तमलोपामा मुख्य पद मिलाउन सकस

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। रामग्राम, नवलपरासीमा केन्द्रीय समितिलाई पूर्णता नै नदिई गत असार ८ गते प्रथम महाधिवेशन सम्पन्न भए पनि महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। यद्यपि उक्त महाधिवेशनले ठाकुरलाई भने अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।

तीन दिनसम्म चलेको महाधिवेशनले केन्द्रीय समितिलाई पूर्णता दिन नसकेपछि अध्यक्ष ठाकुरलाई जिम्मेवारी दिइएको थियो। ‘केन्द्रीय समितिलाई पूर्णता दिने प्रयास भइरहेको छ, कतिपयले जिम्मेवारी पाइसक्नुभएको छ, केही भने बाँकी छन्,’ नेता बिपी यादवले भने, ‘अध्यक्षले केही दिनमा त्यसलाई पूर्णता दिइसक्नु हुनेमा विश्वस्त छु।’ उनका अनुसार त्यसका लागि अध्यक्ष ठाकुरले छलफल जारी राखेका छन्।

नयाँ विद्यानअनुसार महामन्त्री/सहमहामन्त्री पदमा अब २–२ जना निर्वाचित र १–१ जना मनोनीत सदस्य रहनेछन्। महामन्त्रीका लागि जितेन्द्र सोनल, बृजेशकुमार गुप्ता, विमल श्रीवास्तव, जंगीलाल रायलगायत आंकाक्षी देखापरेका छन् भने सहमहामन्त्रीका लागि सुरेश मण्डल, कृष्णा सिंह, जितेन्द्र सिंह, जयप्रकाश ठाकुर, महाजन यादव, अविराम शर्मा, पशुपतिदयाल मिश्र, राकेश मिश्र, उदय तिवारीलगायतले दाबी प्रस्तुत गर्दै आएका छन्। विधानअनुसार पद कम तर आंकाक्षी बढी भएपछि दुई महत्वपूर्ण पदमा जिम्मेवारी दिन नसकेको हो।

महाधिवेशनबाट पारित विधानअनुसार तमलोपाको केन्द्रीय समिति भने ७५ सदस्यीय हुनेछ, जो तराई–मधेसकेन्द्रित दलमध्ये सबैभन्दा सानो केन्द्रीय समिति हो। जसअनुसार ३३ जना खुला, २७ आरक्षण र १५ जनालाई मनोनीत गर्ने प्रावधान राखिएको निर्वाचन समिति प्रमुख नागेन्द्र यादवले बताए।

‘महाधिवेशनस्थलमा महामन्त्री, सहमहामन्त्री र खुला केन्द्रीय सदस्यसहित महिला र मुस्लिम कोटामा बढी आंकाक्षी देखापरेको अवस्था थियो, त्यसलाई सहमतिमै टुंग्याउने भनेर त्यहाँबाट फर्केका हौं,’ यादवले नागरिकसँग भने। उनका अनुसार रामग्रामका आंकाक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी र दाबी क्रमशः फिर्तासमेत लिइरहेको अवस्था छ।

पहिलोपटक महिला ५, आदिवासी/जनजाति ५, मुस्लिम ४, दलित ३ र अपांग १ सहित ५ वटा आरक्षणका किटान गर्दै ‘क्लस्टर’ छुटाइएको छ भने प्रवक्ता/सहप्रवक्ता र सहकोषाध्यक्ष केन्द्रीय समितिको सिफारिसमा अध्यक्षले मनोनीत गर्ने प्रावधन विधानमा राखिएको प्रमुख यादवले जानकारी दिए।

यद्यपि रामग्राम, नवलपरासीबाट भने अध्यक्षमा ठाकुरसहित अपांगता भएका व्यक्तिको कोटाबाट प्रेमनारायण झा, दलित कोटाबाट रामप्रवेश बैठा, कोषाध्यक्षमा अनिता यादव, उपाध्यक्षमा बृषेशचन्द्र लाल र वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी भने चयन गरिसकिएको छ। पार्टीका अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले भने केन्द्रीय समितिमा मात्रै उम्मेदवारी दिएका छन्।

‘केही आंकाक्षीबाट उम्मेदवारी फिर्ता लिने क्रम सुरु भएकाले चाँडै नै केन्द्रीय समितिले पूर्णता पाउनेमा विश्वास व्यक्त गरिएको छ,’ केन्द्रीय सदस्य सुरेश मण्डलले भने। उनका अनुसार गोविन्द चौधरी, बिपी यादव, कविन्द्रनाथ ठाकुर, राजेन्द्र साह, उमाकान्त झालगायतले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

Leave a Reply

Your email address will not be published.