मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकल तोडफोड तथा आगजनी

moterbike aagjani

बन्दको अवज्ञा गरी पेट्रोलियम पदार्थ ओसारेको आरोप लगाउँदै आन्दोलनकारीले आज बिहान वीरगन्जको पिपरामा एउटा मोटसाइकलमा आगजनी गरेका छन्। मोटरसाइकलमार्फत पेट्रोल ढुवानी गरेको भन्दै आन्दोलनकारीले वीरगन्ज उपमहानगरपालिका–१७ पिपरा चोकमा ना१३प १०२ नंको मोटरसाइकलमा आगजनी गरेका हुन्। आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी सागिर अन्सारी काम गर्न कारखानातर्फ जाने क्रममा आन्दोलनकारीले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिए।

यसैगरी आन्दोलनकारीले आजै वीरगन्जको सानो पिपरा भन्ने स्थानमा ना१२प १२८२ नंको मोटरसाइकलमा समेत तोडफोड गरेका छन्। आगजनी तथा तोडफोडमा संलगन व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै गए राति पिपरा चोकमै प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी वरिष्ठ हवल्दारसहित चार सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिए। घाइते सबै सुरक्षाकर्मीको वीरगन्जको हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ।

उनले मोटरसाइकल तोडफोड तथा आगजनी गर्न लागेका आन्दोलनकारीलाई रोक्न खोज्दा प्रहरीलाई लक्ष्यित गरी ढुङ्गामुढा प्रहार थालेपछि स्थितिलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर तथा १० राउन्ड अश्रुग्यास प्रहार गरिएको जानकारी दिए।

सो क्रममा प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी समेत घाइते भएका छन्। घाइते सबै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फिर्ता भएको अस्पताले जनाएको छ।

त्यस्तै रौतहटमा पनि मोर्चाका कार्यकर्ताले बा५च २२८८ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएर आगजनी गरेका छन्। रौतहटको भेडियाही गाविस नजिकको सहायक राजमार्गमा आइतबार गौरबाट चन्द्रनिगाहपुरतर्फ किराना सामान लिएर जाँदै गरेको भ्यान मोर्चाका कार्यकर्ताले २ घण्टा नियन्त्रणमा लिएका थिए।

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवालका अनुसार नियन्त्रणमा लिएको भ्यानमा आगजनी गरेका पुष्टी गरे। उनले आगजनी गर्नेको खोजी भैरहेको बताए।

त्यस्तै एमालेका गौर नगरकमिटी अध्यक्ष रामजी शाहको गाडीमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन्। किराना पसलका लागि खाद्य सामग्री खरिद गरेर ल्याउँदै गर्दा शनिबार राति उनको गाडी मोर्चाका कर्यकर्ताले नियन्त्रणमा लिएका थिए। उनीहरुले आज बिहान ११ बजे गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै बन्दको उल्लङ्घन गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन्। मोचार्का कार्यकर्ताले बिहान लहान नगरपालिका–३ रघुनाथपुर चोकमा बा ४१ प४६०० नंको मोटरसाइकलमा आगजनी गरेका हुन्। आगजनीमा मोटरसाइकलको इन्जिन तथा दुवै टायर जलेर नष्ट भएको छ।

त्यसअघि मोर्चाका कार्यकर्ताले लहानको अस्पताल चोकमा बिहान सबेरै अनटेस्ट लेखिएको मोटरसाइकल जलाएका थिए। मोटरसाइकलसमेत चल्न नदिएर मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले बिहान ९ बजेतिर करिब एक सय मोटरसाइकललाई सुरक्षा दिई गन्तव्यतर्फ पठाएको छ।

मोटरसाइकल नियन्त्रणमा लिएर जलाउन थालेपछि सर्वसाधारण त्रसित बनेका छन्। लहानको अस्पताल चोक, सहिद रमेश चोक र ट्राफिक चोकमा ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। लहान बजार र पूर्वपश्चिम सडकको भित्री भागमा लुकेर बसेका मोर्चाका सदस्य र प्रहरीबीच झडप हुन सक्ने सम्भावना बढेको छ।

प्रहरीले बजार बन्द गराउँदै हिँंडेको आरोपमा आन्दोलन सङ्घर्ष समितिका सल्लाहकार सत्यनारायण यादव र तमलोपा सिरहाका जिल्ला सदस्य रोशन यादवलाई नियन्त्रणमा लिएको छ । रासस

Leave a Reply

Your email address will not be published.