भूकम्प प्रभावित क्षेत्रमा भ्वाङै भ्वाङ

भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकसहित लाप्राक र गुम्दाका विभिन्न स्थानमा ‘ठूला भ्वाङ’ पर्न थालेको छ । ती ठाउँमा वर्षायाममा पहिरोको ठूलो जोखिम रहेको स्थलगत अध्ययन गरेर फर्किएका भूगर्भविद्हरूले जनाएका छन् ।

गत साता ती क्षेत्रमा पुगेको भूगर्भविद्को टोलीले बस्ती नजिक, सडक, जमिन र जंगलमा भ्वाङ फेला पारेको हो । त्रि–चन्द्र कलेजका इन्जिनियरिङ भूगर्भविद् डा.सुबोध ढकालले बारपाकदेखि लाप्राक र गुम्दासम्म विभिन्न स्थानमा भ्वाङ पाइएको बताए ।

‘कास्कीको अर्मलामा जस्तै विभिन्न स्थानमा भ्वाङ देखा परेका छन्,’ उनले बुधबार कान्तिपुरलाई भने, ‘बेलैमा ध्यान नदिने हो भने मनसुनमा झन् खतरा छ ।’

उक्त क्षेत्रको जमिनमुनि भएका चुनढुंगा (लाइम स्टोन) क्षयीकरण भएर पानीमा घुलिएपछि भ्वाङ देखा परेको ढकालले उल्लेख गरे ।

‘चट्टानबाट बनेको माटो पानीमा घुलिएपछि एकाएक जमिन भासिएको देखियो,’ ढकालले भने, ‘भूकम्पले हल्लिएर जमिन कमजोर बनेकाले त्यस्ता भ्वाङ र ठूला चिरा परेका हुन सक्छन् ।’

उनका अनुसार बारपाक, लाप्राक र गुम्दाको यामागाउँ विगतमा पनि भूकम्पले ल्याएकै पहिरामा बसेका बस्ती हुन् । ‘गत वर्षको पहिरोले पनि तिनै बस्तीलाई थिलथिलो पारेको छ,’ उनले भने, ‘अहिले फेरि नयाँ पहिरो र भ्वाङ देखिनुले खतरा बढेको छ ।’

विज्ञहरूले अध्ययनका लागि उक्त क्षेत्रको चट्टान र माटोको नमुना काठमाडौं ल्याएका छन् । ‘त्यहाँको माटोले कति भार थाम्न सक्छ भनेर ल्याबमा अध्ययन गर्नेछौं,’ ढकालले भने ।

-कान्तिपुर दैनिकबाट/तस्बिर सौजन्य: डा. सुबोध ढकाल

Leave a Reply

Your email address will not be published.