‘अबको वार्ता सार्वजनिक ठाउँमा गरौं, प्रत्यक्ष प्रशारण गरौं’

संघीय गठबन्धन अन्र्तगर्तको आन्दोलनरत मधेशी मोर्चाको एक घटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अबको वार्ता बन्द कोठाभित्र नभएर सार्वजनिक ठाउँमा प्रत्यक्ष प्रशारण हुने गरि गरिनुपर्ने बताए । उनले भने,‘हामी सरकारको चिया विस्कुट खानको लागि मात्रै वार्तामा बस्दैनौं, वार्तामा को जिम्मेवारी छैन भनेर जनतालाई थाहा पाउन समेत सजिलो हुनेगरि सार्वजनिक ठाउँमा वार्ता गर्नु उचित हुन्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्रीद्वारा आह्वान गरिएको वार्ता सकारात्मक भएको टिप्पणीसमेत गरेका छन् । यादवले भने,‘प्रधानमन्त्रीद्धारा वार्ताकोलागि आह्वान गरिएको पत्र सकारात्मक छ, हामी तयार छौं ।’

साक्षात्कारमा यादवले अहिलेसम्म सरकारसँग आफुहरु ३६ पटकसम्म वार्तामा बसेपनि कुनै परिणाम ननिस्किएकाले यसपटक भने वार्तालाई सार्थक तथा परिणाममुखी बनाउने उद्देश्यले बस्नुपर्ने धारणा राखे ।

वार्ताको नाममा जनतामाथि सरकारले भ्रमको खेति गरिरहेको उनले आरोप लगाए । विगत १० महिनादेखि आफ्नै बलवुतोमा आन्दोलन गरिरहेको उल्लेख गर्दै अहिलेको आन्दोलन तेस्रोपटक चलिरहेको उनले बताए । तेस्रो चरणको आन्दोलन संघीय गठबन्धनको नाममा भैरहेकोले सरकारले गठबन्धनकै नाममा चिठी पठाए राम्रो हुने उनको भनाई थियो ।

आफूहरुको माग सरकारले सम्बोधन गरिसकेको भनेर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले झुठो कुरा गरेको उनले गुनासो पोखे ।

प्रधानमन्त्रीले आफूहरुको मागलाई नाजायज भनेर टिप्पणी गरिरहेकोप्रति ईंगित गर्दै नेता यादवले भने,‘यदि हाम्रा मागहरु नाजायज नै छन् भने उहाँले जनतमाँझ हामीलाई नग्याँउन सक्नुपर्यो होईन भने झूठा आरोप लगाउन पाईँदैन् ।’

उनले सरकारले आन्दोलनमा घाईते भएकाहरुलाई र सहिद परिवारलाई सरकाराले पैसा पठाईसकेको भन्ने कुरामा समेत कुनै सत्यता नभएको उनले बताए । उनले भने,‘खोई, कहाँ पैसा पठाएको छ, हामीलाई थाहा छैन् ।’

उनले राजनीतिक पूर्वाग्रही राखेर मोर्चाका कार्यकर्ताहरुलाई लगाईएका झूठा मुद्दाहरु तत्काल फिर्ता हुनुपर्ने, घाईतेको उपचारका लागि र मृत्तकका परिवारलाई पैसा उपलब्ध गराउनुपर्ने आफ्ना मागहरु तत्काल पूरा गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.