मोर्चाले बुझायो डेढ करोड उपचार खर्चको बिल

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डेढ करोडको उपचार खर्चको विल सरकारलाई बुझाएको छ। मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको रकमको विल पेश गरेका हुन्।

‘विभिन्न व्यक्तिको ४२/४३ लाखको विल छ,’ सदभावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘विभिन्न अस्पतालको झण्डै ९० लाख छ ।’

उनका अनुसार यो रकम मधेसी मोर्चालाई नभई सम्वन्धित अस्पताल र व्यक्तिलाई दिन आग्रह गरिएको छ। मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार वीर, शिक्षण, धरान, बिराटनगर र भैरहवा लगायतका अस्पतालमा भएको थियो । ती अस्पतालमा उपचार भएको रकम तिर्न बाँकी छ।

यस्तै घाइतेहरुले आफ्नै खर्चमा गरेको उपचारको पनि विल सकारलाई बुझाइएको छ। जसमा शिक्षण अस्पतालमा उपचाररत श्रवण झाको झण्डै ५ लाख र भोगेन्द्र यादवको अझै ७ लाख रुपैयाँ छ।

सहिद घोषणाका लागि दबाब

मधेसी मोर्चाले आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणाका लागि दबाब दिएको छ । यसअघि बुझाएको सूचीमा रहेका ६८ जना मध्ये ५२ जनालाई सहिद घोषणा गरिएको छ।

बाँकीलाई सहिद घोषणा गर्न भनिएको सुमनले बता। यो सूचीमा वीरगञ्जमा मारिएका भारतीय नागरिक आशिष राम र महोत्तरीमा आत्महत्या गरेका एक व्यक्ति पनि छन्। यस्तै आन्दोलनका क्रममा अंगभंग भएकाहरुको सूची पनि गृहमन्त्रीसमक्ष पेश गरिएको छ।

भेटमा गृहमन्त्री निधिले यसबारे साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकमा छलफल गर्ने बताएका छन्।

अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published.