तिम्रो मनमा खोटैखोट हुन्छ, त्यसैले त टीकापुर विष्फोट हुन्छ !

इन्दु थारु

रगत तिम्रो पनि रातो छ

रगत मेरो पनि रातो छ

रगत रातो अनि दुवैको तातो छ

तिमी छौ म जस्तो

म छु तिमी जस्तो

फेरि किन यति भिन्नता छ

मदेखि तिम्रो मनमा खिन्नता छ

मलाई सधैं कमैया कम्लहरी देख्छौ

ममाथि सधैं मनपरी गर्छौ

मेरो रगत पसिनामा घरबार गर्छौ

उल्टै ममाथि दुर्व्यवहार गर्छौ

सीमा नाघी सबै अन्याय अत्याचार गर्छौ

तिमीजस्तै मलाई पनि बाच्न मन छ

भनेर मैले भनिरहँदा,

तिम्रो मनमा खोटैखोट हुन्छ

त्यसैले त टीकापुर विष्फोट हुन्छ।

मलाई सधैं मुसा खाने देख्छौ

जबकि हामी दुवै मानव हो।

 

रगत तिम्रो पनि रातो छ

रगत मेरो पनि रातो छ

मलाई सधैं अछुट देख्छौ

मान्छे मान्छेबीच फुट गर्छौ

मैले छुँदा अपवित्र तिम्रो पानी हुन्छ

मेरो त अपवित्र पुरा जीन्दगानी हुन्छ

पश्चातापमा भिजेको मेरो सिरानी हुन्छ

तिमी जस्तै मलाई पनि बाच्न मन छ

भनेर मैले भनिरहँदा

सहनशिलताको तिमीमा अभाव हुन्छ

केवल शब्दमा सिमित सामाजिक सद्धाव हुन्छ

मभन्दा तिमीलाई बिरालो प्यारो

जब की हामी दुवै मानव हो।

 

रगत तिम्रो पनि रातो छ

रगत मेरो पनि रातो छ

तिखो हलो जोत्ने मलाई जमिन सम्झिन्छौ

तिमी जस्तो अर्को उत्पादन गर्ने मशिन सम्झिन्छौ

न काटे त तिमी नि म जस्तो

काटे म नि तिमी जस्तो

फरक केवल एउटै अंग छ

बाँकी त उस्तै रुपरंग छ

म हिँड्ने बाटोको सधैं काडेतार बन्छौ

स्वतन्त्र मेरो जीवनको हकदार बन्छौ

तिमी जस्तै मलाई पनि बाच्न मन छ

भनेर मैले भनिरहँदा

तिम्रो मनमा खोटैखोट हुन्छ

त्यसैले त टीकापुर विष्फोट हुन्छ।

Leave a Reply

Your email address will not be published.