२ नम्बर प्रदेशलाई ‘मिथिला प्रदेश’ नामकरण गराउन कसरत

janaki mandir

नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई ‘मिथिला प्रदेश’ नामकरण गराउन र त्यहाँको सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ। मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिले जनकपुर बमकाण्डमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो।

२ नम्बर प्रदेशलाई ‘मिथिला प्रदेश’ नामकरण गराउनुपर्ने तथा त्यहाँको सरकारी कामकाजको भाषा ‘मैथिली’ हुनुपर्ने माग राखेर समिति बहसमा उत्रिएको संयोजक परमेश्वर कापरीले बताए। ‘२ हजार वर्ष पुरानो मैथिली संस्कृति र सभ्यता जोगाउन पनि मिथिला प्रदेश नामकरण गर्नुपर्ने हाम्रो माग हो, त्यहाँको सरकारी कामकाजको भाषा पनि मैथिली हुनुपर्छ,’ उनले भने।

विगतको संविधानले तराई–मधेस भूगोललाई २ नम्बर प्रदेश बनाई ‘मिथिला’ लाई ओझेलमा पारेको भन्दै आन्दोलनरत उक्त समितिले शनिबार काठमाडौंबाट पुनः बहस थालेको हो। समितिको नेतृत्वमा जनकपुरमा भएको आन्दोलनमा बम प्रहार हुँदा पाँच आन्दोलनकारीको ज्यान गएको थियो। घटनामा मैथिली कलाकार रञ्जु झा, दीपेन्द्र दास, झमरु मण्डल, विमल शरण र सुरेश उपाध्यायको मृत्यु भएको हो। उक्त घटनाका आरोपित राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सांसद सञ्जय साह जेलमा छन्।

समितिले ‘नेपालको संघीय प्रदेश नम्बर २ मा मिथिला र मैथिलीको पहिचान र पहुँच’ शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम राखेर आफ्ना एजेन्डा अघि सारेको हो। कार्यक्रममा अधिकांशले मिथिला प्रदेशको पक्षमा नैतिक समर्थन जनाएका थिए।

भाषाशास्त्री डा. योगेन्द्रप्रसाद यादवले नेपालका ११.६७ प्रतिशत जनताको मातृभाषा मैथिली रहेकाले मिथिला प्रदेश बनाउने आधार प्रशस्त रहेको तर्क गरे। ‘नेपालमा कुल जनसंख्याको ३३ लाखजति मैथिलीभाषी छन्, ती भनेका त्यसको कला, संस्कृति र सभ्यतालाई अनुसरण गर्नेहरू हुन्,’ यादवले भने, ‘सर्लाहीदेखि मोरङसम्म मैथिलीहरू बाक्लै बस्छन्।’ उनका अनुसार मैथिली भाषा बोल्नेहरू क्रमशः धनुषा, सिरहा, महोत्तरी, सप्तरी, मोरङ, सुनसरी र सर्लाहीसम्म फैलिएको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published.