थारु समुदायमा प्रचलित बाँसको छत्री कहाँ हरायो ?

लखन चौधरी/धनगढी

आदिवासी थारू समुदायमा अति नै लोकप्रिय मानिने बाँसको छत्री (छाता) आजभोलि देखिन छोडेको छ । बर्षात सिजनको साथी नै मानिने उक्त समुदायमा आधुनिकताको क्रम संगै छत्री देखिन छोडेको हो ।

कैलालीको रतनपुर–८ भुइयाँफाँटाका स्थानीय डण्डीराम चौधरीले एक दशक अघिसम्म बाँस र नम्ह्राइन (एक प्रकारको कुकाठ) को पातबाट बनाइने छत्री निकै नै प्रचलनमा रहेको बताए । तर बजारमा विभिन्न सुविधायुक्त छाता आएपछि आजभोलि कतै–कतै मात्रा प्रयोगमा आएको उनको भनाई छ ।

‘बर्षातको समयमा टाउकोमा राखेको छत्री टाउको मै दिनभरी रहन्थ्यो’, उनले अगाडी भने– ‘हलो जोत्नदेखि अन्य काम गर्न साह्रै सहज हुने ।’ विस्तारे लोप हुँदैको गएको प्रति भने उनले चिन्ता व्यक्त गरे ।

छत्री बनाउनु पनि एक प्रकारको सीप र कला नै हो । बाँसको चोयालाई राम्ररी छोडाएर नम्ह्राइनको पातको प्रयोगबाट बनाइने छत्री एक पटक बनाएपछि दुई÷तीन वर्षसम्म चल्ने बताइन्छ ।

chhatri1-fill-920x617साँडेपानी–९ बेलारका स्थानीय युवा डम्मर चौधरी छत्री गाउँघरमै पाइने प्रविधि तथा उपकरणबाट निर्माण गरिने बताए । टाउकोमा अड्याउन मिल्ने छत्रीमा खोपिल्टो बनाएकोले टाउकोबाट नखस्ने उनको भनाई छ । सिपालु मान्छेले बनाएको छत्रीबाट पानी चुहिने कुनै ‘चान्सै’ नहुने बताउँदै उनले आधुनिक छाताले दिने छायाँ भन्दा छत्रीले दिने छायाँ पनि गाढा हुने हुँदा सितलता वढी हुने जनाए ।

बाँसको छत्री चाहेको आकारमा फोल्ड गर्न नमिल्ने, यताउती लैजान नमिल्ने र बनाउनलाई पनि विशेष सीप नै चाहिने हुँदो लोप हुँदै गएको बताइन्छ । तर छत्री बनाउने सीप र कला एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जानु पर्नेमा थारु अधिकारकर्मीहरुको जोड छ । उनीहरु छत्रीप्रति आकर्षण बढाई व्यवसायकरण गर्न सके संरक्षणमा मदत पुग्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published.