कठरिया समुदाय डंगौराकरणको संघारमा

लखन चौधरी/कैलाली।

थारु समुदाय भित्रै एक अलग्गै पहिचान, संस्कार र इतिहास बोकेको कठरिया थारु समुदाय पछिल्लो समय डंगौराकरणको संघारमा पुगेको पाइएको छ। डंगौरा र कठरिया थारु समुदायबीच भाषा, संस्कार, खानपानलगायत धेरै पक्षमा समानता छ। विहेवारीको सम्बन्ध पनि बढी नै हुने भएकोले केही दशकमै पूर्णरुपमा डंगौरा थारुमा समाहित हुन सक्ने एक अनुसन्धानले देखाएको छ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमार्फत लघु अनुसन्धान गरेका सहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारीले पाछिल्लो समय तीब्र गतिमा कठरिया समुदाय डंगौराकरणको संघारमा रहेको चिन्ता व्यक्त गरे।

‘एकअर्काको राम्रो कुराको सिको गर्नु राम्रो हो, तर आफ्नो पहिचान नै लोप हुने गरी सिको गर्नु चिन्ताको विषय हो’, उनले भने।

kathariya_gharकैलाली जिल्लामा बासोबास गर्ने कठरिया, राना र डंगौरा थारु समुदायको रहनसहन, खानपान, घर बनाउने तथा सजाउने विधि, विवाहसम्बन्धलगायत विषयमा खोज अनुसन्धान गरेका उनले कठरियाथारु समुदाय कला, संस्कृति, संस्कार, खानपानमा धेरै धनी भएपनि एक पुस्ताबाट अर्को पुस्तामा मौलिक कलाहरु हस्तान्तरण हुन नसक्दा समस्या देखिएको बताए।

‘कठरिया थारु समुदायमा विभिन्न आकार–प्रकारका चुल्हो बनाउँने, घरको भित्तामा चित्र कोर्ने, डेहरी (धान राख्ने माटाको भकारी) बनाउनलगायत बेजोड मौलिक कला छ, जुन डंगौरा थारुमा कम छ, तर विद्यम्वना कैलालीमा कठरिया समुदायको जनसंख्या डंगौराको तुलनामा कम छ’, उनले भने–‘साहित्य तथा लेखन क्षेत्रमा कठरियाहरुको कम पहुँच हुनुको साथै कठरिया र डंगौराबीचको सम्पर्क भाषा नै डंगौरा हुनुले पनि डंगौराको प्रभाव धेरै छ।’

कैलालीके पवेरा गाविसको पवेरा, उदासीपुर गाविसको लौसा, ऐंठा भगतपुर र भंगहा, पहलमानपुर गाविसको सिसैया टप्पा, जबलपुर, कोंटा, बनबर्सालगायत टीकापुर क्षेत्रमा पनि कठरिया थारु  समुदायको बसोबास रहेको छ। तर हालसम्म कठरिया समुदायको यकिन तथ्यांक छैन। कैलालीमा डंगौरा र कठरिया थारुको लगत एकमुस्ट हुदै आएकोले यकिन तथ्यांक नरहेको अनुसन्धानकर्ता सर्वहारीले बताए।

tharu chuloएक हप्ताको समयमा कठरिया, डंगौरा र रानाथारु समुदायको अनुसन्धान गरेका उनले ती तीनै थारु समुदायमा विविधता रहेको बताए। तर जसको जनसंख्या बढी छ, त्यसकै अनुशरण तथा सिको गर्ने परिपाटी धेरै पाइएको छ।

अनुसन्धान अनुसार डंगौरा र राना थारु समुदायमा पनि आधुनिकताको क्रम संगै अन्य समुदायको सिको गर्ने क्रम बढी नै छ। समग्रमा तीनै समुदायमा आधुनिकताको क्रम संगै पक्की घर निर्माणको क्रम बढी छ। जुन स्वागत योग्य रहेको तर त्यसै पक्की घरमा पनि समुदायको झल्को दिन सकिने अनुन्धानकर्ता सर्वहारीको तर्क छ।

कला, संस्कृति, भाषा, भेषभुषा संरक्षणको लागि ती तीन थारु समुदाय सचेत हुने पर्ने र आ–आपन साहित्य तथा भाषागत दस्तावेजीकरणमा ध्यान दिनु पर्ने उनको सुझाव छ। साथै कठरिया, राना र डंगौरा थारु समुदायहरु समग्र थारु समुदाय भित्रको रंगिन फूलवारी रहेकोले संरक्षण तथा सम्वर्द्धनमा राज्यको ध्यान जान पनि उत्तिकै जरुरी देखिन्छ।

Leave a Reply

Your email address will not be published.