कांग्रेस-माओवादी गठबन्धन र मोर्चाबीच सहमति, आज हस्ताक्षर हुने

कांग्रेस–माओवादी गठबन्धनमा बन्ने सरकारलाई सघाउन मधेसी मोर्चा अन्ततः सहमत भएको छ। सोमबार राति अबेरसम्म बसेको दुईपक्षीय बैठकले सहमतिको मस्यौदा तयार पारेको मोर्चाका नेता उपेन्द्र यादवले जानकारी दिए। संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवका अनुसार सहमतिका बुँदाहरू भने मंगलबार कांग्रेस, माओवादी र मोर्चाका शीर्षस्थ नेताको हस्ताक्षरपछि सार्वजनिक गरिनेछ।

सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधन गर्न अब बन्ने सरकारले प्रक्रिया अघि बढाउने तथा मधेस आन्दोलनक्रममा मृतक तथा घाइते भएकालाई क्षतिपूर्ति उपलब्ध गराउन कांग्रेस, माओवादीका तर्फबाट प्रतिनिधित्व गरेका नेताहरू तयार भएपछि मोर्चासँग सहमति नजिकिएको बैठक स्रोतले जनायो।

कांग्रेस नेता तथा कार्यदल सदस्य रमेश लेखकका अनुसार सोमबारको छलफल एकदमै सकारात्मक रहेकाले मंगलबार त्यसलाई अन्तिम रुप दिइनेछ।

सहमतिअनुसार मोर्चाले तत्काललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पक्षमा मतदान गर्ने र सरकार गठनमा सघाउनेछ। सरकारमा भने केही समयपछि मात्रै सहभागी हुने समझदारी छ।

कांग्रेस, माओवादीको व्यवहार तथा संविधान संशोधनको विधि र प्रक्रिया हेरेर मात्र सरकारमा सामेल हुने/नहुनेबारे निर्णय गर्ने मोर्चा नेताहरूले बताएका छन्। असोज पहिलो सातासम्म संविधान संशोधन प्रक्रियाको काम पूरा गरेर व्यवस्थापिका संसद्मा विधेयक पेस गरिसक्ने मोर्चाको माग रहेको रामसपाका महासचिव केशव झाले बताए।

केपी शर्मा ओली सरकारका उपप्रधानमन्त्री कमल थापा नेतृत्वको टोलीसँग मोर्चाका नेताहरूले ३६ पटकसम्म वार्ता गरे पनि उपलब्धिविहीन हुँदै आएको थियो। खासगरी सीमांकन र नागरिकताका सवालमा मोर्चा र ओली नेतृत्वको सरकारबीच विवाद बढेको थियो। संविधान संशोधन हुन नसकेकै कारण मधेसमा लामो आन्दोलनसमेत भएको थियो।

उक्त सहमतिपछि बुधबार बहुमतीय प्रणालीअन्तर्गत व्यवस्थापिका संसद्मा मतदान हुँदा मोर्चाका सांसदले दाहालको पक्षमा मतदान गर्ने बाटो खुलेको छ। मोर्चामा आवद्ध दलसँग ४२ सांसद छन्।

मधेसवादी दलले उठाउँदै आएका माग सम्बोधन गर्नेगरी दुई दिनअघि कांग्रेस, माओवादी र मोर्चाका तीन/तीन नेता सम्मिलत कार्यदल गठन गरिएको थियो। कार्यदलले तयार पारेको सहमतिका बुँदामा भने तीनै पार्टीका शीर्षस्थ नेताले हस्ताक्षर गर्न बाँकी रहेकाले मस्यौदा गोप्य राखिएको छ।  प्रधानमन्त्री चयनका लागि मतदान हुनुअघि नै सहमति पत्रमा शीर्ष नेताहरूले हस्ताक्षर गर्ने  बताइएको छ।

Leave a Reply

Your email address will not be published.