थरुहटसहित संघीय गठबन्धनको राजधानीकेन्द्रित आन्दोलन सुरु

संघीय गठबन्धनले आजदेखि राजधानीकेन्द्रित आन्दोलन घोषणा गरेको छ। शुक्रबार संघीय समाजवादी फोरम मूख्यालय तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले यसको घोषणा गरे । ‘३६ पटक वार्ता गरियो, तर सरकार ३६ मिलिमिटर पनि संवेदनशील भएर अघि बढेन,’ यादवले भने, ‘त्यसैले हामी आन्दोलनमा जान बाध्य भएका हौं । अब वार्ता होइन, आन्दोलनबाट मात्रै निकास आउनेछ ।’ यादवको दलसमेत रहेको मधेसी मोर्चाले भने बिहीबार सरकारलाई जवाफ पठाउदै वार्ताविरोधी नभएको स्पष्ट पारेको थियो । संघीय गठबन्धनमा मधेसी मोर्चा आबद्ध ७ दलसहित २९ दल छन् ।

‘हाम्रो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने छ । हामी सरकारको तर्फबाट विगतका आन्दोलनहरूमा जस्तै यसलाई हिंसात्मक मोड दिने सम्भावनाबारे पनि सचेत छौं,’ गठबन्धनका तर्फबाट समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको वक्तव्यमा उल्लेख छ, ‘सरकारले जनताको आन्दोलनमाथि दमन गरी बल प्रयोग गरेमा यसका कारण देशमा दिर्घकालीन सङ्घर्ष र गृहयुद्धको स्थिति सृजना हुन सक्दछ । त्यस्तो स्थिति उत्पन्न भएमा यस्को सम्पूर्ण जिम्मेवारी सरकारकै हुने कुरा हामी चेतावनी दिन चाहन्छौं ।’

गठबन्धनले शनिबार अपराह्न ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शन थाल्ने निर्णय गरेको छ । त्यस्तै आइतबारदेखि हरेक दिन सिंहदरबार घेराऊ राखेको छ । गठबन्धनले कालाबजारीया, भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने, सुलभ ढंगले डिजेल, पेट्रोल र ग्यास उपलब्ध गराउनपर्ने, भूकम्प पीडितलाई पुनर्स्थापना गराउनुपर्ने, यसअघि आन्दोलनकारीहरूसग गरिएका सम्झौता लागु गराउनुपने माग गरेको छ ।
पत्रकार सम्मेलनमा गठबन्धनका नेताहरु राजेन्द्र महतो, हृदयेश त्रिपाठीलगायतले बोलेका थिए । महतोले बोल्दै काठमाडौंकेन्द्रित आन्दोलनमा जानेबारेमा मोर्चा र गठबन्धनभित्र अन्तर्विरोध नभएको प्रष्ट पारेका थिए । यसअघि गठबन्धनका दुई बैठकमा उनी र उनका प्रतिनिधि गएका थिएनन् ।

२७ दलीय गठबन्धनमा एमाओवादी स्थायी समिति सदस्य गोपाल किराती संयोजक रहेको किरात राज्य सङ्घर्ष समिति, र राष्ट्रिय दलित मुक्ति आन्दोलन थपिएका छन् । सत्तासाझेदार एमाओवादीकै नेता सत्ताविरोधी संघर्षमा किन ? भन्ने प्रश्नको जवाफमा किरातीले भने, ‘संविधानले पूरा गर्न नसकेको नयाँ राष्ट्रिय एकीकरणको अभियानलाई अघि बढाउन संघर्षमा आएको हुँ । यो सरकारले जनताको पक्षमा कुनै काम गर्न सक्दैन । त्यसैले हामीलाई विकल्प चाहिएको छ ।’ किराती यस अघि नै सरकारको विकल्प खोज्ने बहसका कारण चर्चामा आएका थिए । उनी एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् ।

Leave a Reply

Your email address will not be published.