टीकापुर घटनामा अर्का एक जना पक्राउ, सिडिओ र थारु नेताबीच चर्काचर्की

टीकापुर घटनामा संलग्नता रहेको भन्दै नवलपुरका सन्तकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई स्थानीय प्रहरीले गाउँबाटै पक्राउ गरेको थरुहट/थारुवान संयुक्त संघर्ष समिति सदस्य इन्दु थारुले जानकारी दिइन्। तर जिल्ला प्रमुख एसपी राजेन्द्र विस्टले सोबारे आफूलाई थाहा नभएको बताए।

प्रमुख जिल्ला अधिकारी र थारु अगुवाहरुबीच भएको छलफलमा एसपी विस्टले पक्राउ परेकोबारे अझैसम्म जानकारी नआएको बताए। यता थारु अगुवाहरुले भने पक्राउ परेका चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरे। प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खानको कार्यकक्षमा भएको छलफलमा थरुहट थारुवान संयुक्त संघर्ष समितिका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले तत्काल रिहाइको माग गरे।

प्रमुख जिल्ला अधिकारी खानले थारु अगुवाहरुलाई बोलाएर टीकापुरमा कुनै कार्यक्रम नगर्न निर्देशन पनि दिए। ‘टीकापुर घटनापछि त्यहाँ विस्तारै शान्ति छाइरहेको छ। त्यसलाई फेरि बिथोल्नु हुन्न। तपाईँहरुले त्यहाँ कुनै आमसभा, विरोध जुलसका कार्यक्रम नगरिदिनुस्,’ खानले आग्रह गरे।

उनको आग्रह सुनेर थारु नेताहरु आक्रोशित बनेका थिए। उनीहरुले थारुले कहाँ कार्यक्रम गर्ने, कहाँ नगर्ने तपाईँले सिकाउन पर्दैन भन्दै आक्रोश पोखेका थिए। ‘हामी कहाँ कार्यक्रम गर्न हुने कहाँ नहुने तपाईँले सिकाउने होइन,’ काब संयोजक चौधरीले भने, ‘मन लागेको ठाउँमा शान्तिपूर्ण विरोध गर्ने अधिकार हामीलाई छ।’

कार्यक्रम थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले धरपकड जारी राखेको भन्दै प्रशासनविरुद्ध आक्रोशित बने। उनले टिकापुर घटनामा पक्राउ परेकाहरुलाई तत्काल छाड्नपर्ने, नत्र परिणाम जस्तोसुकै आउनसक्ने चेतावनी दिए।

उनीहरुले पक्राउ परेका सन्तकुमारलगायत सबैलाई नछाडेसम्म छलफलमा बस्नुको कुनै औचित्य नरहेको भन्दै बैठक बहिस्कार गरेका थिए।

Leave a Reply

Your email address will not be published.