मंसिरमा स्थानीय निकायको चुनाव गराउने सरकारको घोषणा [पूर्ण पाठसहित]

सरकारले १५ वर्षदेखि रिक्त स्थानीय निकायको चुनाव आगामी मंसिरमा गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै २०७३ मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेकी हुन् ।

‘संघीय संरचना अनुरुप स्थानीय तहको संख्या र सीमाना निर्धारण तथा कानूनी आधार तयार गर्न केही समय लाग्ने हुँदा विगत १५ वर्ष देखि रिक्त स्थानीय निकायमा संक्रमणकालिन व्यवस्था अनुरुप २०७३ साल मंसिर महिनामा हाल कायम स्थानीय निकायको निर्वाचन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसबाट स्थानीय निकायमा जनप्रतिनिधिविहीन स्थितिको अन्त्य भै जनस्तरमा लोकतन्त्रको अभ्यास, विधिको शासन र स्थानीय विकासमा जनप्रतिनिधिको नेतृत्व कायम गर्न सहयोग पुग्नेछ ।’

सरकारले आगामी आर्थिक वर्षलाई संविधान कार्यान्वयन र शासन प्रणालीको रुपान्तरणको वर्षकारुपमा लिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा प्रदेशहरुको सिमांकनमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले राजनीतिक समिति गठन गरिसकेको छ र त्यसलाई शीघ्र पूर्णता दिई काम अगाडि बढाउन सरकार तत्पर रहेको जनाएको छ ।

सरकारले संघीयताको कार्यान्वयन र तथा प्रशासनिक पुनर्संरचनाको लागि राजनीतिक तहमा उच्चस्तरीय निर्देशक समिति र प्रशासनिक तहमा समन्वय समिति गठन गरेको जनाएको छ ।

स्थानीय तहको पुनर्संचनाका लागि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण गर्न गठित आयोग कार्यरत छ । साझा तथा संघ, प्रदेश र स्थानीय तहको अधिकारका विषयको व्यवस्थापनका लागि प्राकृतिक साधन, स्रोत तथा राजस्वको बाँडफाँड समितिको गठन तत्कालै गर्ने जनाइएको छ ।

पूर्ण पाठ पढ्नुस् होस् 

आर्थिक वर्ष २०७३-७४ को नेपाल सरकारको नीति तथा कार्यक्रम

Leave a Reply

Your email address will not be published.