आमहड्तालको कार्यक्रम थरुहट कैलालीद्वारा बहिष्कार, कतै भएनन् बन्द

लखन चौधरी/कैलाली।

हचुवाको भरमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको भन्दै थरुहट कैलालीले आफ्नै केन्द्रीय कार्यक्रमहरु बहिष्कार गरेको छ। संघीय गठबन्धनले जिल्ला स्तरमा कुनै तयारी तथा समन्वय नै नगरी एकतर्फी रुपमा आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको भन्दै बहिष्कार गरिएको हो।

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली प्रवक्ता माधव चौधरीले सबै आन्दोलनको सुरुवात भएपनि जिल्ला स्तरमा उक्त सबै कार्यक्रम मौन बहिष्कार गरेको बताए।

थरुहट/थारुवान केन्द्रीय संघर्ष समितिद्वारा घोषित आन्दोलनका कार्यक्रमअनुसार वैशाख ३१ गते कैलाली, चितवन, नवलपरासीमा, जेठ १ गते कञ्चनपुर र दाङमा विरोधसभा र मशाल जुलुस प्रदर्शन गर्ने निर्णय गरिएको थियो। त्यस्तै जेठ २ गते सबै थरुहट जिल्लाहरुमा आमहडताल गर्ने कार्यक्रम रहेको थियो। तर जिल्लास्तरमा केन्द्रीय संघर्ष समितिले कुनै समन्वय नगरेकाले बहिष्कार गरेको प्रवक्ता चौधरीको भनाई छ।

‘केन्द्रीय संयोजक धनीराम चौधरीले जिल्लाको अवस्थावारे जानकारी नै नलिई कार्यक्रमको नाममा जिल्ला स्तरमा पेल्ने काम गरेका छन्, खाने भए खा, नत्र घिचको व्यवहार गरेका छन्,’ उनले भने, ‘थरुहट आन्दोलनको जग कैलाली भए पनि केन्द्रीय गठबन्धनले एकतर्फीरुपमा लाद्ने काम गरेकोले हामीले कार्यक्रम बहिष्कार गरेका हौँ।’

तर थारू बाहुल्य जिल्लाको एक प्रदेश नबनुन्जेल थरुहट आन्दोलन जारी राख्ने प्रवक्ता चौधरीको भनाई छ।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले घोषणा गरेको कार्यक्रम कुनै पनि सफल हुन नसकेको थारु नेताहरुले बताएका छन्। यसअघि भनिएका विरोधका कार्यक्रम पनि फाटफुटमा रुपमा मात्र भएको नेताहरुले बताए। आज घोषित बन्दको कार्यक्रम पनि कतै सफल देखिएनन्। ‘नेताहरु समितिको कार्यक्रमभन्दा पनि पार्टीको कार्यक्रममा बढी सक्रिय देखिएका छन्। यस्तो चालमालले कसरी हुन्छ बन्द? कसले गर्छ बन्द?,’ एक थारु नेताको प्रश्न थियो।

घोषित कार्यक्रम यस्तो थियो-

Tharuhat tharuwan prgm

Leave a Reply

Your email address will not be published.