नौ करोड बढी अकूत सम्पत्ति कमाएको भन्दै ल्ह्यारक्याल लामाविरुद्ध मुद्दा दायर

larkyalअख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको मागसमेत गरेको छ ।

आर्थिक वर्ष २०५८-५९ देखि आव २०७२-७३ सम्मको अवधिको आय हेर्दा तलब भत्ता, जग्गा बिक्री, ऋण तथा सापटी समेत गरी लामाको कुल सम्पत्ति रु २० करोड ३४ लाख ४१ हजार ८२१ हुने देखिन्छ ।

तर घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद, ऋण सापटी, साँवा ब्याजलगायत पेस गरेको सम्पत्ति विवरण समेतबाट लामाको आयआर्जन गरेको रकम रु २९ करोड ७९ करोड १४ लाख देखिएको छ । निलम्बित सांसद लामाको आयव्यय विवरणमा फरक परेको रु नौ करोड ४४ लाख ७२ हजार १७९ को स्रोत नखुलेको पाइएकाले पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको जिकिर आयोगको छ ।

आयोगको टोलीले गत फागुन १४ गते दरबारमार्गमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको लकरबाट १४ थान गोलीसहित लामालाई पक्राउ गरेको थियो । सो प्रकरणसँगै लामालाई ठगी मुद्दा पनि लागेको थियो । त्यतिखेर लामा धरौटीमा छुटेका थिए । रासस

Leave a Reply

Your email address will not be published.