैविक विविधता, जलप्राणी, वनजन्तु, चराचुरुगीको प्रमुख बासस्थान तथा प्रजनन केन्द्र बन्न सफल भएपछि साँचिक्कै‘नेचुरल जु’ को नामलेसमेत आजभालि चिनिन थालेको हो ।
वि.स. २०५६ साल भन्दा पहिले ताल तथा सिमसार क्षेत्रमा चोरी सिकार तथा वनफँडानीले तिब्रता पाएको थियो । तर पछि ताल क्षेत्रको संरक्षण र सम्वद्र्धनकै उदेश्यले वि.स. २०५६ सालमा स्थापित घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चले विभिन्न निकायहरु संग समन्वय गरी संरक्षण र सम्वद्र्धनको विभिन्न कार्यक्रम ल्याएपछि क्रमिक रुपमा सुधार हुँदै आएको छ । हाल वनफँडानी र चोरी सिकारमा न्यूनीकरण भएको छ । भने तालको वरिपरी तारवारसमेत गरिएको छ ।
वन तथा भू–संरक्षण मन्त्रालयका अनुसार उक्त सिमसार क्षेत्रको भौगोलिक अवस्था, वनपति, चराचुरुंगीलगायत जलचर तथा थलचरवारे चरा संरक्षण नेपाल (बि.सि.एन.), सि.आई.टी.इ.एस., सि.एस.यू.डब्लु.सी., डि.एन.पि.डब्लु.सि, आई.यु.सि.एनलगायत विभिन्न सरोकारवाला निकायहरुले समय– समयमा अध्ययन तथा सर्वेक्षण गर्दै आएका छन् । जुन अध्ययनअनुसार सिमसार क्षेत्रमा ४५० प्रजातिका वनस्पति, ३१ प्रजातिका माछा, १८४ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, ७ प्रजातिका घस्रने जीवजन्तुहरु रहेको भू–संरक्षण मन्त्रालयकोको तथ्यांकमा उल्लेख छ ।
यस अति नै संवदेनशील सिमसार क्षेत्र, चुरे क्षेत्र वन, वातावरण र जैविक विविधता संरक्षणको अवधारणालाई व्यापकताका साथ लागु गरिएको छ ।
संरक्षण र सम्वद्र्धनकै अभियानमा मञ्च संग हाल ३४ ओटा सामुदायिक वन उपभोक्ता समूहहरु रहेका छन् । भने ३६ वटा सामुदायिक विद्यालयहरुमा इको क्लबहरु गठन गरिनुको साथै २० ओटा स्थानीय समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूह गठन भएको छ । जुन क्लब र चोरी सिकारी नियन्त्रण समूहमार्फत वन पर्यावरण तथा जैविक विविधता सम्बन्धी सचेतनामूलक कार्यक्रम र सिमसारको निगरानी समेत हुँदै आएको छ ।
त्यस्तै, हाल यो क्षेत्रमा पूर्ण रुपमा छाडा चरिचरणमा रोक लगाइएको छ भनेखुला रुपमा माछा, कछुवा, चरालगायत जलचर र थलचर मार्ने काममा प्रतिबन्ध गरिएको छ ।
हाल यो सिमसार क्षेत्रमा असना, साल, कुसुम, कर्मा, पियार, सिसौ, महुवा, बेललगायत प्रजातिका रुख तथा वनस्पतिहरु पाइन्छन् । भने चितुवा, ब्वाँसो, खरायो, अजिंगर, निलगाई, कछुवा, गोहीलगायत जीवजन्तुहरुको प्रमुख बासस्थान हो ।
दर्जनौं तालहरु रहेको सिमसार क्षेत्रमध्ये जैविक र ऐतिहासिक महत्व बोकेको घोडाघोडी र नकरोड तालको संरक्षणमा विशेष जोड दिइएको छ । तालको ऐतिहासिक पक्षवारे अनसन्धान गर्नकै लागि पनि अन्सन्धानकर्ताहरु आउने गरेको जनाइएको छ । तालको ऐतिहासिक र जैविक पक्षवारे जानकारी गराउँदै जनजागरण मञ्चका अध्यक्ष दीपेन्द्र बहादुर शाहीले ताल क्षेत्रमा परापूर्वक कालमा ठूलो मानव वस्ती रहेको र पछि एकाएक तलाउमा परिणत भएको किंवादन्ती रहेको बताउँनु भयो ।
त्यस्तै, अर्को किवदन्ती अनुसार परापूर्वक कालमा भगवान विष्णुले घोडा र लक्ष्मीले घोडीको रुप धारण गरी ताल क्षेत्रको परिक्रमा गरेको हुनाले तालको नाम घोडाघोडी रहन गएको जनविश्वास रहेको पाइन्छ ।
तर घोडाघोडीको नामाकरण भने थारू समुदायको कुल देवता ‘घोरी (पोथी) र घोरा (भाले)’ बाट घोरीघोराबाट घोडीघोडा हुन गएको हो । पछि गएर उ नाममा भएको शब्दलाई अगाडी पछाडी राखेर घोडाघोडी भन्न थालिएको हो ।
उहिल्यैदेखि हालसम्म तालको किनारमा घोडीघोडा मन्दिर रहेको छ । जुन मन्दिर आदिवासी थारू समुदायको देव थनुवा हो । जुन थनुवामा थारु समुदायले आफ्नै मौलिक ढंगले पूजाआजा गर्दै आएका छन् । भने मन्दिरमा माटाका घोडाहरुको मुर्ती मात्रै रहेका छन् । सिमसार क्षेत्र वरिपरी स्थानीय आदिवासी थारु समुदायको बाक्लो वस्ती रहदै आएको छ ।
आफैँमा मनमोहक प्राकृतिक दुष्यले भरिएको सिमसार क्षेत्रमा संरक्षण र सम्वद्र्धनको कार्यले व्यापकता पाएपछि पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको छ ।
जिल्ला सदरमुकाम धनगढीदेखि ६३ र चिसापानीदेखि ३५ किलोमिटरको दूरीमा रहेको सिमसार क्षेत्र अवलोकनको लागि दैनिक सयौं स्वादेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । जुनकारण स्थानीय व्यापार व्यवसायमा वृद्धि भएको छ ।
हालैमात्र घोडाघोडी तालको दृष्य अवलोकन गर्न ताल छेउमै एउटा रुखलाई भ्यु टावर बनाइको छ । जसले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा कोशे ढुंगा सावित भएको छ ।
तालको अवलोकनमा सहजता आओस तथा पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर टावर निर्माण गरिएको हो । केही मानिस बस्न मिल्ने चौतारो आकारमा टावरको चुचुरो पनि बनाईको छ ।
हरियो वन नामक गैर सरकारी संस्थाको एक लाख २८ हजारको आर्थिक लगानीमा निर्मित उक्त टावरको कैलालीका जिल्ला वनअधिकृत डा. सिन्धुप्रसाद ढुंगानाले उद्घाटन गरेका थिए ।
त्यस्तै, यहाँका स्थानीय १० जना यूवाहरुलाई नेचर गाइड सम्बन्धी तालीम प्रदान गरिएको छ । सिमसार क्षेत्र अवलोकनका लागि आउने पर्यटकहरुलाई यहाँको वस्तुस्थिति बुझाउन र पथ प्रदर्शकको भूमिका निर्वाह गराउने उदेश्यले तालीम दिइएको छ । जसबाट पर्यटन प्रवद्र्धनमा थप मदत पुग्ने आशा पनि लिइएको छ ।
यसैबीच जिल्लाको मध्यवर्ती क्षेत्रमा ठूला होटलहरु खुल्ने क्रम जारी रहेको छ । पर्यटकहरुको आवागमनमा बृद्धि संगै यस क्षेत्रको होटल व्यवसाय पनि क्रमिक रुपमा फष्टाउँदै गएको व्यवसायीहरुको भनाई छ ।
त्यतिमात्रै नभई, घोडाघोडी नगर क्षेत्रभित्र पर्ने माघी गाउँका स्थानीहरुले तालकै सुन्दरताको जगमा टेकेर माघी गाउँ होमस्टे पनि सञ्चालनमा ल्याएका छन् । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शोभाराम चौधरीले घोडाघोडी घुम्न आउने पर्यटकहरुबाट होमस्टे चल्दै आएको जानकारी दिनुभयो ।
स्थानीय माघी गाउँवासीले होमस्टेमा आउने पहुनाहरुलाई परम्परागतगत शैलीमा स्वागत र सत्कार गर्दै आएका छन् । भने होमस्टेमा बसोबास गर्न जाने आगन्तुकहरुलाई स्थानीयहरुले परमपरागत सखिया, झुमरा, माघौटालगायत नाचगानले मनोरञ्जन प्रदान गर्दै आएका छन् । त्यस्तै अण्डी धानको भात, खेरिया, पनझझरा, बंगुरको मासु, घोंघी, ढिक्रिलगायत खानपान दिदै आएका छन् ।
ताल क्षेत्रको महत्व र अतुलनीय विशेषताकै कारण तालकै नामबाट दर्जनौं संघ संस्थाहरु समेत स्थापना भएका छन्। हाल तालकै नामबाटै घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च, घोडाघोडी वहमुखी क्याम्पस, घोडाघोडी अस्पताल स्थापना भएका छन् ।
घोडाघोडी क्षेत्र हामी सबैको साझा सम्पति रहेकोले यसको उचित संरक्षण र सम्वद्र्धनमा सबैको सहकार्य आजको आवश्यकता हो ।
भिडियो हेर्नुहोस्