नेवि संघमा प्रेमशंकर थारुको उम्मेदवारी

नेवि संघको बुधबार हुने निर्वाचनका लागि पर्साका प्रेम शंकर मुखिया थारुले उम्मेदवारी दिएका छन् । उनले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिएका हुन् ।
महाधिवेशन प्रतिनिधिको विवादले १० दिन लम्बिएको महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुने पक्कापक्की भएको बताइएको छ ।
मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो ।

सङ्घको केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने गरी विधान प्रस्ताव गरिएको छ । सङ्घको निर्वाचन राम लक्ष्मण दाजुभाइले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ । निर्वाचन ४० मेसिनबाट हुने र मतपरिणाम दुई÷तीन घन्टाभित्रै आउने आविष्कार केन्द्रका अनुसन्धानकर्ता लक्ष्मण रिमालले बताए।

निर्वाचन समितिले थोरै मतदाताले मतदान गर्ने क्षेत्र र समूहको भने मतपत्रमार्फत निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । नेविसङ्घमा हालसम्म तीन हजार ७९० मतदाता निश्चित भइसकेको र अझै थपिने सम्भावना रहेको प्रमुख निर्वाचन अधिकृत खरेलले जानकारी दिए।

उम्मेदवारको ताँती
केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, पदमराज पन्त, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य नगेन्द्रसिंह ठकुरी, वचन कार्कीले उम्मेदवारी दिएका छन्।

त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए।

यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी सयौँको उम्मेदवारी परेको छ । सङ्घमा १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले आज साँझ ६ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ। सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान भदौ १ गते बिहान ७ देखि साँझ ७ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published.